शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हात्तीपाइलेको जोखिम कायमै

आइतबार, ३० फागुन २०७२, ०८ : १८
आइतबार, ३० फागुन २०७२
बागलुङ - सात वर्षदेखि लगातार हात्तीपाइले रोग निवारण कार्यक्रम चले पनि रोगको परजीवी सर्ने क्रम रोकिएको छैन । जिल्ला स्वास्थ्य कार्यालयले बागलुङ अझै पनि हात्तीपाइले रोगको जोखिममा रहेको जनाएको छ । रोग निवारण कार्यक्रम सकिन लाग्दा परीक्षणमा ‘फाइलेरिया’ नामक परजीवी फेला परेको छ । स्वास्थ्य कार्यालयले आम औषधि सेवन कार्यक्रम छैठौँ वर्षमा पुग्दा गत वर्ष गरेको नमुना परीक्षणमा परजीवीको सङ्क्रमण भएका बिरामी पत्ता लागेका हुन् । वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठका अनुसार जिल्लाको अमलाचौर गाविसका ३०० व्यक्तिमा गरिएको रगत जाँचमा नौजनामा हात्तीपाइलेको परजीवी पाइएको छ । छ वर्षसम्म लगातार औषधि खुवाउँदा पनि रोग निवारणको अवस्थामा नआएपछि दुई वर्षलाई कार्यक्रम थप भएको छ । औषधिप्रति विश्वस्त हुन नसक्नु र जनचेतनाको समेत कमीले सबै मानिस औषधिको पहुँचमा आउन नसकेको स्वास्थ्य कार्यालयको बुझाइ छ । औषधि खान योग्य सबैले हात्तीपाइले विरुद्धको औषधि सेवन गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर सरोजकुमार झाले बताए । दुई वर्ष नपुगेका बालबच्चा, गर्भवती तथा हप्तादिनको सुत्केरी, सिकिस्त बिरामीबाहेक सबैले हात्तीपाइलेको औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । हात्तीपाइले रोग लाग्न नदिन स्वस्थ व्यक्तिलाई डिइसी र अल्बेन्डाजोल नामक औषधि खुवाउने गरिएको छ । फाइलेरिया परजीवीको सङ्क्रमणबाट लाग्ने यो रोग नेपालको जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने यो रोगबाट मानिसको शरीरमा हाइड्रोसिल, यौनाङ्ग सुन्निने, खुट्टा फुल्ने, हिँडडुल गर्न नसक्नेजस्ता समस्या उत्पन्न हुने गरेको छ । नेपाल सरकारले सन् २०२० भित्र हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप