शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हावाहुरीले गोरखकाली रबर उद्योगको चिम्नी भाँचियो

सोमबार, १५ चैत २०७२, १९ : १८
सोमबार, १५ चैत २०७२
गोरखा - हावाहुरीले गर्दा टायर उत्पादन गर्ने नेपालको एक मात्र गोरखकाली रबर उद्योगको धुवाँ फाल्ने चिम्नी भाँचिएको छ । गोरखाको मझुवा देउरालीमा रहेको उद्योगभित्र रहेको करिब ५० मिटर अग्लो चिम्नी आज दिउँसो आएको हावाहुरीले ढालेको हो । “पचास मिटर अग्लो चिम्नी हावाहुरीले भाँच्यो” उद्योगका मजदुर नेता इश्वर परियारले भने, “भूकम्पले हल्लाएर कमजोर भएको चिम्नी बेजोडको हावाले ढाल्यो ।” भूकम्पपछि बन्द रहेको गोरखकाली रबर उद्योग कच्चा पदार्थको अभावमा अझै बन्द छ । यहाँका २८० भन्दा बढी मजदुरले गत असोज महिनादेखि काम र पारिश्रमिक दुवै पाएका छैनन् । त्यस्तै हावाहुरीले उत्तरी गोरखाको लापु गाविसस्थित प्रभातकिरण माध्यामिक विद्यालयको टहरो उडाएपछि कक्षा ८ को आजको परीक्षा स्थगित गरिएको छ । हावाहुरीले टहराको जस्तापाता उडाएपछि नागरिक तथा नैतिक शिक्षा बिषयको परीक्षा स्थगित गर्नुपरेको विद्यालयका लेखा समितिका सदस्य सोमबहादुर गुरुङले टेलिफोनमा जानकारी दिनुभयो । हावाहुरीले जिल्लाका भूकम्पपीडितका टहराका साथै विद्यालयमा पनि क्षति पुगेको छ । हावाहुरी र असिनापानीले बारपाक, लाप्राक, घ्याच्चोक, सिम्जुङ, हंशपुर, मुच्चोक, छोप्राक, खोप्लाङ, लाप्राक, गुम्दा, लापु, उहिया, केरौंजा, काशीगाउँ, गोरखा नगरपालिकालगायत जिल्लाको अधिकांश क्षेत्रका भूकम्पपीडितको टहरा उडाएको छ । यस्तै असिनापानीले फलफूलका फूल झारेको किसानले गुनासो गरेका छन् । आँप, नासपाती, सुन्तलालगायत अन्य फलफूलको फूल झार्दा किसानलाई यसवर्ष घाटा लाग्ने देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप