शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सडकबाट नर्सको गुनासो : जागिर दिन्नन् तर अनुभव खोज्छन्

बुधबार, १० चैत २०७२, १६ : ०८
बुधबार, १० चैत २०७२

रेश्मिना थापा, मध्यपुर हस्पिटल, थिमी सबैका आ–आफ्नै सपना हुन्छन् भनेझैं मेरो पनि सानैदेखि नर्स बनेर बिरामीको सेवा गर्ने सपना थियो । लाखौँ खर्च गरेर नर्सिङ पढियो । पढाइ नसकिउन्जेल कहिले पढाइ सकिएला भन्ने तनाव हुन्छ जुन दिन पढाइ सकिन्छ कसरी काम खोज्ने भन्ने पिरलो । पढाइ र मेहनतअनुसार काम पाउन मुस्किल छ । फेरि सिधै काम पाइन्छ र पहिले महिनौँ बिना पारिश्रमिक भोल्युन्टर भएर काम गर्नुपर्छ ।

काम पाउन त मुस्किल छ नै यहाँ भोल्युन्टरको काम पाउन पनि कति हस्पिटल भौतारिँदै धाउनुपर्छ । नाम चलेका हस्पिटलमा भोल्युन्टरको काम पाउन त सोर्स पो चाहिन्छ भन्छन् । काम पाइहाले पनि भन्न समेत लाज लाग्ने पारिश्रमिक दिन्छन् । त्यतिमा पनि बिरामीलाई सन्तुष्ट पार्ने जिम्मेवारी नर्सकै हुन्छ । साना–साना कुरामा पनि नर्ससँग निहुँ खोज्छन् बिरामीहरु ।

कोहि त विदेशमा नर्सहरु यस्ता राम्रा हुन्छन् र उस्ता राम्रा हुन्छन् भनेर आडम्बरी धाक लगाउँदै हामी नेपाली नर्सलाई होच्याउने व्यवहार गर्छन् । विदेशी नर्स हामीभन्दा राम्रो सेवा दिने होलान् तर त्यहाँको हस्पिटल पनि त त्यत्तीकै व्यवस्थित हुन्छन् नि सबै विरामीलाई पुग्ने नर्सहरु राखेका हुन्छन् तर हाम्रो देशमा पर्यो भो पुरै वार्ड एउटै नर्सलाई जिम्मा दिन्छन् अनि नर्सले आफुलाई मात्र हेरिदियोस् भनेर अपेक्षा गरेर हामीलाई तथानाम गाली गर्न सुहाउँछ त विरामीहरुलाई ?

बाथरुम फोहोर भएको र वार्डको ढोका विग्रिएको दोष समेल नर्सलाई दिन्छन् । जहाँ काम माग्न जाँदा पनि अनुभव माग्छन् होइन काम चाँही कोहि दिदैनन् हामीले कहाँबाट अनुभव दिने होला । नर्स बन्ने मेरो सपना त पुरा भएको छ तर सोचे जस्तो काम गर्ने प्लाटफर्म नपाउँदा नहुँदा कहिलेकाँही हतोत्साहित भएर बेकार नर्सिङ पेशा छानिएछ जस्तो अनुभुति हुन्छ ।

निशा सापकोटा, नर्भिक हस्पिटल, थापाथली नर्सिङ मेरो पैसा कमाउने पेशा मात्र होइन समाजसेवा गर्ने सपना पनि हो ।  २ वर्षदेखि नर्सिङ पेशामा काम गरिरहेकी छु । यसलाइ काम मात्र होइन लक्ष्यसम्म पुग्ने भर्याङको रुपमा लिएकी छु । हरेक पेशाका आ–आफ्नै चुनौती र सघंर्षहरु हुन्छन् । हाम्रो नर्सिङ पेशामा पनि यस्ता थुप्रै अफ्ट्याराहरु भोग्दै काम गर्नुपर्नेहुन्छ ।

पहिले आफ्नो लक्ष्य हो जसरी पनि पुरा गर्नेपर्छ भन्ने जिद्दीले  दिनरात नभनी ढोकै थुनेर कोर्सबुक घोकेर नर्सिङमा नाम निकाले । कति हस्पिटलहरुमा महिनौँ  भोल्युन्टर भएर काम गरियो । बल्ल बल्ल  काम पाइन्छ ।

नेता चिनेका र  पहुचवालाहरुले सहज  काम पाएका छन् तर आफ्नो क्षमता र मेहनतकै भरमा राम्रा र ठुला हस्पिटलमा काम पाउन सहज हुन्न  । हुन त नर्सिङ पेशामा मात्र कि हाम्रो देशको हकमा जुनै पनि फिल्डमा यस्ता चुनौतीहरु आइपर्छन  ।

 कति विरामीहरु अनाबश्यक  निहुँ पनि  खोज्छन् , जति राम्रो सेवा गरेपनि जस दिदैनन् । कति दिन हामी रातरात जागाराम भएर काम गर्छौ  । दुख भएपनि आफ्नो पेशाप्रति  गर्व  भने लाग्छ ।

भावना राउत, सर्वाङ्ग हस्पिटल, कुपण्डोल विगत ३ वर्षदेखि नर्सिङ पेशामा कार्यरत छु । कतिका नर्स बन्ने सपनाभित्र अनेकौ कारण लुकेका हुनछन् । कोहि भन्छन् नर्स बनेर सामाजिक सेवा गर्छु कोहि भन्छन् आफ्नै घरका सदस्यबाट प्रेरित भएर नर्सिङ पेशा छानेको । सुरुमा मलाई लाग्थ्यो नर्सिङ पेशाबाट धेरै पैसा कमाउन सकिन्छ । आर्थिक हिसाबले बलियो हुनकै लागि मैले नर्सिङ पेशा अंगालेकी हुँ ।

पढ्ने बेलामा जतिसुकै खर्च होस् भनेर रिण गरेर भएपनि पढियो अहिले वर्षौ काम गर्दा पनि लगानी समेत नउठेको देख्दा निराश हुन्छु । सर्वाङग सहित मैले ४ वटा हस्पिटलमा काम गरिसके नेपालको हस्पिटलमा काम गरेर सोचे जस्तो पारिश्रमिक दिदैनन् । दिउँसो राती नभनी काम गर्नुपर्छ तर पनि विरामीहरुले जस दिदैनन् ।

हो विरामीहरु टन्न पैसा तिरेर हस्पिटलमा भर्ना भएका हुन्छन् उनीहरुले सेवा पाउनु उनीहरुको अधिकार हो तर हस्पिटलले कम नर्समा वढि विरामी हेर्न लगाएपछि हामी पािन एक–एक विरामीलाइ राम्ररी सेवा दिन पाउँदैनौ अनि नर्सहरुले हेलचक्राइ गर्छन भनेर बाहिर आरोपका हल्ला फिजाउँछन् ।

हामी मेसिन त होइनौँ भनेकै समयमा भनेकै काम फ्याट्टै गरिदिन । कुनै विरामीले हामीलाई नोकरको झै व्यवहार गर्छन् पैसा तिरेको छ भन्दैमा धम्काएर थर्काएर काम लगाउन खोज्ने विरामीहरु प्नि आउँछन् । कोहि भने नर्सिङ पेशा बुझेका हुन्छन् त्यस्ता विरामीहरु धेरै दिन हस्पिटल बसेर जाँदा हामीलाई कोहि नजिकैको आफन्त नै छुट्टिए जस्तो अनुभव हुन्छ । (प्रस्तुती : फातिमा बानु)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप