शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जिशिकाले विज्ञापनमा रोक लगाएपछि विद्यार्थीलाई मार

शुक्रबार, १२ चैत २०७२, १० : ३१
शुक्रबार, १२ चैत २०७२

जुम्ला– जिल्ला शिक्षा कार्यालय जुम्लाले शिक्षक नियुक्तिका लागि विज्ञापन गर्न रोक लगाएको खुलासा भएको छ ।

चन्दननाथ नगरपालिका–१२ मा अवस्थित भैरव माध्यमिक विद्यालयको माध्यमिक तहको विज्ञान सट्टा शिक्षक आवश्यकताका लागि दरखास्त आह्वान गर्न जिशिकाले रोक लगाएको प्रधानाध्यापक भीमबहादुर नेपालले जनाए ।

“शैक्षिक सत्रको सुरुवातमै विज्ञापन गर्न खोजेका हौँ तर जिशिकाले विस्थापित शिक्षकलाई नै स्थापित गर्ने भनेपछि विज्ञापन कार्यमा रोक लाग्यो,” प्रधानाध्यापक नेपालीले खुलासा गरे ।

विद्यालय सुरु भएको डेढ महिनासम्म पनि जिशिकाले शिक्षक पठाउन चासो नदिएपछि बाध्य भएर दबाब दिन कार्यालयमा आउनुपरेको उनको भनाइ छ ।

कक्षा १० मा अध्ययनरत छात्र सम्राट परियारले गाह्रो विषय विज्ञान र गणितको पढाइ अवरुद्ध हुनुमा जिशिका जुम्लाको ठूलो कमजोरी रहेको भन्दै आक्रोश पोखे ।

यता विद्यालय व्यवस्थापन समितिले आफ्नो अधिकारमाथि जिशिकाले हस्तक्षेप गरेको दोष लगाएको छ । शिक्षक पनि नपठाउने र अधिकार पनि प्रयोग गर्न नदिने जिशिकाको नीतिले विद्यालय सञ्चालनमा समस्या भएको अध्यक्ष अप्सरा न्यौपाने महतले बताए ।

जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले जिल्ला शिक्षा समितिको बैठक बसेर यो समस्यलाई यथाशीघ्र सुल्टाउने बचन दिए । बालबालिकाको पठनपाठनलाई प्राथमिकतामा राखेर शिक्षक व्यवस्थापनमा सहयोग पु¥याउने जिशिअ फडेराले विश्वास दिलाए ।

विद्यार्थीले भने यो महिनाको १६ गतेभित्र जिशिकाले शिक्षकको व्यवस्थापन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । सो विद्यालयमा कक्षा ८, ९ र १० गरेर जम्मा १७८ विद्यार्थीको पढाइ प्रभावित भइरहेको छ ।

तत्कालीन विज्ञान शिक्षक रामसुरत चौधरी लोकसेवा आयोगमा नाम निकालेर नापतौल विभागमा गएपछि विद्यालयमा शिक्षक अभाव खट्केको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप