शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चीनले नेपालमा सबैभन्दा अग्लो बुद्धमूर्ति बनाउने

आइतबार, १४ चैत २०७२, १८ : १८
आइतबार, १४ चैत २०७२

छन्दु (चीन)– चीनका निजी क्षेत्रका कम्पनीले नेपालको झापा दमकमा नेपालकै सबैभन्दा अग्लो बुद्धमूर्तिसहितको अन्तर्राष्ट्रिय सांस्कृतिक केन्द्र बनाउने इच्छा व्यक्त गरेका छन् ।

शनिबार छन्दुको जिनजियाङ होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुले सो प्रतिबद्धता व्यक्त गर्दै नेपालको भूकम्पपीडित जिल्लामा पुनःनिर्माण, पूर्वाधार निर्माण तथा पीडितका लागि रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न चाहेको बताएका हुन् ।

सो छलफलमा ती कम्पनीले पुनःनिर्माणमा सहयोग गर्न चाहेको र उनीहरुले सिचुवान प्रान्तको पुनःनिर्माण कोषमार्फत सो सहयोग गर्न चाहेको पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । सो कोषमार्फत नै सिचुवानको वेनचुवानमा पनि पुनःनिर्माण गरिएको उनले जानकारी दिए ।

यसअन्तर्गत विशेष आर्थिक क्षेत्र पनि स्थापना हुन सक्ने उनले बताए । सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल बुद्ध धर्मावलम्बीका लागि मक्का जस्तै भएकाले नेपालको दमकमा यस्तो मूर्ति बन्नु खुसीको कुरा हुने बताए ।

कार्यक्रममा सिचुवान पुनःनिर्माण कोषका निर्देशक वेन्वु देङ र उपनिर्देशक तियानलोङ याङले पनि सो प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैबीच, शनिबार नै प्रधानमन्त्री ओलीको उपस्थितिमा दमक क्लिन इण्डष्ट्रियल पार्कका सल्लाहकार भाष्करराज राजकर्णीकार र चीनको ग्लोबल एनजिओ युनियनका कार्यकारी अध्यक्षबीच दमकमा सो औद्योगिक स्थल निमार्णसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।

सो पार्क रतुवा र मावा नदीको किनारमा दुई सय विघा जमिनमा निर्माण गरिने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्रप्रसाद भण्डारीले बताए ।

सो अवसरमा सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज वैद्यले यो समझदारी छ महिनाको प्रयासपछि भएको र यसमा चीनबाट १७ करोड अमेरिकी डलर लगानी हुने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप