इन्डियन हाउसमा रे–मोर्चा वार्ता : अर्को आन्दोलन गर्न भारतको ‘गो अहेड’
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीनमा रहेको बेला नेपालका लागि भारतीय राजदूत रञ्जित रेले आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई बोलाएर छलफल गरेका छन् । दोस्रो चरणको राष्ट्रिय आन्दोलन गर्ने तयारी गरिरहेको मोर्चाका शीर्ष नेताहरुलाई बिहिबार बिहान लैनचौरस्थित इन्डियन हाउसमा बोलाएर रेले छलफल गरेका हुन् । प्रधानमन्त्री चीन भ्रमणमा गरिरहेको बेला र यता मोर्चाले आन्दोलनको तयारी गरिरहेको बेला आज भएको भेटघाटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । आज भएको ब्रेकफास्ट मिटिङमा राजदूत रेले प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान भएका सम्झौताहरु प्रति असन्तुष्टि देखाएको बुझिएको छ । बैठकमा सहभागी मोर्चाका नेताले दिएको जानकारी अनुसार राजदूत रेले चीनसँग नेपालले गरेको सम्झौताप्रति भारत सन्तुष्ट नरहेको संकेत गरेका थिए । ‘वहाँको संकेत हेर्दा भारत हालै नेपाल र चीनबीच भएको सम्झौताबाट सन्तुष्ट नरहेको बुझ्न सकिन्थ्यो,’ मोर्चाका नेताले रातोपाटीलाई बताए । बैठकमा राजदूत रेले मधेसी मोर्चाले प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापन पत्रका बारेमा पनि जिज्ञासा राखेका थिए । ‘प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र बुझाउँदा कस्तो प्रतिक्रिया दिनुभएको थियो,’ राजदूत रेको भनाई उद्धृत गर्दै ती नेताले भने । जवाफमा मोर्चाका नेताहरुले आफूहरुले चैतमसान्तभित्र मधेसको माग पूरा नभए बैशाखको पहिलो हप्ताबाट आन्दोलन गर्ने कुराको जानकारी प्रधानमन्त्रीलाई दिएको बताउँदै प्रधानमन्त्री ओलीले भने आन्दोलनको आवश्यकता नरहेको र वार्ता र सहमतिबाटै समस्या समाधान गर्ने प्रतिक्रिया आफूहरुलाई दिएको जानकारी राजदूत रेलाई दिएका थिए ।
‘प्रधानमन्त्री ओलीले त्यतिबेला घाइतेलाई निःशुल्क उपचार तथा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता बारेमा तत्कालै निर्णय गर्ने भन्नुभएको थियो तर अझैसम्म त्यो पूरा भएको छैन,’ मोर्चाका नेताहरुको गुनासो थियो । त्यस्तै सो भेटमा प्रधानमन्त्री ओलीले राजनीतिक संयन्त्रको पूर्णता दिने विषयमा पनि कुरा राखेको र राजनीतिक संयन्त्रको टिओआर (कार्यविधि) नबनेसम्म संयन्त्रमा आफूहरु नबस्ने कुराको जानकारी गराएको पनि राजदूत रायसमक्ष मोर्चाका नेताहरुले राखेका थिए । मधेशी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फागुन २८ गते ज्ञापनपत्र बुझाएका थिए । मोर्चा स्रोतका अनुसार राजदूत रायले आन्दोलनको तयारीको बारेमा पनि जिज्ञासा राखेका थिए । निकै रुष्ट देखिएका रेले मधेसको माग पूरा गर्न अब आन्दोलनको विकल्प नरहेको र मधेसी जनताको माग पूरा गर्नका लागि अर्को चरणको आन्दोलनको विकल्प नरहेको मोर्चाका नेताहरुलाई सुझाव दिएको स्रोतको दाबी छ । ‘हामीले यत्रो गर्दा पनि तपाईंहरुको माग पूरा हुने छाँटकाट देखिएको छैन । तपाईंहरु अब आन्दोलनको तयारी गर्नुहोस् । त्यसमा हाम्रो सहयोग र समर्थन रहन्छ,’ रेको भनाईं उद्धृत गर्दै मोर्चाका नेताले रातोपाटीलाई बताए । भेटघाटको विषयमा तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवसँग जिज्ञासा राख्दा उनले भने आजको बैठक कुनै राजनीतिक विषयभन्दा पनि होलीको शुभकामना आदनप्रदान गर्ने बारेमा केन्द्रीत रहेको जवाफ दिए । ‘भारत र नेपालको मधेशी समुदायमा होली पर्व भएको कारणले शुभकामना आदानप्रदानका लागि राजदूत रायले बोलाउनु भएको थियो,’ उनको प्रतिकृया थियो । भेटघाटमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव सहभागी रहेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण