शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कालीगण्डकीमा लेदोसहितको पानी : अस्वभाविक रुपमा माछा मर्न थाले

सोमबार, १५ चैत २०७२, १९ : ५४
सोमबार, १५ चैत २०७२

म्याग्दी – म्याग्दीको नारच्याङ स्थित घलेम्दी खोलाको मुहानमा पहिरोले बनाएको तलाउ खुलेर लेदो बग्न थालेपछि कालीगण्डकी नदीका जलचर संकटमा परेका छन् ।

कालीगण्डकीको सहायक नदी घलेम्दीबाट शुक्रबारदेखि बग्न थालेको बाक्लो लेदोले माछा लगायतका जलचर मर्न थालेका हन् । लेदोका कारण घलेम्दी मिसीने मिस्त्री र कालीगण्डकीको नारच्याङ स्थित दोभानदेखि राहुघाटसम्मको तटीय क्षेत्रमा थुपै्र मरेका माछा भेटिएका छन् ।

लेदोले गर्दा माछाले बासस्थान छाडेर किनारमा लागेको र आहाराको अभावमा मर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । बैसरीका बासिन्दा भिमबहादुर कार्कीले २६ वर्षयता कालीगण्डकी किनारमा यसपाली सबैभन्दा धेरै माछा मरेको देखेको बताए । उनका अनुसार वि.स २०४६ मा कालीगण्डकीमा लेदो सहितको बाढी आउँदा पनि यसरीनै नदी किनारमा मरेका माछा भेटिएका थिए ।

शुक्रबार साँझ बाक्लो लेदो सहितको बाढी बग्दा कालीगण्डकीको सतह करिब दुई घण्टा बढेको थियो । सो समयमा छेउ लागेका माछाहरु मरेको अवस्थामा भेटिएको र अहिलेपनि लेदो बगिरहेकाले छेउछाउमा माछा मार्न जानेहरुले सजिलै भेटाउने गरेका छन् । एक किलोग्राम तौल भएको एउटै माछा भेटाएको बैसरीका भिमसेन केसीले बताए ।

कालीगण्डकीमा लेदो आएपछि शनिबार र आईतबार माछा छोप्नेको किनारमा दिनभरजसो भिड लागेको थियो । एकै जनाले ६५ किलोसम्म माछा छोपेर डोकोमा बोकेर लगेको घार ९ पोखरेबगरका खड्ग गिरीले बताए ।

धेरै माछा भेटिएकाले पहिले नौ सय रुपैया प्रतिकिलो पर्ने माछा अहिले मूल्य पाँच सय रुपैयामा झरेको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीका बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले नदी किनारमा अस्वभाविक रुपमा मरेका माछा भेटिनुका पछाडि विभिन्न कारण हुन सक्ने बताए ।

लेदोका कारणले गर्दा बिचमा बस्न नसकेर छेउ लागेको र त्यो अवस्थामा एक्कासी पानीको सतह घट्नाले अथवा कसैले बिष हालेको कारण नदी किनारमा यसरी माछा मरेको हुन सक्ने अधिकृत रिजालको भनाई छ । मरेको अवस्थामा भेटिएका माछा खानु स्वास्थ्यका हिसावले उपयुक्त नहुने उनको सुझाव छ ।

माछासंगै लेदोले पानीमा बस्ने अन्य जलचरहरु पनि प्रभावित भएका छन् । नदी किनार दुर्गन्धीत बनेको छ । यसले वातावरण चक्रमा पनि असर पार्न सक्ने खतरा रहेको छ । नारच्याङ गाविस १ मा पर्ने घलेम्दी खोलाको मुहानमा फागुन ११ गतेदेखि निरन्तर पहिरो खसिरहेको छ । मानवबस्तीदेखि टाढा र भौगोलिक रुपमा बिकट खोचमा खसेको पहिरोको अवस्थाको अहिलेसम्म अध्ययन हुन नसकेको नारच्याङ गाविसका सचिव दिर्घप्रसाद गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप