शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुल्झियो प्रसारण लाइनको समस्या

शुक्रबार, १२ चैत २०७२, १४ : ०९
शुक्रबार, १२ चैत २०७२

काठमाडौँ– माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा देखिँदै आएको समस्या समाधान भएको छ ।

भूकम्प र नाकाबन्दीका कारण लामो समयदेखि प्रभावित निर्माण कार्य सरकारले निर्णय गरेपछि सहज भएको हो । रूख कटानका लागि अनुमति दिएपछि आयोजना अघि बढाउन सहज भएको प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रसारण लाइन क्षेत्र र आरक्ष क्षेत्रअन्तर्गत पर्ने २७ वटा सामुदायिक वनका चार हजार ३४१ रूख कटान गर्नुपर्नेछ । दुई वर्षदेखि रूख कटानको विषयमा आवश्यक निर्णय हुन नसक्दा आयोजनाको प्रसारण लाइन निर्माणमा बाधा पुगेको थियो ।

आयोजनाले एक वर्षभित्र सट्टा जग्गा उपलब्ध गराउने र वृक्षारोपण गर्ने प्रतिबद्धता जनाएपछि समस्या सुल्झिएको हो । रुख कटानका लागि स्वीकृति दिएपछि हाल आयोजना, वन विभाग र आरक्षबीच सम्झौताको तयारी गरिएको छ । त्रिपक्षीय सम्झौतापछि आयोजनाले रूख काटन सुरु गर्नेछ ।

तामाकोसी आयोजनाका प्रवक्ता न्यौपानेले तत्काल सम्झौता प्रक्रियाले तार्किक निष्कर्ष पाउने र रूख कटान कार्य अगाडि बढाउने बताए । कुल १२७ वटा टावरमध्ये सामुदायिक वन क्षेत्रमा पर्ने ६० वटा टावरको काम अगाडि बढाउने मार्ग खुलेको उहाँको भनाइ छ । रूख काटेपछि सामुदायिक वन क्षेत्रभित्र आयोजनाले करिब ६० हजार बिरुवा वृक्षारोपण गर्नुपर्नेछ ।

आयोजनाले २३ वटा टावर पूर्णरुपमा निर्माण सम्पन्न गरिसकेको छ भने ७० वटाको जग खन्ने काम जारी छ । आयोजनाबाट उत्पादन हुने विद्युत् डबल सर्किट २२० केभी प्रसारण लाइनमार्फत राजधानीमा जोडिनेछ । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसी इन्टरनेसनले काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप