शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

किमाथाङ्का अरुण पूर्वाञ्चलको भाग्य खोल्दै

बिहीबार, ११ चैत २०७२, १६ : ५३
बिहीबार, ११ चैत २०७२

काठमाडौँ- छिमेकी चीनको सीमा नजिकको महत्वपूर्ण जलविद्युत् आयोजना किमाथाङ्का अरुण अगाडि बढाउने सहमति भएपछि आयोजनास्थल सङ्खुवासभाका जनप्रतिनिधिले लामो समयदेखिको सपना साकार हुन लागेको प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार जारी गरिएको १५ बुँदे संयुक्त वक्तव्यमा सो जलविद्युत् आयोजनाको समग्र अध्ययन तथा निर्माण प्रक्रिया अगाडि बढाउने विषय समेटिएपछि जिल्लाका जनप्रतिनिधिले खुसी व्यक्त गरेका हुन्। नेपाल–चीन सीमा नजिकको सो आयोजना लामो समयदेखि चर्चामा रहेको थियो । तर कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकेको भन्दै स्थानीयस्तरमा असन्तुष्टिसमेत पैदा भएको थियो। कुल ४३४ मेगावाट क्षमताको किमाथाङ्का अरुणलाई अगाडि बढाइदिन सरकारले चीन सरकारसँग आग्रह गरेको थियो। सङ्खुवासभामा नै सो आयोजना अगाडि बढिरहेको छ। भारतीय लगानीकर्ता कम्पनी सतजल विद्युत् निगमले ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजना पनि अगाडि बढाइरहेको छ। लगानी बोर्डको समन्वयमा अरुण तेस्रो जलविद्युत् आयोजनाले हाल पहुँचमार्ग निर्माण गरिरहेको छ। जिल्लामा नै अर्को महत्वपूर्ण आयोजना अगाडि बढ्ने भएपछि सङ्खुवासभाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसद तारामान गुरुङ समग्र पूर्वाञ्चलवासीको सपना साकार हुन लागेको बताउँछन्। “प्रधानमन्त्रीको भ्रमणका क्रममा किमाथाङ्का अरुण अगाडि बढ्ने सहमति हुनु हाम्रा लागि खुसीको विषय हो,” उनले भने। यस्तै सङ्खुवासभाकं सांसद वेदमाया भण्डारी शाक्य आयोजना अगाडि बढ्ने विषय नै सबैभन्दा महत्वपूर्ण रहेको बताउँछिन्। अरुण तेस्रो जलविद्युत् आयोजना लामो समयदेखि चर्चा परिचर्चामा रहे पनि पछिल्लो दिनमा मात्रै अगाडि बढ्न लागेको सन्दर्भमा सङ्खुवासभामा नै अर्को महत्वपूर्ण आयोजना सुरु हुने विषय उठान हुनु असाध्यै खुसीको विषय भएको भन्दै उनले सो आयोजना अगाडि बढेको खण्डमा समग्र नेपालकै भविष्य सुन्दर हुने बताइन्। चीन जानुअघि प्रधानमन्त्री ओलीले आगामी दुई वर्षभित्र विराटनगर–किमाथाङ्का सडकको ट्याक खोलिसक्ने बताएका थिए। यस्तै व्यवस्थापिका–संसद्को विकास समितिले पनि सो मार्गलाई तत्काल अगाडि बढाउन सरकारलाई निर्देशन दिएको थियो । सोही जिल्लाकी अर्की सांसद प्रभादेवी बज्राचार्य किमाथाङ्का अरुणको विषयमा सहमति हुनु जिल्ला र मुलुक दुवैका लागि खुसीको विषय भएको बताउँछिन्। सो आयोजनालाई अगाडि बढाउन स्थानीयवासी असाध्यै उत्सुक रहेको भन्दै उनले चरम ऊर्जा सङ्कटमा रहेको मुलुकलाई त्राण दिन सो आयोजना सफल हुने विश्वास व्यक्त गरिन्। हाल जिल्लामा सबै राजनीतिक दल, सरोकारवाला निकाय तथा लगानीकर्तासमेत आकर्षित भइरहेको सन्दर्भमा दुई महत्वपूर्ण आयोजना अगाडि बढ्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ । ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले सो आयोजनाको पहिचानको चरणमा मात्रै अध्ययन भएको जानकारी दिँदै अब थप अध्ययनको बाटो खुलेको प्रतिक्रिया दिए। उनले भने, ‘‘नेपाल सरकारले धेरै पहिले सो आयोजनाको सामान्य अध्ययन गरेको थियो, परियोजना पहिचान गरिएको हो । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सो आयोजना समेटिएर आउनु नै महत्वपूर्ण विषय भएकाले अब तत्परताका साथ अध्ययनको काम सुरु हुन्छ ।” सो आयोजना अगाडि बढाउने र विराटनगर किमाथाङ्का सडक पनि सँगै निर्माण सम्पन्न भए समग्र नेपालको आर्थिक अवस्था सुधार हुने अपेक्षा गर्न सकिन्छ । हाल सो सडकखण्डको ३१० किलोमिटरमध्ये ८४ किलोमिटरको ट्र्याक खोल्न बाँकी छ । अन्य स्थानको सडक स्तरोन्नति गर्ने काम भइरहेको छ । सडक विभागका अनुसार आगामी दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप