शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

साँस्कृतिक कार्यक्रमको नाममा मानव तस्करी, नेपालबाट यसरी दुबई पुगे ६ युवती

मङ्गलबार, ०९ चैत २०७२, २१ : १६
मङ्गलबार, ०९ चैत २०७२

युएई-संयुक्त अरब ईमिरेट्स (युएई) मा हुने गरेका बिभिन्न साँस्कृतिक कार्यक्रमको बहानामा मानब ओसार प्रसार हुने गरेको तथ्य खुलेको छ । गत फ्रेब्रुवरी महिनामा सम्पन्न ‘भ्यालेन्टाइन नाइट्स’ कार्यक्रममा ६ जना नेपाली युवतीले आयोजकलाई मोटो रकम दिएर युएई आएको खुल्न आएको छ । यसरी दुबई आईपुग्ने युवतीहरुमा रिता भट्टराइ शर्मा, धिरेन्द्र मिमिरे, सानुमाया तामाङ्, लिलामाया आले, बिध्या भण्डारी र प्रमिला तिवारी शाही रहेका छन् । उनीहरुको नेपालको ठेगाना खुल्न नसकेपनि अधिकांश ग्रामिण क्षेत्रका भएको बताइएको छ ।

कार्यक्रमको आयोजना एमाले निकट प्रबासी मंच सम्बद्द ‘क्रिएटिभ युथ’ नामक संस्थाले गरेको थियो भने प्रबासी युवा मंचले कार्यक्रमको प्रायोजन गरेको थियो ।

आयोजकले सम्पन्न सो भ्यालेन्टाइन नाइट्स कार्यक्रमको लागि भिजिट भिसामा ६ जना युवतीहरु ल्याएको खुले पछी मानव तस्करीको नयाँ अध्याय सार्वजनिक भएको हो । उक्त कार्यक्रममा चर्चित नायिका प्रियंका कार्की, गायक प्रमोद खरेल र हास्य ब्यङय कलाकार जितु नेपाल मुन्द्रेले प्रस्तुती दिएका थिए । तर, ति युवतीहरुलाई पनि कलाकारको नाममा युएई भित्र्याइएको हो ।

दुबई आएका मध्ये ५ जनाले प्रती ब्यक्ती ३ लाख र १ जनाले १ लाख ५० हजार रुपैया आयोजकलाई बुझाएको श्रोतको भनाई छ । सबै भन्दा कम तिर्ने युवतीको श्रीमान युएईमै रहेको हुँदा भिसा र टिकट आफैले ब्यवस्था गरेकोले अन्य भन्दा उनले कम पैसा तिरेको स्रोतको भनाई छ । त्यसरी गएकाहरु हाल युएईमा रोजगारीको खोजिमा भौतारिदै त्यहाँ रहेका नेपालीहरुसँग सहयोगका लागि पुगेपछि यो खेलका बारेमा जानकारी बाहिर आएको हो ।

आयोजकको तर्फ बाट महेश गिरी र समिम खानले दुबईमा कलाकार ल्याउनको लागि अबुधाबी दुताबास बाट अनुमती प्राप्त गरेका थिए । अनुमती प्राप्त गर्नको लागि आयोजकले युवतीहरुको फोटो भएको फेक पोस्टर प्रयोग गरेका थिए । गिरी प्रबासी मंच युएईका उपाध्यक्ष समेत रहेका छन् ।

दुबईलाई ट्रान्जिट बनाएर विश्वका बिभिन्न देशहरुमा मानव तस्करी हुने गरेकोले नेपाल सरकारले युएई सहितका खाडी राष्ट्रमा भिजिट भिसामा कडाइ गरेको थियो । सो पश्चात मानब तस्करहरुले दुबई ल्याउन नयाँ तरिका अपनाएको जानकारहरु बताउँछन् । केहि समय अगाडी सुरु भएको यो तरिका अहिले अझ मौलाएको छ ।

यसरी कलाकारको नाममा मोटो रकम असुलेर नेपालबाट भिजिट भिसामा ल्याउने गरेको भने यो पहिलो पटक नभएको जानकारहरु बताउँछन् । दुबईको पाँच तारे होटलमा ५० दिरहमको टिकट काटेर दुई देखि तीन सय दर्शकको उपस्थितीमा गरिने कार्यक्रममा नाफा नभए पछी आयोजकहरुले नाफा कमाउने उपाय स्वरुप यस्तो कार्य रोजेको स्रोतको भनाई छ ।

यसैबीच यस विषयमा रातोपाटीले  युएईस्थित नेपाली दूताबाससँग बुझ्दा दूताबासका  दूताबासका एक अधिकारीले यो प्रकरणमा राजनीतिसमेत जोडिएको हुनाले अहिल्यै केहि नबोल्ने बताए ।   यस विषयमा आवश्यक अनुसन्धान भइरहेको ति अधिकारीले बताए ।

युवती तस्करी प्रकरणमा मन्चले भन्यो–क्रिएटिभ युथसँग हाम्रो सम्बन्ध छैन 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप