शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हावाहुरीले केराखेतीमा ठूलो क्षति

मङ्गलबार, १६ चैत २०७२, १० : ३१
मङ्गलबार, १६ चैत २०७२
चितवन - चितवनमा सोमबार अपराह्न आएको हावाहुरीका कारण केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवनको रत्ननगरसँगै चैनपुर, पिठुवा, पदमपुरलगायत क्षेत्रमा रहेका केरा बगानमा हावाहुरीले ठूलो क्षति पु¥याएको चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । उनको आफ्नै केराबगानमा समेत क्षति पुगेको छ । चैनपुरमा रहेको नौ विगाहा क्षेत्रमा लगाएको केराको आधाभन्दा बढी ढलेर नष्ट भएको पन्तले बताए। अन्य दर्जनौँ केरा किसानले क्षति भएको भनेर जानकारी दिएकाले विवरण सङ्कलन हुन नसकेको उनले बताए । आज विवरण सङ्कलन गरिने पन्तको भनाइ छ । केरा व्यवसायीको बैठक बसी तथ्याङ्क सङ्कलनका लागि जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरेर आज अनुगमन गर्ने उनले बताए । केरा किसान यज्ञ सुवेदीले पनि आफ्नो नोक्सानी भएको बताए । चितवनको चैनपुरमा रहेको १२ विगाहाको प्लटमा करिब २÷३ हजार जति केरा ढलेको भन्दै उहाँले यो हावाहुरीले नराम्ररी प्रभावित पारेको बताए । जिल्लामा सबैभन्दा बढी केराखेती उनको छ । बर्सेनि यहाँ हावाहुरीले केरामा क्षति गर्दै आएको छ । छ वर्षअघि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत चितवनमा केराखेतीलाई प्रवद्र्धन गरिएपछि रु ६० करोड लगानी भइसकेको छ । जिल्लामा २०४७ सालदेखि केराखेती सुरु भएको थियो । २०५१ सालदेखि व्यावसायिक केराखेती सुुरु भएको चितवनमा पछिल्लो तथ्याङ्कमा दुई हजार २०० विगाहा जमिनमा खेती गरिएको छ । किसानले झापाली मालभोग र विलियम हाइब्रिड जातको केरा लगाउँदै आएका छन् । उत्पादित केरा काठमाडौँ, बुटवल, पोखरा र नारायणगढ बजारमा खपत हुन्छ । जिल्लामा रहेका केरा कृषकमध्ये १२० जनाले मात्रै बिमा गरेकाले बिमा नगर्नेले क्षतिपूर्ति पाउन सक्दैनन् र अघिल्लो वर्ष चितवनमा कुल ४४ हेक्टरमा रहेको केराखेती नोक्सान हुँदा रु दुई करोड ३८ लाख क्षति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप