शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रेडियो नेपाल अब चौबीसै घन्टा

बिहीबार, ११ चैत २०७२, १७ : ०८
बिहीबार, ११ चैत २०७२

काठमाडौँ– रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले आगामी भदौ १ देखि चौबिसै घन्टा प्रसारण गर्ने भएको छ ।

हाल मिडियम वेभ, अनलाइन र २१ वटा एफएम रिले केन्द्रमार्फत केन्द्रीय र क्षेत्रीय कार्यक्रम सञ्चालन गर्दै आएको मुकुककै सबैभन्दा जेठो र पुरानो सो संस्थाले ‘व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना’ बमोजिम २४सै घन्टा प्रसारण गर्ने भएको हो ।

प्राविधिक उपकरणलाई समयानुकूल बनाउने र उच्चस्तरको सर्टवेभ स्थापना गरी प्रसारण सेवालाई आधुनिकीकरण गर्न लागेको रेडियो नेपालले समितिका संस्थापक तारणीदत्त कोइरालाको सम्झनामा विराटनगरमा स्मृति सञ्चार ग्राम स्थापना गर्न लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

सो अवसरमा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नयाँ संविधानबमोजिम आफ्नो कार्यशैली बदल्न सुझाव दिएकैले आज रेडियो नेपाल यो अवस्थासम्म आइपुग्न सफल भएको हो भने ।

अब कुनै पनि सरकारी सञ्चारमाध्यमले यथास्थितिमा नरही परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उहाँले जेठो र पुरानो संस्था रेडियो नेपालबाटै सुधारका कार्य अघि बढाएको जानकारी दिए ।

गणतन्त्रलाई संस्थागत गर्न स्थानीय तहसम्म रेडियोका कार्यक्रम अघि बढाउनुपर्नेमा सुझाव दिँदै मन्त्री राईले प्रतिबद्धताबमोजिम विलम्ब नगरी परिणाममुखी नतिजा निकाल्न आजैबाट प्रत्येक महिना कामको प्रतिवेदन बुझाउनुपर्नेमा जोड दिए ।

रेडियो नेपाल सञ्चालक समितिका अध्यक्षसमेत रहेका सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले राष्ट्रकै सञ्चारमाध्यमका रूपमा उभ्याउन घोषणा गरिएका सुधारका कार्यक्रम पूरा गर्न कुनै कसर नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

सबै क्षमतालाई एकीकृत गरेर निश्चित समयभित्र सुधार गरेर देखाउन र व्यावसायिक प्रतिस्पर्धा तथा गुणस्तरीय सेवा दिन नयाँ प्रविधिका साथै नयाँ कार्यक्रमको उत्पादन तथा प्रसारणमा जोड दिनुपर्ने, वित्तीय स्रोत जुटाउनुपर्ने उल्लेख गर्दै उनले यसका लागि अन्य संस्थासँग सहयोग र साझेदारीका लागि प्रयत्न गर्ने पनि सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप