शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस नेताले कसरी थाहा पाउँछन् मतगणनाको सूचना ?

शुक्रबार, २८ फागुन २०७२, १३ : १६
शुक्रबार, २८ फागुन २०७२

ललितपुर– कांग्रेस नेता तथा केन्द्रिय सदस्यका उम्मेद्वार प्रदिप पौडेल शुक्रवार मध्यान्ह बालुवाटारको एक कफी शपमा थिए । कफी गफ सकिँदा नसकिँदै उनको मोवाइलमा मेसेज आयो, ‘खुम बहादुर दाई र तपाईको बराबरी मत आयो । प्रकाशमान दाई पछि पर्नुभो, अहिलेसम्म चार सय पचास मतको गणना सकियो ।’ पौडेललाई मेसेज गर्ने देवेन्द्र पाठक उनका प्रतिनीधी हुन् जो, सानेपास्थित पार्टी कार्यालयमा खुल्लातर्फको मतगणना स्थलमा खटिएका छन् । तिनै पाठकले सानेपाको ताजा अपडेट पौडेललाई गरिरहन्छन् ।

पौडेल मात्र हैन, कांग्रेसका धेरै नेताहरु पार्टी कार्यालय जाँदैनन्, तर उनीहरुको ध्यान भने पार्टी कार्यालयतिरै हुन्छ ।

सानेपामा तीन दिनदेखि जारी केन्द्रीय कार्यसमितिको मतगणनाको नतिजा थाहा पाउन कांग्रेस नेताहरुले तिन–चारवटा सुत्र प्रयोग गर्ने गरेका छन् ।

‘मैले सुचना थाहा पाउने मेरो प्रतिनीधि मार्फत नै हो, तर मतगणनास्थलमा फोन गर्न नदिने रहेछ, मेरो प्रतिनिधिले अनुुकुलता हेरेर फोन अथवा मेसेज गर्नुहुन्छ ’ पौडेलले भने ।

खुल्लातर्फबाट चुनाव लडेका धनराज गुरुङ बेला–बेला पार्टी कार्यालय पुगिरहन्छन् । एकसरो सुचना लिएर बाहिरिएपछि गुरुङले सुचना लिने माध्यम पनि प्रतिनिधिनै हुन् ।

पटक–पटक मन्त्री र गृहमन्त्री भैसकेकाहरु समेत प्रतिस्पर्धामा उत्रिएकाले खुल्लातर्फको मतगणनालाई सवैले चासोपुर्वक हेरेका छन् । निर्वाचन समितिले एक सय मतगणना सकिएपछि माइकिङ गरेरै जानकारी दिने गरेको छ । त्यसो गर्दा पार्टी कार्यालय पुगेका आम कार्यकर्ताले कसको कति मत आयो भन्नेकुरा थाहा पाउँछन् । तर, नेताहरुले त्यसअघि नै थाहा पाईसकेका हुन्छन् ।

कांग्रेसको प्रभावशाली नेताको सुचिमा पर्ने मनमोहन भट्टराई मतगणना शुरु भएदेखि पार्टी कार्यालय पुगेका छैनन् । तर उनी सानेपाबारे घण्टा घण्टामा अपडेट भैरहन्छन् । भट्टराईका प्रतिनिधि लाल बहादुर जिसी बिहीबार मध्यान्ह हतार–हतार भट्टराईलाई फोन गरेर मतपरिणाम र उनको स्थानबारे अवगत गराउँदै थिए ।

खुल्लातर्फका अर्का उम्मेद्वार रामहरी खतिवडा पनि बेला–बेला पार्टी हेडक्वार्टर पुग्छन्, तर त्यहाँ अड्डा जमाएर बस्दैनन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘पार्टी कार्यालय गएकै छैन, त्यहाँ केटाहरु खटाएको छु, उनीहरुबाट थाहा हुन्छ ।’

मतगणना शुरु भएदेखि एकपटक मात्र पार्टी कार्यालय पुगेका छन्, प्रकाशमान सिंह । बिहीबार करिब आधाघण्टा पार्टी कार्यालय पुगेर फर्केका सिंह त्यहाँ नगए पनि आफ्ना प्रतिनिधि र सहयोगी मार्फत पल–पल आफ्नो नतिजाबारे जानकार रहन्छन् ।

आफ्ना प्रतिनिधी बाहेक निर्वाचन समितीका सचिव प्रदिप पराजुलीको ट्विट पनि नेताहरुले परिणाम थाहा पाउने अर्को माध्यम हो । पराजुलीले हरेक नयाँ अपडेट ट्विट गर्ने गरेका छन् । उनको ट्विट हेरेर सहयोगी र शुभचिन्तकले नेताहरुलाई जानकारी दिन्छन् । ट्विटर चलाउने नेताहरु भने आफैं अपडेट हुन्छन् ।

सानेपाको नतिजा नेताहरुसम्म पुग्ने अर्को माध्यम हो, संचार माध्यम । शुक्रबार साँझ मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर निर्वाचित भएको खबर नेताहरुले संचार माध्यममार्फत थाहा पाएँ । किनकी उनीहरुका प्रतिनिधि र कार्यकर्ताले मुस्लिमतर्फको नतिजालाई खासै फलो गरेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप