शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रामगोपालपुर पूर्ण सिँचित क्षेत्र घोषणा

सोमबार, १५ चैत २०७२, १८ : ५४
सोमबार, १५ चैत २०७२

महोत्तरी – सिँचाई मन्त्री उमेश कुमार यादवले आज (सोमवार) महोत्तरीका रामगोपालपुरलाई पूर्ण सिँचित क्षेत्र घोषणा गरेका छन् । हरेक किसानको हरेक खेतमा पानी पुर्याउने लक्ष्यका साथ उहाँले यो कार्यक्रम घोषणा गरेका हुन् । कुनै पनि किसान सिँचाईबाट बन्चित रहनु हुँदैन, पानी कहाँ पुगेको छैन, त्यसको अध्ययन गरि सम्पूर्ण ठाउँमा पुर्याउनुपर्ने सांसद लालेन्द्र मण्डलले बताए । ‘सप्तरीदेखि पर्सासम्मलाई पूर्ण सिँचित क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ । यो घोषणाका लागि मात्र घोषणा होइन, यसलाई सफल पार्नका लागि मन्त्रालयले विभिन्न योजना पनि ल्याइएको छ,’ मन्त्री यादवले जानकारी गराए । रामगोपालपुरमा स्यालो ट्युवेल, डिप बोर्डिगं, पोखरी, इनारलगायत अन्य के के स्रोतबाट सिँचाई योजना पुर्याउने ती सबै कार्य मन्त्रालयले गर्न तयार रहेको उनले घोषणा गरे । यहाँका लागि दुईसय स्यालो ट्युवेल चाहिने ठाउँमा पचासबटा स्यालो ट्युवेल तयारी अवस्थामा रहेको छ अरु पनि व्यवस्था गर्ने उनले प्रतिवद्धता जनाए । डिप बोर्डिगंको पनि माग आएको छ त्यो पनि प्रकृया पुर्याएर तत्कालै पुरा गर्ने घोषणा गरे । खेतीयोग्य जमिन प्रयाप्त भएपनि सिँचाईको व्यवस्था नभएको कारण भोकमरीको अवस्था रहेको बताउँदै मन्त्री यादवले ८० प्रतिशत किसान यो देशमा भएपनि २० अर्वको खद्यान्न निर्यान्त गर्न बाध्य भएको बताए । ‘यस्तो हुनुको कारण सिँचाई नै हो । किसानको खेतखेतमा सिँचाईको व्यवस्था पुग्यो भने नेपालका किसान अर्थात जनता कृषिमा आत्मनिर्भर भइन्छ,’ मन्त्री यादवले भने । वैज्ञानिक तथा व्यवसायीक कृषिको कुरा गरेर मात्र हुँदैन, त्यसका लागि किसानको हात हातमा सिँचाई पुग्नु पर्ने कुरामा उनले जोड दिए । चुरै विनाशका कारण तराई मधेशका नदी, नाला, पोखरी, इनार सुक्दै गइरहेको उल्लेख गर्दै उनले चुरे संरक्षणमा विशेष जोड दिए । उनले रामगोपालपुर सिँचित क्षेत्र घोषणा भइसकेपछि त्यसलाई कार्यान्वयनमा विशेष जोड दिन सम्बन्धित निकायले मञ्चबाट नै निर्देशन दिनुभयो । सिँचाईका लागि के के चाहिन्छ ती सबै साधन स्रोत रामगोपालपुरमा केन्द्रीत गर्न सिँचाई डिभिजन कार्यालयलाई निर्देशन दिए । विभिन्न नदी तथा आयोजनाको अनुगमन महोत्तरीका विभिन्न सिँचाई आयोजना तथा नदी नियन्त्रण कार्यक्रम र पोखरीलाई मन्त्री यादवले आजै अनुगमन गरे । विघही नदीमा विभिन्न ठाउँमा भएको कटानलाई नियन्त्रण गर्नुपर्ने भन्दै मन्त्री यादवले ती ठाउँहरुको अनुगमन गर्नुभयो र साथमा रहेका सिँचाईका कर्मचारीलाई ती ठाउँहरुमा अनियन्त्रित रहेका नदीलाई नियन्त्रण गर्न निर्देशन पनि दिए । विघही नदीको तीन ठाउँमा अनुगमन गरी त्यस्तो निर्देशन दिएका हुन् । मन्त्री यादवले विघही नदीको तटबन्धन यही आर्थिक वर्षमा पूरा हुने गरि कार्यलाई अगाडि बढाउने प्रतिवद्धता किसानसमक्ष राखे । जनताको तटबन्ध बनाउने कार्यक्रम अन्तर्गत दुई करोड रुपियाँ विनियोजन भएको कुराको जानकारी उनले सो अवसरमा गराए । उनले विघही नदीको साथै विभिन्न चार जिल्लाका सदरमुकाम बचाउ अभियान अन्तर्गत तटबन्ध कार्यक्रम सञ्चालन हुन लागेको भनि जानकारी गराए । त्यसका लागि पचास लाखदेखि एक करोडसम्मको बजेट विनियोजन रहेको बताए । साथै उनले विघही नदीमा निर्माणाधिन पिगौना विघही सिँचाई योजनाको पनि अवलोकन गरे । २३ करोड ७२ लाखको लगानीमा निर्माणाधिन सो योजनामा हालसम्म आठ करोड ७९ लाख खर्च भइसकेको महोत्तरी सिचाई डिभिजन प्रमुखले जानकारी गराउनु भयो । सो अवसरमा मन्त्री यादवले यो योजना छिटो पूरा गरी किसानलाई पानी पुर्याउन निर्देशन दिए । त्यसमा डिभिजन प्रमुखले असारमसान्तमा यो योजना पूरा हुने प्रतिवद्धता जनाउनु भएको थियो । त्यसैगरि, मन्त्री यादवले रामगोपालपुरको रजोखर पोखरी, सुतनियाँ पोखरी, औंकसी नदीको पनि अनुगमन गरे । विघही नदीको पानी फोरह भएकोमा चिन्ता विघही नदीमा फोहर पानी रहेकोप्रति मन्त्री यादवले चिन्ता व्यक्त गरे । यो पानीले मानवको स्वास्थयमा प्रत्यक्ष असर गर्ने भएकाले त्यसलाई सफा पार्न सम्बन्धित पक्षलाई आग्रह गरे । अनियन्त्रित रहेका नदीलाई नियन्त्रण गर्ने जिम्मा आफ्नो मन्त्रालयले गर्ने तर त्यसअघि यो नदी सफा हुनुपर्ने कुरामा उहाँले विशेष जोड दिए । महेन्द्रनगर पेपर मिल्सबाट निस्किने फोहर विघही नदीमा मिसिएको छ । त्यसले पुरै नदी फोहर भएको छ । पानी कालो भएको छ । यो पानीले मानवको स्वास्थ्यमा मात्र होइन, बालीनालीलाई पनि असर गर्नेछ । मिलबाट निस्किने फोहर नदीमा नमिसाउन त्यहाँका स्थानीयले धेरै लामो समयदेखि संघर्ष गर्दै आएका छन् । त्यसको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ । तर हालसम्म कुनै सुनुवाई भएको छैन । मन्त्री यादवले यस बारेमा आफूले पनि सम्बन्धित निकायसँग कुरा गर्ने प्रतिवद्धता गर्दै कसैले पनि मानवको स्वास्थ्यसँग खेलवार गर्न नमिले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप