राजकुमार ह्यारी स्वागतको पर्खाइमा पोखरा
पोखरा– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक सम्पन्न गरेको पर्यटकीय नगरी पोखरा यतिखेर बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’को स्वागतको पर्खाइमा लागेको छ ।
नेपालको इतिहासमा नै पहिलो पटक राजधानीबाहिर सम्पन्न सार्क बैठकले उत्साहित बनाएको पोखरालाई ह्यारीको आगमनको खबरले पुनः एक पटक चर्चाको शिखरमा पु¥याएको छ । ह्यारी नेपालको औपचारिक पाँचदिने भ्रमणमा यही चैत ६ गते नेपाल आइपुगेका छन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसरमा पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारीबाट पहिलो पटक नेपालको भ्रमण भएको हो ।
ह्यारीको नेपाल भ्रमणको कार्यक्रम अन्तर्गत पोखरा भ्रमणसमेत पर्नुलाई पोखरेलीले महत्वपूर्ण अवसरका रुपमा लिएको पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए । ह्यारीको भ्रमणलाई अत्यन्त प्रभावकारी बनाउन पोखरा यतिखेर क्रियाशील रहेको बताउँदै उनले सार्क बैठक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय चर्चा पाएको पोखरालाई ह्यारी भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
आफ्नो पोखरा बसाइको अत्यन्त व्यस्त कार्यक्रमबीच छोटो समयमा सामान्य रुपमा पोखरा नियालेका सार्क विदेशमन्त्रीसहितका अतिथिले पोखराको उच्च प्रशंसा गरेका कारण अत्यन्त हर्षित बनेका यहाँका स्थानीयवासीले यसलगत्तै ह्यारीको पोखरा भ्रमण हुनु पोखरेलीका लागि ठूलो गौरवको विषय भएको टिप्पणी गरेका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापा पोखराका सम्पूर्ण उद्योगी–व्यवसायीले सार्कको भव्य सफलता सँगै हुन लागेको ह्यारीको भ्रमणलाई यस क्षेत्रको अन्तर्राष्ट्रियकरणका लागि ठूलो अवसर भएको बताउँछन्। “ह्यारीको पोखरा भ्रमणलाई अत्यन्त प्रभावकारी बनाउनका लागि प्रशासन लगायत यहाँका सबै सरोकारवालाबीच छलफल भइरहेको छ,” उनले भने, “प्रभावकारी सुरक्षा व्यवस्थाका साथै उच्चस्तरीय सेवा प्रवाह, स्वागत तथा सम्मानमा कुनै कमी आउन दिनुहुँदैन ।”
सार्क मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘भगवान्ले फुर्सदमा बनाएको सहर’ पोखराजस्तो स्थानमा नकारात्मक कुरा उठ्नै नसक्ने र महत्वपूर्ण निर्णय लिन पनि उपयुक्त सहर भएको टिप्पणी गरेकी थिइन् । पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजिजले पनि पोखराको सुन्दरता आफ्नो मानसपटलमा चिरस्थायी बन्ने प्रतिक्रिया व्यक्त गरेका थिए ।
सार्क मन्त्रिपरिषद्को बैठकमा सहभागी सदस्य राष्ट्रका मन्त्री एवम् स्थायी समिति र कार्यक्रम समितिमा सहभागी हुन आएका सबै विशिष्ट अतिथिले पोखराको सौन्दर्यलाई उच्च प्रशंसा गरेको बताउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा भूकम्प र नाकाबन्दीले प्रभावित यहाँको पर्यटन व्यवसायलाई थप उचाइमा पु¥याउन ह्यारीको भ्रमण अर्को महत्वपूर्ण अवसर भएको बताउँछन् ।
हिमाल, ताल, पहाड र संस्कृतिको मिश्रण रहेको सहरका रूपमा आफूहरुले पोखरालाई लिएको प्रतिक्रिया व्यक्त गरेका सार्क राष्ट्रका पाहुनामध्ये केहीले त कल्पना गरेको भन्दा पनि फरक सहरका रूपमा यसलाई आफ्नो सम्झनामा राखेको कुराले पोखरेलीको मनमा उत्साह थपेकामा ह्यारी भ्रमणको खबरले थप उत्साहित बनाएको छ ।
परिषद्का अध्यक्ष थापाले भने, “सार्क बैठकको सफलतासँगै अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण बैठक हुन सक्ने सन्देश दिएको पोखरामा ह्यारीको भ्रमणको सफलतासँगै अन्तर्राष्ट्रियस्तरका अति विशिष्ट व्यक्तिको भ्रमणको केन्द्र पनि यो बन्न सक्छ भन्ने अर्को सन्देश प्रवाह हुनेछ ।” रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण