शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दाताको खर्चबाट विद्यालय भवन निर्माण

आइतबार, ३० फागुन २०७२, ०८ : १६
आइतबार, ३० फागुन २०७२

पोखरा– पोखराका एक दाताले रु एक करोड ५१ लाख निजी खर्च गरी कास्कीको लेखनाथ नगरपालिका मोहरियामा एक निम्न माध्यमिक विद्यालयको दुईतले १२ कोठे भवन बनाई बनाइदिएका छन् ।

पोखरा उपमहानगरपालिकाको वडा नं ८ निवासी दाता दम्पत्ति सनत श्रेष्ठ र श्रीमती दुर्गा श्रेष्ठले आफ्नो निजी खर्चमा भवन निर्माण सकी एक समारोहका बीच साँचो विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

विद्यालयको भवन जीर्ण भई टिनको छानोबाट कक्षाकोठामा पानी चुहुने र वर्षायामको समयमा विद्यालयको पठनपाठन नै बन्द गर्र्नुपर्ने दयनीय अवस्था देखेर श्रेष्ठ परिवारले विद्यालयको भवन बनाइ दिएको हो ।

आफूलगायत परिवार तनहुँको डुम्रे बजारमा बस्दै आएकामा २०३८ सालमा घरमाथिबाट पहिरोसँगै माथिबाट ढुङ्गा खसेर आफ्ना बुबाआमा, एक भाइ र दुई बहिनीको मृत्यु भएपछि विरक्तिएर पोखरा आएको र अनेक मेहनत र परिश्रम गरी आर्जन गरेको केही पैसा बचाएर पढ्न दुःख पाएका विद्यार्थीलाई केही सजिलो होस् भनेर विद्यालय भवन बनाइदिएको दाता सनतले बताए ।

ठूलो निजी खर्च सहयोग गरेर विद्यालय भवन निर्माण गरिदिएपछि शिक्षा मन्त्रालयले पनि नवज्योति निमाविलाई दाताहरुको नाम थपेर विद्यालयको नाम नवज्योति सनत दुर्गा निमावि नामाकरण गरिदिएको छ ।

शिक्षा सचिव विश्वप्रकाश पण्डितले नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै देशभित्रै रहेका यस्ता दाताहरुको सहयोगबाट जीर्ण अवस्थामा रहेको विद्यालय भवन निर्माणमा टेवा पुग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप