बाजुरेली युवा भन्छन्– आफ्नै गाउँ फर्की आएँ
केही वर्ष अघि मध्यपश्चिम र सुदुरपश्चिमबाट प्रतिदिन दुई हजार व्यक्ति भारत जान्थे । रहरले होइन, करले । त्यसैले बाजुराका घर–घरमा छोरा मान्छे भेट्न मुश्किल पर्थ्यो । घरका साना केटाकेटी दाजु, बाबु नदेखेरै हुर्किन्थे । कमजोर आर्थिक अवस्था थियो, गाउँमा रोजगारी थिएन । कमाउन जाने एउटै ठाउँ थियो, भारत । बाजुराका लालबहादुर नेपाली १५ बर्षका थिए, जतिखेर उनी भागेर दिल्ली पुगे । ०६० सालमा उनी परदेशिँदा पाँच कक्षामा पढ्दै थिए । कमाउने लोभमा विदेशिए भनेजस्तो भएन । झन्डै पाँच वर्ष भारत बसेर मजदुरी गर्दा पनि घर खर्चै धान्न धौ–धौ भयो । मासिक चार–पाँच हजार कमाउँथे, आफूले खाएर घर पठाउनै मुश्किल हुन्थ्यो । तैपनि विकल्प नभएकाले दिल्ली जाने सोच त्यागिहालेका थिएनन् । तर पोहोर साल छुट्टीमा नेपाल आएपछि उनलाई फर्किन मन लागेन । किनकि उनले गाउँमै रोजगारी पाए । जिल्लामा सरकारी भवन, खानेपानी, सडक, कुलोजस्ता विकास निर्माणका काम सुरु भएपछि उनले दिल्ली जाने सोच त्यागे । अहिले उनी महिनाको पन्ध्र–बीस हजार जिल्लामै बसेर कमाउँछन् । भन्छ्न्, ‘काम भए र यति कमाउन पाए किन जान्थें भारत ?’ अहिले बाजुरामा साँफे, मार्तडी, कोल्टीलगायतका ठाउँमा सडक विस्तार हुँदैछ । जिल्लामा विकास निर्माणका काम हुन थालेपछि रोजगारी खोज्दै भारत जानेको संख्यो पनि घटेको छ । गएकाहरू पनि फर्किदैछन् । परे लोहार त्यस्तै एक युवा हुन् । उनी मिस्त्री हुन्, फर्निचरको काममा पनि दख्खल राख्छन् । १० वर्षअघि भारत गएका उनी महिनाको दुई हजार कमाउँथे । पैसा बचाएर कसरी घर पठाउनु ? तर अहिले त उनी दिनकै दुई हजार कमाउँछन् । अहिले उनले सरकारी भवनको एक तला चार लाखमा ठेक्का लिएका छन् । भन्छन् ,‘निरन्तर काम भयो भने भारत जानुपर्दैन ।’ परे लोहारजस्ता भारतका विभिन्न सहरमा भौंतारिन पुगेका स्थानीयहरू अहिले सदरमुकाम मार्तडीमै पसिना बगाउँछन्, पैसा कमाउँछन् । भारतमा काम पाउन, पैसा कमाउन मात्र होइन, त्यसलाई बचाउन पनि गाह्रो छ । हेपिने र फस्ने सम्भावना पनि उत्तिकै हुन्छ । बाजुराकै मनोज बिक मुम्बई ६ वर्ष बसे । कमाइ राम्रो भएन । उनी गोवा गए । गोवामा काम गर्दा सँगै काम गर्ने भारतीयले सबै पैसा लुट्यो । त्यसपछि उनी मुम्बई फर्के । मुम्बइ हुँदा नेपालमा रहेका बुबाआमा बिते । त्यसपछि नेपाल फर्केका उनी अहिले सडक बनाउने काम गर्छन् र पैसा पनि कमाउँछन् । बाजुराबाट भारत काम गर्न जाने अधिकांश दलित समुदायका युवा हुन्छन् । दैनिक जीविकाकै लागि भारत धाउनेको लर्कै लाग्थ्यो । तर अहिले धेरै युवा नेपालमै छन् । विभिन्न संस्थाले चलाएका कार्यक्रमले पनि यसो हुनुमा सघाएको छ । सीप सिकेर आर्जन गर्नेको संख्या बढिरहेको छ । बाजुरा मानव विकास सूचकांकको सबैभन्दा पछि अर्थात ७४ औं स्थानमा छ । लघु उद्यम विकास कार्यक्रमको सर्वेक्षणअनुसार नेपालको सबैभन्दा बढी गरिबी भएको जिल्ला पनि बाजुरा नै हो । यहाँका आधाभन्दा बढी घरका मान्छेलाई बिहान–बेलुका छाक टार्नै मुश्किल छ । कमाउने मुख्य स्रोत भारतीय शहरमा काम खोज्न भौंतारिनु यहाँका मान्छेको बाध्यताजस्तै बनेको थियो । पछिल्लो समय गाउँमा सुरु भएका विकास निर्माणका कार्यक्रमले स्थानीयलाई रोजगारी दिँदैछ । भारत काम गर्न जानेहरू आफ्नै ठाउँमा रम्न थालेका छन् । एकातिर गाउँ विकास पनि हुने अर्कातिर आफ्नै सीप आफ्नै ठाउँमा लाउन पनि पाइने । त्यसो त युवाहरु गाउँमै बस्नु र बाहिरिएकाहरू पनि कामका लागि आफ्नै ठाउँमा फर्किनु आफैंमा विकास हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण