शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राहदानीमा गाई मरेपछि भक्कानिएर रोए कृषिमन्त्री गजुरेल

बिहीबार, ११ चैत २०७२, २३ : ०५
बिहीबार, ११ चैत २०७२

काठमाडौं – राजधानीमा बिहीबार बेलुका चलचित्र राहदानीको एक विशेष शोमा नेपाल सरकार कृषि मन्त्रालयका माननीय मन्त्री हरिबोल गजुरेल भक्कानिएर रोएका छन् । चलचित्र राहदानीमा गाई मरेपछि विभिन्न समस्या उत्पन्न भएको र समस्याले कथाको क्रमलाई एक घटनापछि अर्को घटना निम्त्याएको भन्दै मन्त्री गजुरेल भक्कानिएर रोएका थिए ।

चलचित्र राहदानीमा नेपाली युवाहरुले आफ्नै देशमा केही गर्न सकिन्छ भन्दै ऋण काटेर गाई पालन गर्ने र गाई मरेपछिको विभिन्न समस्या उत्पन्न भएको कारणले नेपाली युवा विदेशीनु परेको कथा हेरिसकेपछि तपाईंलाई कस्तो लाग्यो भन्ने प्रश्नमा मन्त्री गजुरेलले त्यसको उत्तर दिँदै गर्दा मन थाम्न नसकेर भक्कानिएर रोएका थिए ।

मन्त्री गजुरेलले शुरुमा देशमा बेरोजगार बढेपछि युवाहरुमा विभिन्न समस्या आउने र विदेशीनुपर्ने कथा रहेकोले सम्पूर्ण नेपालीहरुको समग्र कथा नै राहदानी रहेछ भन्दै गर्दा केही क्षण मन्त्री गजुरेल बोल्न सकेनन् लगतै दुवै हातले अनुहार छोप्दै भक्कानिएर रोएका थिए । करिब एक मिनेटसम्म रोएका उनलाई चलचित्रका निर्देशक डब्बु क्षेत्रीले सान्त्वनासहित सम्हाल्न अनुरोध गरेका थिए । मन्त्री गजुरेलसँगै आएका सुरक्षाकर्मी र सहयोगी मन्त्री गजुरेललाई हेरिमात्र रहे ।

यो दृश्य हो राजधानीको सिटी सेन्टरमा रहेको विग मूभिजमा देखिएको । राजधानीको धर्मस्थलीमा रहेको धर्म आश्रम प्राथामिक विद्यालयको सहयोगार्थ स्वरुप जेसिस काठमाडौंले आयोजना गरेको चलचित्र राहदानी हेरिसकेपछि सो घटना भएको हो । चलचित्र हेरिसकेपछि सबै दर्शकहरुले चलचित्र राम्रो भएको र सबैले हेर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

परदेश गएका युवाहरुको कथामा निर्माण भएका अन्य चलचित्रभन्दा राहदानीमा फरक पात्रहरु समावेश गरिएको र तिनीहरुको समस्यालाई फरकदंगले प्रस्तुत गरिएको छ । प्रत्येक नेपालीहरुको घरसँग जोडिएको यथार्थ कथालाई सरल र नाटकीय रुपमा प्रस्तुत गरिएको राहदानी निकै राम्रो भएको समेत मन्त्री गजुरेलले बताएका छन् । उनले चलचित्र हेरिदिन सबै नेपालीहरुलाई समेत आग्रह गरेका छन् । रादहानीका कलाकारहरु दयाहाङ राई, रुपा खनाल, सृजना सुब्बा, अशोक रिजाल, नविन लम्साल, मोनिका दाहाल, विकाश जोशी, तेन्जिङ शेर्पा रहेका छन् । चलचित्रलाई निकै नै अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप