सडकबाट : होली खेल्ने बहाना कोपराभरिको दिशापिसाब खन्याइदिए
पशुपति दंगाल, बीमा संस्थान कर्मचारी, काठमाडौं मैले होलीलाई रमाइलो गर्ने माध्यमका रूपमा मात्र बुझेको छैन । यो चाड इतिहाससँग जोडिएको छ । होली परापूर्वकालदेखिको संस्कृति र परम्परा पनि हो । बुझेर होस् या नबुझेर मैले पनि सानैदेखि होली खेल्दै आएको छु । साथीहरू संगठित भई विभिन्न रङ दलेर गल्ली–गल्ली घुम्न साह्रै रमाइलो लाग्छ । पछिल्लो समयमा होली मनाउने नाममा विकृती फैलिएको छ । होली भनेको त आफ्ना मिल्ने साथीबीच खेल्ने चाड पो हो । तर, अरूको विनास्वीकृति कसैलाई होली खेल्न जबर्जस्ती गरेको देखिन्छ । मानिस के कामले हिँडेको हुन्छ, बुझ्दै नबुझी पानी छ्पाप्ने त्यो पनि फोहोर पानी । यस्तो तरिकाले मनाएको होलीले आपसमा सद्भावभन्दा घृणा पैदा गरी समाजमा अशान्ति फैलिन्छ । साँच्चै भन्नुपर्दा हिजोआज त मलाई होली खेल्नै डर लाग्छ । केही वर्ष अगाडिको कुरा हो । म आफ्ना साथीहरूसँग होली खेल्दै हिँडिरहेको थिएँ । बाटोमा एउटा घरको झ्यालबाट मलाई कोपराभरिको दिसापिसाब खन्याइदिए । त्यो घटना सम्झँदा साह्रै रिस उठ्छ । आफूले मज्जा लुट्ने नाममा मानिसलाई दिसापिसाब छ्याप्ने कस्ता होलान् मानिस । त्यस्तै, केही वर्षअघिको होलीमा एउटी केटीलाई बेलुनमा गुच्चा हालेर लोला हान्दा उनको आँखा फुटेको मैले प्रत्यक्ष देखेको छु । होलीसँग जोडिएका यस्ता घटना सम्झँदा मलाई हिजोआज होली खेल्न मन लाग्दैन । अम्बिका भण्डारी, सहकारी कर्मचारी, अनामनगर मलाई होली निकै रमाइलो लाग्छ । मलाई सम्झना भएसम्म आजसम्म मैले कुनै पनि होली खेल्न छुटाएको छैन । होली भनेको पानी र रङमात्रै छ्याप्ने चाड त होइन । होलिकासँग जोडिएको यो चाडको गहिरो अर्थ छ । यस्ता चाड हामीले आउँदा पुस्तालाई सिकाउन खेल्नैपर्छ । हिजोआज त होलीको अर्थ नबुझी जथाभावी होली खेल्ने गरिन्छ । अरूका इच्छाविपरीत होली आउनु १५ दिनअगावै पानी छ्याप्ने व्यवहारले रमाइलोभन्दा समस्या निम्त्याउँछ । बुझेकै मानिसले पनि यस्तो गरेको देख्दा झाेंक चल्छ । यसै सन्दर्भमा मलाई होलीको घटना सम्झना आउँछ । होली आउन साता दिन बाँकी नै थियो । म गाडी चढेर कार्यालय जाँदै थिएँ । कसैले घरको झ्यालबाट एकदमै फोहोर पानी भरेको लोला हान्यो । मेरो कपडामात्र भिजेन शरीर डुङडुङ गन्हाउँदा बसमा यात्रा गर्ने सबैले नाक थुने । मेरो केही गल्ती थिएन तर पनि मलाई हीनताबोध भयो । यसरी मानिसलाई दुःख दिने हिसाबले होली खेल्नुले संस्कृति जगेर्ना होइन, विकृतिमात्रै फैलाउँछ । नयाँ पुस्ताले पनि होलीलाई यही ढंगले आत्मसात् नगर्लान् भन्न सकिन्न । त्यसैले कृपया सभ्यतापूर्वक होली खेलिदिन मेरो सबैलाई आग्रह छ । विजय तिवारी, गायक, मोरङ सालिन्दा होली खेल्छु । मिल्ने साथीसँग समूह बनाएर होली खेल्दै आएको छु । म काठमाडौंमा बस्छु । यहीँ काम गर्छु । तर, यहाँ कहिल्यै होली खेल्दिनँ । यहाँको होली खेल्ने तरिका असभ्य लाग्छ । कसैको चाहना होस् या नहोस् आफ्नो काममा हिँडेका मानिसलाई अबिर दल्ने, पानी छ्याप्ने गरेको मैले देखेको छु । होलीको समयमा काठमाडौंमै बस्दा अति आवश्यक काम परेर बाहिर निस्कँदा अबिरपानी छ्याप्लान् भन्ने डरले निस्कन नपाएको तीतो अनुभव छ । मानिसको स्वतन्त्रता नै हनन हुनेगरी खेलेको होलीले समाजमा अशान्ति फैलिरहेको छ । कति ठाउँमा यस्तै कारणले काटमार भएको छ । त्यस्तै महिलालाई ताकीताकी संवेदनशील अंगमा लोला हानेर भुतुक्कै बनाएको पनि देखिन्छ । रमाइलो गर्ने नाममा अरूलाई समस्यामा पारेर होली खेल्ने प्रवृत्ति राम्रो मानिदैन । एकपटक हामी साथीहरू एउटै समूह बनाएर होली खेल्दै थियौं । त्यसैबेला साथीहरूले एउटी महिलालाई जबर्रजस्ती अबिर दलिदिए । ती महिलाले हामीलाई कानमा लगाएको सुन खोसेको आरोपमा ३५ हजार तिराइन् । रमाइलो गर्ने भनेर होशै गुमाएर होली खेल्नाले क्षणिक आनन्द त देला तर कतिपय हकमा ठूलै समस्यामा पनि पारिदिन्छ । त्यसैले होशियारपूर्वक होली खेलेर आफू र अरूलाई समस्याबाट जोगाऔँ । प्रस्तुति : फातिमा बानु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण