शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चामल नपाएपछि स्थानीयवासिन्दा निरास

शनिबार, १३ चैत २०७२, १४ : ४६
शनिबार, १३ चैत २०७२

घाट (जाजरकोट)– नेपाल खाद्य संस्थानले शुक्रबार चामल बाँड्ने खबर पाएपछि रोकायगाउँ मुलसामकी ५१ वर्षीय काली रोकाय दिनभर हिँडेर नायकवाडा–७ घाट पुगिन् । मुलसामबाट बिहान सवेरै हिँडेपनि बच्चा पिठ्यूँमा बोकर आउँदा साँझ झण्डै ५ बजिसकेको थियो ।

उनी खाद्यान्न वितरण भएको स्थान घाट डिपोमा पुग्दै गर्दा जिल्ला सदरमुकामबाट लिएको खाद्यान्न चार गाविसका स्थानीयलाई प्रतिव्यक्ति पाँच किलोका दरले भागमा परेका देख्दा निरास मात्र भइनन्, आँखाबाट आँसु नै झारिन् । उनलाई लागेको थियो, सात महिनापछि पुगेको खाद्यान्न प्रतिव्यक्ति ३० किलोसम्म भाग पर्ला, त्यही खाद्यान्न लिएर चैतेदसैँ मनाउँला, तर कालीको मनको कुरा सपनामा मात्र भयो । उनको भागमा त्यही पाँच किलो चामल पनि परेन ढिला आएका कारण ।

उनी जस्तै नायकवाडा–९ धुमाका महेन्द्र चलाउने बिहान उठ्ने बित्तिकै चामल लिन हिँडेको बताउँदै भने, “हामी आउँदा सबै चामल वितरण भइसकेको रहेछ, खाली हात घर फर्कदै छु ।”

काली र महेन्द्र त प्रतिनिधिपात्र मात्र हुन् । दर्जन बढी स्थानीय सात महिनापछि आएको १५० क्विन्टल चामल अपुग भएपछि रित्तो हात फर्केका छन् ।

दिनभर हिँडेर बेलुका रित्तो हात फर्कदा रुष्ट भएका स्थानीयले संस्थानविरुद्ध नाराबाजीसमेत गरेका थिए । “न घरको काम भयो, न चामल नै पाइयो, हामीलाई दुःख दिने”– छिटो चामलको व्यवस्था गर्न माग गदै उनीहरुले भने । कसैले पाँच किलो चामल लिएर त कसैले रित्तो हात पर्कनु परेपछि उनीहरुले पैसा हालेर पनि खाद्यान्न पाउन नसक्ने भन्दै विलौना पोख्न पनि भ्याएका थिए ।

“पाँच हजारभन्दा बढी घरधुरी रहेको यहाँको बारेकोटमा वार्षिक खाद्यान्नको एक हजार कोटा निर्धारण गरिएको छ । यो कोटा एक तिहाइ परिवारलाई पुग्दैन”– आक्रोशित स्थानीय जनकबहादुर शाहीले भने, “औंसी, पूर्णिमामा टीका लगाउनका लागि मात्र सरकारले यो चामल पठाएको रहेछ ।”

उत्ता पश्चिमको दसेरा र पजारु गाविसका रहेका दुई वटा डिपोमा अहिलेसम्म एक गेडा चामल पुगेको छैन । ठेकेदारले खाद्यान्न ल्याउन सम्झौता गरेको पाँच महिना बित्तिसक्दा पनि यी दुई डिपोमा अहिलेसम्म खाद्यान्न नपुग्दा खाद्यान्न सङ्कट देखिएको हो । खाद्य संस्थान क्षेत्रीय कार्यालय नेपालगन्जबाट यी दुई डिपोमा चामल ढुवानी हुने गर्दछ ।

जिल्ला कार्यालयबाट पटकपटक ठेकेदारलाई आग्रह गरेपनि अहिले सम्पर्क हुन नसकेको बताउँदै शाखा प्रमुख धर्मबहादुर बस्नेतले भने, “ठेक्का रद्द गरी अर्को ठेकेदारलाई ढुवानीको जिम्मा दिने निष्कर्षमा पुगेका छौँ ।”

सदरमुकाममा चामल बिक्री नभएर गोदाममा थन्किएको छ । गाउँमा भने चामल नहुँदा स्थानीय हैरान भएका छन् । पुरानो अन्न सकिएको र नयाँ अन्न नभित्रिएका कारण खाद्य सङ्कट चुलिएको हो । यहाँका ग्रामीण क्षेत्र सडक सञ्जालले नछोएका कारण बजारमा सहजै खाद्यान्न पाउन मुस्किल रहेको छ ।

खच्चडमा ढुवानी गरिएको खाद्यान्न महँगोका कारण छोइसक्नु नभएको रामीडाडाँका दलबहादुर पुनले बताए । सामान्य गरिब परिवारले खाद्यान्न खरिद गर्न र परिवार पाल्नकै लागि भए पनि कमाइका लागि भारत जानुपर्ने बाध्यता रहेको पुनले थपे । भारतबाट कमाएर ल्याएको रकमले खाद्यान्न खरिद गर्नमा ठिक्क हुने भएकाले बालबच्चाको शिक्षादीक्षा र पारिवारिक समस्या हल गर्न नसकेको स्थानीयवासी नरबहादुर थापाले गुनासो गरे ।

जिल्लाको ३० हजारभन्दा बढी घरधुरीका लागि १० हजार खाद्यान्नको कोटा सरकारले निर्धारण गरेको छ । सदरमुकामको चामल बर्सेनि बिक्री नभएर थन्किने गरेको छ भने गाउँमा अक्षता बनाउने चामलसम्म नपाइने गरेको स्थानीयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप