एक करोडको लगानीमा गाईफार्म
रामपुर (पाल्पा)– मदनपोखराका युवा कृषक सुकदेव रिजालले कृषिमा व्यवसायीकरण गर्नका लागि रु एक करोडको लगानीमा गाईफार्म सञ्चालन गरेका छन् ।
सुरुमा रु ३४ हजारमा एउटा गाई पालेका रिजालले दूध उत्पादनमा यथेष्ट आम्दानी हुने आशा देखेर लगानी बढाएका हुन् । जिल्लाकै ठूलो लगानीमा सञ्चालित गाईफार्म हेर्नेको अहिले दिनहुँ घुइँचो लाग्ने गरेको छ । उनले गाउँमै रमाउने र गाईपालनबाट दीर्घकालीन रुपमा मनग्य आम्दानी गर्न लगानी गरेकाहुन् ।
जीवन नै मेहनत, परिश्रम र सङ्घर्ष हो भन्ने मनसायले चलचित्र हल सञ्चालन, यातायात व्यवसायी, व्यापारलगायतका क्षेत्रमा समय खर्चे । तर, अन्तमा आएर उनले गाईफार्म रोजे । बैंकबाट ऋण झिकेर व्यवसाय थालेका रिजालले अहिलेसम्म आधा ऋण तिर्न भ्याएका छन् ।
फार्ममा जर्सी, वर्णशङ्कर क्रस जातका उत्पादित माउ गाई, बाच्छाबाच्छी गरी जम्मा ७० वटा गाई रहेका छन् । दुहुना ३० र २५ वटा ब्याउनी गाई छन् । दैनिक २५० लिटरसम्म दूध उत्पादन हुन्छ । “वार्षिक रु १२ लाख बराबरको आम्दानी हुन्छ” उनले भने ।
फार्म निर्माण र गाई खरिदमा रु ५०/५० लाख लगानी गरेका रिजालले पाँचजनालाई रोजगारी दिएका छन् । यसैवर्ष पशुसेवा कार्यालयले रु एक लाखको अनुदानमा दूध दुहुने मेसिन, गतवर्ष भकारो सुधारतर्फ रु ५९ हजार र गोठ सुधारका लागि रु एक लाख अनुदान रकम उपलब्ध गराएको छ ।
आफ्नो पुख्र्यौली दुई रोपनी जग्गामा रिजालले फार्म सञ्चालन गरेका हुन् । दुग्ध उत्पादक सङ्घका अध्यक्षसमेत रहेका उनले ४०० रोपनी जग्गा वार्षिक रु चार लाखमा भाडामा लिई पशुलाई चाहिने घाँस आफैँ उत्पादन गर्छन् । “विदेशको लगानी कृषिमा गरे यही आम्दानी गर्न सकिन्छ” उनले भने । दूध उत्पादनमात्र नभएर बाच्छी हुर्काएर तिनैबाट आम्दानी लिने उनको योजना छ ।
मलमूत्रको सदुपयोगका लागि यसैवर्षदेखि २० रोपनी जग्गामा तरकारीखेती सुरु गरेका छन् । मल व्यवस्थापनका लागि २४ वटा ट्याङ्कीमा गड्यौला मल उत्पादन गरी बिक्री गर्छन् । “कृषकलाई अनुदान रकम होइन, ऋण दिए मेहनत गरेर व्यवसाय गर्छन्, आम्दानी आफैँ लिन सक्छन” रिजालको सुझाव छ ।
लाखौँ रुपैयाँ ऋण गरेर विदेश जानुभन्दा स्वदेशमै बसेर तरकारी, फलफूल र पशुपालन व्यवसाय गरेर आम्दानी गर्न सकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण