शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खुसीको कुनै सीमा नै छैन : ह्यारी

आइतबार, ०७ चैत २०७२, १६ : १७
आइतबार, ०७ चैत २०७२

ललितपुर– कहिले ल्यापटप त कहिले बन्दुक अनि कहिले हेलिकप्टर उडाउनमा समय दिँदै आएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड आज काष्ठकलामा प्रयोग हुने नेपाली परम्परागत औजारमा रमाए ।

काष्ठकला निर्माणमा मुख्य रुपमा प्रयोग हुने औजार समाउँदै ३२ वर्षीय परोपकारी ह्यारीले भने, “तस्बिरमा तपाईंहरुको सुन्दर हातले तयार गरेका उत्कृष्ट कला हेरेर म औधि रमाउँथे, यसको प्रशंसा गर्थेँ, आज तपाईंहरुसित प्रत्यक्ष भेट गर्दा खुसीको कुनै सीमा नै छैन ।”

गत वैशाख महिनामा नेपालमा गएको भूकम्पले क्षति पु¥याएको विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन स्मारक क्षेत्रको आज अवलोकनका क्रममा ह्यारीले पुनःनिर्माणमा जुटेका कालीगढसित त्यसबारे जानकारी लिनुभयो । राजकुमार ह्यारीले क्रममा सो क्षेत्रमा झन्डै पौने दुई घन्टा बिताए ।

अहिले पुरातत्व विभागले स्मारक क्षेत्र अन्तर्गतका मुख्य स्थल मूलचोक, सुन्दरीचोक र भण्डारखाल बगैँचामा पुनःनिर्माण अगाडि बढाइरहेको छ । भूकम्पले सो क्षेत्रका राधाकृष्ण मन्दिर, हरिशङ्कर मन्दिर, चारनारायण मन्दिर र सोह्रखुट्टे पाटीलाई पूर्णरुपमा क्षति पु¥याएको थियो भने विश्वनाथ, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिरलगायतमा क्षति पु¥याएको थियो ।

काठमाडौं भ्याली प्रिजभेसन ट्रस्ट मार्फत विभागले पुनःनिर्माणका काम बढाएको छ । राजकुमार ह्यारीले भत्किएका संरचनाका ऐतिहासिक पक्षको अभिरुचिपूर्वक जानकारी लिएका थिए । भत्किएका संरचनालाई देखेर राजकुमार भावुक र चिन्तित देखिन्थे । अब यी संरचना कसरी तयार गर्दै हुनुहुन्छ भनेर राजकुमार ह्यारीले कालीगढसित प्रश्न समेत गरेका थिए ।

भण्डारखाल बगैँचाका वरिपरि काम गरिरहेका कालीगढसित भलाकुसारी गर्ने क्रममा ह्यारीले सो जिज्ञासा राखेका थिए । सो अवसरमा कालीगढले चलाइरहेका औजारलाई राजकुमार ह्यारीले मागेर त्यसको चलाउने तरिकाबारे उत्सुकता देखाएका थिए । कालीगढले राजकुमार ह्यारीलाई आफ्ना सीप र पौरखलाई पुनःनिर्माणमा उपयोग गर्ने जानकारी दिएका थिए ।

उनले भूकम्पले क्षति पु¥याएका क्रमशः मूलचोक, सुन्दरीचोक र भण्डारखाल बगैँचा क्षेत्रको अवलोकन गरेका थिए । सो परिसरमा १९ स्मारक छन् । यसै स्मारक क्षेत्रलाई समेटी युनेस्कोले सन् १९७९ मा विश्वसम्पदा सूचीमा राखेको थियो । कलाकौशलका लागि सो क्षेत्र विश्वप्रसिद्ध छ ।

राजकुमार ह्यारीका पिता चाल्र्सले पनि विसं २०३९ मा नेपाल भ्रमण गर्दा सो स्मारक क्षेत्रको भ्रमण गरेका थिए । राजकुमार ह्यारीले सो क्षेत्रमा उपस्थित स्थानीय बासिन्दालाई अभिवादन समेत गरेका थिए । ‘हाई ह्यारी’ भन्दै हात मिलाउन अगाडि बढेका स्थानीय युवासित हात मिलाउन समेत राजकुमारले भ्याए । स्थानीय बूढापाकाले भने ह्यारीलाई नेपाली टोपी उपहार दिएका थिए ।

खुलेर कुराकानी गर्न रुचाउने ह्यारीले सो क्षेत्रमा आएका विदेशी पर्यटकसित भलाकुसारी समेत गरेका थिए । आफ्नो देश बेलायतमा भेट गर्न नपाएका ह्यारीसित नेपालमा हात मिलाउन पाएकामा डेभिडका परिवार औधि खुसी देखिन्थे । उनीहरु आज नै सो क्षेत्रमा घुम्न निस्केका थिए । पर्यटकले ‘प्रिन्स ह्यारी, आइएम फ्रम युके’ भनेपछि राजकुमार ह्यारीले करिब दुई मिनेट उनीहरुसित कुराकानी गरेका थिए ।

अपराह्न १२ः३० बजे सो क्षेत्रमा ह्यारी पुग्नु हुँदा नेवारी वेशभूषामा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए ।

राजकुमार ह्यारीले आजै ललितपुरको हिरण्यवर्ण महाविहार (क्वावहा) गई त्यसका बारेमा जानकारी लिए नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक मन्दिरमध्ये सो मन्दिर पनि एक हो । पटक पटक जीर्णोद्धार हुँदै आएको सो मन्दिरलाई पनि गत वैशाख महिनामा गएको भूकम्पले क्षति पु¥याएको थियो ।

राजकुमार ह्यारीका साथमा नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिस पनि सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप