शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

माधव नेपालको विश्लेषण – एमाओवादी : एमालेको आदेशमा चल्ने, नयाँ शक्तिः पूरानो रक्सी नयाँ बोटल

बुधबार, १० चैत २०७२, २० : ३१
बुधबार, १० चैत २०७२

रोल्पा – नेकपा एमालेका वरिष्ठ नेता एवम् सरकारका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विग्रिएका पार्टीहरुलाई ठीक ठाउँमा ल्याउने काम विगतदेखि नै एमालेले गर्दै आएको दाबी गरेका छन् । मिल्नै नचाहने कांग्रेस र माओवादीलाई एक ठाउँमा ल्याउने काम एमालेले गरेको भन्दै उनले माओवादीलाई शान्तिप्रक्रियामा गिरिजाप्रसाद कोइरालाले नभएर माधव नेपालले ल्याएको दावी गरे । गणतन्त्रको मुद्दा एमालेको भएको भन्दै नेता नेपालले माओवादीलाई जंगलबाट र कांग्रेसलाई राजाबाट सडकमा ल्याएको दावी गरे । नेपालमा राजनीतिक क्रान्ति सम्पन्न गर्ने र जनतालाई सार्वभौम बनाउने काममा एमालेलेनै अगुवा गरिरहेको नेपालको दावी थियो । यदि एमालेको एकलौटी सरकार भइदिएको भए हरेक निर्वाचन क्षेत्रमा तीनकरोड दिने योजना रहेको बताए । नयाँ संविधानले सबैलाई अधिकार दिएको र सबैपक्षले आफूलाई संविधानमै खोज्न आग्रह गरे । नेपाली कांग्रेसः पूँजीपतिहरुको पार्टी, नेता नेपालले नेपाली कांग्रेसलाई पूँजीपतिहरुको पार्टी भएको आरोप लगाएका छन् । ‘नेपाली कांग्रेस पूँजीजपतिहरुको पार्टी हो’ नेता नेपालले भने ‘त्यहाँ धनाध्य, सामन्त र पुजिपतिहरुमात्र अटाउँछन् ।’ वी.पी. कोइराला हुँदै गिरिजाप्रसाद कोइरालासम्मका नेताहरुले कम्यूनिष्टलाई कुनै शक्ति नै नमान्ने गरेको अवस्थामा दोस्रो जनआन्दोलनमा एमालले जबर्जस्त राजतन्त्र विरुद्धको आन्दोलनमा ल्याइसकेपछि ‘कम्यूनिष्ट पनि एउटा शक्ति हो’ भन्ने कुरामा कांग्रेसले स्वीकार गरेको दावी गरे । एमाओवादीः एमालेको आदेशमा चल्ने पार्टी एकीकृत नेकपा माओवादीलाई एमालेको आदेशमा चल्ने पार्टी भएको नेता नेपालले बताएका छन् । जनयुद्धकालदेखि नै एकीकृत माओवादीलाई आफूले सल्लाह दिइरहेको र त्यही अनुरुप माओवादी अगाडि बढेको नेता नेपालले दावी गरे । ‘डा. बाबुराम भट्टराईलाई कार्वाही गरी बन्दी बनाइरहेको अवस्थामा मैले प्रचण्डलाई भने उहाँलाई सुरक्षित राख्नुस् है । मैले त्यसो भनेपछि प्रचण्डले बाबुरामजी सुरक्षित हुनुहुन्छ, मैले आफ्नै चिया पकाउने भान्सेको रुपमा राखेको छु भनेर प्रचण्डजीले मलाई जवाफ दिनुभयो ।’ नेता नेपालले प्रचण्डसँग वार्ता गर्नका लागि रोल्पादेखि भारतका विभिन्न ठाउँसम्म आफैले बोलाएको दावी गरे । प्रचण्ड र गिरिजाप्रसाद कोइरालालाई भेटको वातावरण आफैले मिलाएको समेत नेपालले बताए । नयाँ शक्तिः पूरानो रक्सी नयाँ बोटल, एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्तिको अभियानमा हिँडेका डा. बाबुराम भट्टराईलाई नेता नेपालले कडा टिप्पणी गरेका छन् । कम्यूनिष्ट सिद्धान्त समेत छोडेर अर्कै दुनियाको परिकल्पना गरेकोमा आक्रोशित नेपालले नयाँशक्ति पुरानै बोटलमा नयाँ रक्सी भएको बताए । ‘बाबुरामजीको सिद्धान्त पुरानो बोटलमा नयाँरक्सी मात्र हो’ नेता नेपालले भने ‘बाबुरामजी उही पुरानै मान्छे हो पेन्टिङ गरेर नयाँ लुगा मात्र लगाउनुभएको छ ।’ नयाँशक्ति फगत परिकल्पना मात्र भएको नेपालले टिप्पणी गरे । विप्लव माओवादीः जति कराउने उति डराउने नेता नेपालले विप्लव माओवादी जति कराए पनि मूलधारमा आउन डराएको बताए । बन्दुकको ढङ्ढङीलाई छोडेर मूलधारमा आउन र अन्य दलहरुसँगको सहअस्थित्वलाई स्वीकार्न अनुरोध समेत गरे । ‘म विप्लव माओवादीलाई रोल्पाबाटै भन्न चाहन्छु, तपाइहरु प्रतिष्पर्धामा आउनुस्, प्रतिष्पर्धाबाट आफूलाई श्रेष्ठ देखाउनुस्’ नेता नेपालले भने ‘अन्यथा अगुवाको दावा गर्नु व्यर्थ छ ।’ कम्यूनिष्टहरुले धाकधम्की दिएर जनमत सिर्जना गर्ने जमाना सकिएको भन्दै नेपालले खुल्ला प्रतिष्पर्धामा आएर देखाउन चुनौती दिए । पार्टी प्रशिक्षणको क्रममा रोल्पा पुगेका नेता नेपालले बुधबार यस्तो बताएका हुन् । कार्यकर्ता प्रशिक्षणमा बोल्दै व्यवस्थापिका संसद, अर्थसमितिका सभापति एवम् एमाले नेता प्रकाश ज्वालाले प्रशिक्षणको अधिकांश समय माओवादीलाई गाली गर्नमै विताएका थिए । उनले माओवादी र भूकम्प उस्तै भएको र यी दुवैले मुलुकलाई अस्तव्यस्त बनाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप