शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मुहान सुक्न थालेपछि खानेपानीको हाहाकार

मङ्गलबार, ०९ चैत २०७२, १७ : ०६
मङ्गलबार, ०९ चैत २०७२

बर्दिवास– महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको मुख्य स्रोत इनार र चाँपाकल धमाधम सुक्न थालेपछि जिल्लाको उत्तरवत्र्ती क्षेत्रमा खानेपानीको हाहाकार भएको हो ।

विगत वर्षमा वैशाख र जेठ महिनामा इनार, कल सुक्ने गरे पनि यसपालि भने चैत मध्य नहुँदै सुकेकाले खानेपानीको हाहाकार मच्चिएको उत्तरवत्र्ती क्षेत्रका बासिन्दाको भनाइ छ ।

जिल्लाको बर्दिवास नगरपालिकाका किसाननगर, कृष्णपुर, मनहरिपुर, प्रेमनगर र फुलबारी टोललगायतका बस्ती तथा भङ्गाहा, पशुपतिनगर, बिजलपुरा, बेलगाछी, भरतपुर र लक्ष्मीनियाँसहितका गाविसका इनार सुकेपछि खानेपानीको हाहाकार परेको हो ।

यसपालि चैत मध्य नहुँदै खानेपानीका मुहान सुकेकाले वर्षायाम नआउञ्जेल खानेपानीको हाहाकार रहने छाँट देखिएको पशुपतिनगर गाविसका निवर्तमान अध्यक्ष रामधनी महतोले बताए ।

खानेपानीका लागि चाँपाकल मुख्य स्रोत रहेको जिल्लाको भङ्गाहा गाविसमा चाँपाकल सुक्दै गएपछि समस्या बढेको छ । चैत लागेदेखि नै कल सुक्न थालेपछि खानेपानी लिन गाउँबस्तीबाट दुई किमी दूरीको बडहरी र रातुखोला छेउका जरुवा धाउनुपरेको भङ्गाहा–४ की मधुमती सहनीले बताए ।

चैतको दोस्रो साता नबित्दै गाविसका ६० प्रतिशत चाँपाकल सुकिसकेका सो गाविस कार्यालयले जनाएको छ । खानेपानी अभाव बढेपछि यसपालि अन्य शीर्षकका योजनाको रकम पनि राजनीतिक दलको सहमतिमा नयाँ इनार निर्माणमा लगाउन थालिएको गाविस सचिव प्रमोदकुमार यादवले बताए ।

यसपालि वर्षायाममा राम्रो पानी नपरेको र हिउँदे वर्षा पनि नभएकाले पानीका स्रोत चाँडै सुक्न थालेका बूढापाकाको भनाइ छ । वन जङ्गल मासिँदै गएर खण्डवृष्टि, अल्पवृष्टि र कुसमयको अतिवृष्टि हुने क्रम बढेकाले पानीका मुहान सुक्ने र बाढीले पुरिने गर्दा समस्या बढेको पशुपतिनगर–४ का बासिन्दा एवम् गाविसका पूर्वअध्यक्ष ७८ वर्षीय नथुनी महतोले बताए ।

जिल्लाको सुदूर उत्तरवर्ती क्षेत्रको हात्तीलेट र खयरमारा गाविस एवम् माईस्थान, गौरीवास र बर्दिवाससहितका बर्दिवास नगरपालिका क्षेत्रमा पनि खानेपानीको समस्या बढेको छ ।

रातु नदीको मुहानबाट ल्याइएको पानी भण्डारण गरेर धारामार्फत वितरण प्रणाली अपनाइएका यी गाविस बस्तीमा नदीको पानी सुक्दै गएपछि चैत दोस्रो साता सुरु भएदेखि नै समस्या सुरु भएको बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चुडामणि पोखरेलले बताए ।

यसैबीच जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानीका मुहानको संरक्षण र सरसफाइमा ध्यान दिन उपभोक्तासँग अपिल गरेको छ ।

मुहानको संरक्षण र निरन्तरको सफाइले मुहानमा पानी सुक्नबाट बचाउन सकिने भएकाले यसका लागि सचेतना अभियान नै सुरु गरिएको कार्यालयका प्रमुख डिभिजन इञ्जिनियर देवेन्द्र झाले बताए ।

कार्यालयले यसपालि खानेपानीको समस्या देखिएका नगर गाउँबस्तीको समस्याको स्थायी समाधानका लागि पानी भण्डारण गर्ने ठूला ट्याङ्की निर्माण कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप