शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लोप हुने संघारमा पञ्चेबाजा, संरक्षण गर्न माग

बुधबार, १० चैत २०७२, १० : २५
बुधबार, १० चैत २०७२

पाल्पा - नेपाली जो कोहीको पनि मन छुने पञ्चेबाजा अहिले लोप हुन थालेको छ । बाजा बजाउने परियार समुदायका युवा सामाजिक रुपमा उपेक्षित भएपछि बाजा बजाउने पेसाप्रति युवाको आकर्षण घट्दै गएको हो ।

पहिला विवाह, व्रतबन्ध लगायतका शुभकार्यमा पञ्चेबाजा बजाउने चलन थियो, दमाईं दाइले बजाएको सो बाजाले धेरैलाई चकित पार्ने र नचाउने गरेको अनुभव बूढापाकाको रहेको छ ।

पाल्पा दोभान गाविसका गणेश परियारका अनुसार पहिलाजस्तो अहिले बाजा बजाउने युवा पाइँदैनन्, युवाको आकर्षण यस पेसाप्रति घट्दो छ, यो पेसा अँगाल्ने युवा विदेश पलायन हुनुले पनि यस पेसा परियार समुदायबाट लोप हुन पुगेको हो । परियारको अनुभवमा पहिला विवाह बास बस्ने गरी हुने र बाजासमेत बजाउने काम हुने थियो । अहिले एकै दिन विवाह हुने चलन आएको छ । पहिलाजस्तो गरी रमाइलो गर्ने र बाजा बजाउने चलन अन्त्य हुन पुगेको छ ।

यस पेसाको लोप हुन थालेसँगै परम्परागत बाजा पनि लोप हुने अवस्थामा पुगेको बूढापाका बताउँछन् । नौमती बाजाअन्तर्गत अहिले नर्सिया भन्ने बाजा देखिन छाडेको मात्र होइन यस बाजा बजाउने मानिससमेत नभेटिने परियार बताउँछन् । यस बाजा बजाउन बढी मात्रामा मिहेनत गर्नुपर्ने हुन्छ । पाल्पा भुवनपोखरी गाविसका रामबहादुर नेपालीका अनुसार नौमती बाजा नेपालको लोकबाजा भए पनि यसको उचित किसिमबाट संरक्षण हुन सकेको छैन । दमाह, झाली, ट्यांको, ढलकी, कर्नाल सनाई लगायतका बाजा पञ्चेबाजाअन्तर्गतका बाजा हुन् । यस बाजाको राज्यबाट संरक्षणका लागि चासो देखाउन सके नेपाली कला, संस्कृति संरक्षण हुने र नेपालीपन रहिरहने थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप