शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नयाँ नेतृत्वका लागि बारमा दुई पक्षबीच कडा प्रतिस्पर्धा

शुक्रबार, १२ चैत २०७२, १९ : ०८
शुक्रबार, १२ चैत २०७२

काठमाडौँ– नेपाल बार एसोसिएसन केन्द्रीय नयाँ कार्यसमिति निर्वाचनका लागि दुई पक्षको कडा प्रतिस्पर्धा हुने भएको छ ।

यही चैत २० गते हुन लागेको निर्वाचनमा डेमोक्र्याटिक लयर्स एसोसिएसनका तर्फबाट शेरबहादुर केसी र प्रगतिशील कानुन व्यवसायीका तर्फबाट विजयकान्त मैनालीबीच कडा प्रतिस्पर्धा हुन लागेको हो । निर्वाचनकै विषयलाई लिएर आज संवैधानिक पत्रकार मञ्च र सोसल इन्जिनियरिङ स्कुल, नेपालले अध्यक्षका उम्मेदवारसँग उम्मेदवारी दिनाको विषयमा बृहत् छलफलको आयोजना गरेको छ ।

अध्यक्षका प्रतिस्पर्धी केसीले क्रियाशील बार बनाउनाका साथै न्याय र लोकतन्त्रको पक्षमा लड्ने प्रतिबद्धता व्यक्त गरे । अर्का प्रतिस्पर्धी मैनालीले कानुन व्यवसायलाई मर्यादित बनाई सङ्क्रमणकालीन उपलब्धिलाई संस्थागत गरेर बारलाई नयाँ ढङ्गले अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए ।

अध्यक्षमा नेमकिपा निकट रामप्रसाद प्रजापति र नेपाल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र जनजातिका तर्फबाट मनोहर साहले उम्मेदवारी दिएका छन्। पदाधिकारीसहित २५ जनाको नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको छ । नौ हजार ५२२ मतदाता सङ्ख्या छ । काठमाडौँमा मात्र पाँच हजार ८६२ मतदाता छन् । देशभर ३३ निर्वाचन केन्द्र तोकिएको छ । उम्मेदवार देशव्यापी रूपमा प्रचार प्रसारमा जुटिरहेका छन् ।

मतदान बिहान ८ देखि ४ बजेसम्म हुने निर्वाचनमा मतदाताले नेपाल कानुन व्यवसायी परिषद्ले जारी गरेको परिचयपत्र वा कानुन व्यवसायी प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्रको सक्कल नै अनिवार्य रूपमा लिएर आउनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप