सङ्घर्षबाट खारिएका महिलाहरुको कहानी
रत्ननगर (चितवन),– पञ्चर टाल्नका लागि साइकलको चक्का र टायरको जोरमा फलामको अङ्कुशे घुसाएर टिउ निकाल्दै छिन् मेघौलीकी सोमिया चौधरी ।
कुनै पुरुष साइकल मिस्त्रीभन्दा कम हुनुहुन्न । पश्चिम चितवनको मेघौलीस्थित पिपरा गाउँकी ३५ वर्षीया सोमिया चौधरीलाई अहिले भ्याइनभ्याई छ । प्रहरी तथा स्थानीय गाउँलेका साइकल मर्मतमा उनी सक्रिय छिन् ।
तीन वर्षदेखि गाउँमा साइकल मर्मत गर्ने नमुना काममा लाग्ने उनी पहिलो महिला हुन् । श्रीमान्लाई समेत उनले साइकल बनाउन सिकाइन् ।
“सुरु सुरुमा यो काम गर्दा महिलाले नै छि छि कालो लाग्ने काम गरेको भनेर जिस्काए, अहिले उनै महिला मेरो काम देखेर खुसी हुन्छन्, साइकल बनाइदिनु प¥यो भन्दै आउँछन्,” सोमियाले भनिन् ।
मेघौलीको जीतपुर बजारमा उनले साइकल बनाउने काम सिकिन् । साइकलबाटै अहिले दिनमा रु ४÷५ सय कमाइ हुन्छ सोमियाको ।
केयर नेपालको सहयोगमा कालिका सामुदायिक महिला विकास केन्द्रमार्फत बनेको ‘सक्षम कार्यक्रम’ले उनलाई साइकल बनाउन सक्षम बनाएको हो ।
सक्षम कार्यक्रमकी फिल्ड अधिकृत सरस्वती अधिकारीले श्रीमान्लाई समेत साइकल बनाउन सिकाएर गाउँमै नमुना महिलाको रुपमा सोमियाले पहिचान बनाएको जानकारी दिइन् ।
अहिले उनी सिर्जना महिला छलफल केन्द्रकी सदस्य पनि छिन् । महिनामा रु २० हजार बचत गर्ने गरिएको छ । समूहबाट रु १० हजार ऋण लिएर उनले साइकल पसलमा ¥याक थपिन् ।
रु चार हजारमा केही अपुग सामान थपियो । सिकेको बेलामा एकसरो मर्मतका सामान रिङ, टायर, तार, रेन्ची, निप्पल, धुरालगायत संस्थाले नै दिएको उनको भनाइ छ ।
सुरुमा दुई महिनाको सामान्य तालिम र पछि फेरि दुई महिनाको विशेष तालिम लिएपछि साइकल बनाउन पोख्त भएकी सोमियाले भनिन्– “म जस्तोसुकै बिग्रिएको साइकल पनि बनाउन सक्छु । अझ अहिले त श्रीमान्लाई समेत सिकाइसकेकी छु ।” आफूलाई श्रीमान्ले पनि सघाउने उनले भनाइ छ ।
“पहिले महिलाले कालो हात बनाउनभन्दा घरमै बसेको ठीक भनेर कति गिल्ली गर्थे, केटाले जिस्काउँथे, अहिले सबै राम्रो भन्छन्,” उनले विगत सम्झँदै भनिन् ।
बाटोमा साइकल बिग्रिएर डो¥याउँदै हिँडेको मान्छे देखिए बोलाएरै उनी साइकल टालिदिने गर्छिन् । उनी मोटरसाइकलको पञ्चर समेत टाल्न सक्ने बनेकी छन् ।
आएको आम्दानीमध्ये उनले साना किसानमा मासिक रु २००, अर्को सहकारीमा रु २०० र विभिन्न समूहमा रु १०० गरी मासिक रु ५०० बचत गर्ने गछिैन् । साइकल बनाउन लिएको ऋणसमेत तिरिसकिएको छ । स्थानीय शिला परियार यस्ता केही गर्छु भन्ने महिलाका लागि यहाँ अवसर भएको बताउँछिन् । सोमियाको पौरखलाई अहिले सबैले प्रशंसा गर्ने गरेको परियारले बताइन् ।
सोमिया जस्तै सङ्घर्ष गरेर सफलता पाउनेमा ३८ वर्षीया जितरानी थरुनी ९महतो० पनि छिन् । नारायणी नगरपालिका–२ की जितरानीका सुरुका कथा सम्झँदा आँसु चुहिन्छ । छोटो कुराकानीमै उनी भक्कानिइन् ।
बिहे भएको केही वर्षमै परिवारले घरबाट निकाली दिए । उनलाई केही समय केराघारीमा बस्नुप¥यो । पछि माइतीबाट समेत साथ नपाएपछि अर्काको घरमा आश्रित भएर ज्याला मजदुरी गर्न पुगिन् ।
फेरि आफ्नो पुख्र्यौली क्षेत्रमा फर्किएर उनको पुनः सङ्घर्ष सुरु भयो । “गाउँमा खुलेको शान्ति महिला छलफल केन्द्रले मेरो जीवन नै परिवर्तन गरिदियो,” जितरानीले भनिन् – “अहिले भने टेलर गरेर आफ्नो परिवार सजिलै पाल्न सक्ने भएकी छु ।”
कालिका संस्थामार्फत खुलेको छलफल केन्द्रले उनलाई सिलाइकटाइ सिकायो । बोल्न र अधिकारको कुरा गर्न सिकायो ।
सुरुसुरुमा हँसियाले काटेर भोटा सिउने अनुभव थियो जितरानीसँगै । त्यही अनुभवले तीन महिनामा सिलाइकटाइ सिक्न गाह्रो नभएको उनको प्रतिक्रिया छ । अहिले तीन वटा कल घरमा राख्नु भएको छ । लक मेसिन पनि छ । “गाउँलेको कपडा सिलाउन भ्याइनभ्याई छ,” जितरानीले सन्तोष मान्दै भनिन् – “दुःखका दिन गएजस्तो लाग्छ अहिले ।”
फरक जीवन कथा भए पनि उस्तै सङ्घर्ष भोग्नुभएको छ मेघौली जीतपुरकी मीना बोटले पनि । विपन्न परिवारकी बोटलाई केही वर्ष अघिसम्म अरुसँग राम्ररी बोल्न आउँदैनथ्यो ।
विसं २०६८ मा नमुना महिला छलफल केन्द्र गठन भयो । डराइडराई सो केन्द्रमा पुगेकी मीना अहिले गाउँकी अगुवा महिला भएर निस्किएकीछिन् । उनी अहिले बाटो ग्राभेल उपभोक्ता समितिमा सचिव, मेसजाली उपभोक्ता समितिमा सदस्य, शौचालय व्यवस्थापन समितिमा कोषाध्यक्ष, जनजाति महासङ्घमा सदस्य र महिला सञ्जालमा सदस्य छिन् ।
सरकारी कार्यालयमा कहाँकहाँ र कसरी बजेट आउँछ भनेर पनि आफूले पूर्ण जानकारी राख्ने गरेको उनले बताइन् । यसरी गाउँमा छलफल केन्द्रकै माध्यमबाट आठ वटा समूहमा मेघौलीका १८३ महिला सङ्गठित भएका छन् । अधिकांशका जीवनमा सङ्घर्ष पछिको सफलता देख्न सकिन्छ ।
विपन्नमध्येका पनि अतिविपन्नलाई छानेर सुरु गरिएको सक्षम कार्यक्रम प्रभावकारी भएको देख्दा खुसी लाग्ने कार्यक्रमकी फिल्ड अधिकृत सरस्वती अधिकारी बताँछिन् ।
ती महिला हरेक समूहमा बचतसमेत सङ्कलन गरेर आइपरेका समस्या आफैँ समाधान गर्न र ऋण लगानी गर्नसमेत सक्षम छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण