शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बोआओ फोरमलाई प्रम ओलीको सम्बोधन : एसिया परिवर्तित विश्व संरचनाको केन्द्रभागमा

बिहीबार, ११ चैत २०७२, १७ : १४
बिहीबार, ११ चैत २०७२

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व अर्थतन्त्रको नेतृत्वकर्ताको रूपमा उदय भइरहेको एसिया एक्काइसौं शताब्दीको परिवर्तित विश्व संरचनाको केन्द्रभागमा आइपुगेको बताएका छन् ।

बोआओ फोरमलाई आज सम्बोधन गर्दै उनले विश्व अर्थतन्त्रलाई थप मजबुत बनाउन विश्व समुदायले आज एसियाको आर्थिक गतिविधिलाई नियालिरहेको बताए ।

“एसियाली मुलुकहरूले अर्थतन्त्रमा गरेको अभूतपूर्व प्रगतिले एसियाको विशाल सम्भावनालाई आँैल्याइदिएको छ” – उनले भने ।

नयाँ खोज र प्रविधिले विकासका नयाँ ढोकाहरू खोलिरहेको बताउँदै उनले भने – यस्ता नवीन खोजले मानवको हित सम्बद्र्धन गर्नुपर्छ । हरेक राष्ट्रलाई बेरोकटोक प्रविधिमाथिको पहुँच हुनुपर्छ ।

“एसियालाई समृद्ध बनाउन हाम्रा प्रयासले सहयोगको यस्तो ढाँचा तयार गर्नुपर्दछ जसले अवसर र लाभलाई समान रूपले वितरण गर्नेछ” – उनले भने । सामूहिक प्रयत्न र सहयोगका अवसरहरूको खोजीले मात्रै ज्ञानको स्वतन्त्र प्रवाह, निर्वाध व्यापार र सबैले जित्ने अवसर सिर्जना गर्ने विश्वास पनि प्रधानमन्त्री ओली व्यक्त गरे । एसियाले तय गर्ने दूरदृष्टि समावेसी हुनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले शान्ति र गरिबी सँगसँगै जान नसक्ने उल्लेख गर्दै एसिया निःसन्देह विश्व अर्थतन्त्रको ‘शक्तिकेन्द्र’का रूपमा उदय भइरहेको बताए । एसियाको समग्र विकास र उत्थानमा सबैको साथ र सहयोग जरुरी रहेको पनि उनले औंल्याए ।

प्रधानमन्त्री ओलीले भने – “एसियामा बजार विस्तार भइरहेका छन्, उद्योग व्यापार फस्टाइरहेका छन्, रोजगारी सिर्जना भइरहेको छ । एसियामा महादेश गरिबीबाट बाहिर निस्किने चरणमा पुगेको छ । तर पनि यस क्षेत्रको जनसङ्ख्याको ठूलो हिस्सा गरिबी र अभावको चङ्गुलभित्रै रहेको छ ।’’

एसियालाई नयाँ दृष्टिकोण र आयामहरूका साथ सुनौलो भविष्यतर्फ अघि बढाउने समय अहिले आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि क्षेत्रीय सहयोग र सहकार्य जरुरी रहेको बताए ।

जननिर्वाचित संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको र त्यसलाई मित्रराष्ट्रहरूबाट स्वागत गरिएकामा प्रधानमन्त्री ओलीले आभार पनि प्रकट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप