शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कठिनै हुन्छ महिलाको सामाजिक अभियान

मङ्गलबार, १६ चैत २०७२, १२ : ०१
मङ्गलबार, १६ चैत २०७२

राममायाँ तामाङ(लामा) एक कुशल सामाजिक कार्यकर्ताको रुपमा चिनिन्छन् । विभिन्न कठिनाई र चुनौतीका झेल्दै उनले आफनो कामलाई अगाडि बढाएकी छिन् । गाउँमा शिक्षक पेशाबाट सामाजिक कार्यकर्ता रुपमा काम गर्दै आइरहेकी तामाङले आफ्नो कथा यसरी सुनाइन् ।

 

मादन कुँडारी गाविस–४ मा २०४३ सालमा जन्मेँ । गाउँको मध्यम वर्गिय परिवारकी छोरी हुँ । मैले २०५८ सालमा गाउँकै महेन्द्र माविबाट एसएलसी गरेँ । कात्तिके देउराली गाविसको प्रभा उमाविबाट २०६१ सालमा प्लस टु पास गरेँ । २०६४ मा चैतन्य क्याम्पस बनेपाबाट स्नातक र २०६७ मा महेन्द्ररत्न क्याम्पसबाट स्नाकोत्तर गरेँ । विद्यालयमा पढ्दा देखिनै कुनै न कुनै रुपमा समाज परिवर्तनको निम्ति लाग्नु पर्छ भन्ने लाग्थ्यो । क्याम्पस पढ्न जब म धुलिखेल आएँ, पढाईसँगै केही गरौँ भन्ने लाग्यो र नीजि विद्यालयमा पढाउन थालेँ । स्नातकतह पार गरेपछि भिमखोरीको एउटा सामुदायिक विद्यालयमा माध्यमिक शिक्षक भएर काम गर्न थालेँ । सामाजिक रुपान्तरणको निम्तिे एउटा विद्यालयको दायरा भन्दा अलि फराकिलो भएर सोच्नु पर्छ भन्ने लाग्यो । र त्यसै बेला देखि म नाङ्शाल एशोसिएसन नेपालसँग आवद्ध भएँ ।

शिक्षण पेशा भन्दा फराकिलो भएर सामजिक संस्थाबाट शिक्षा र बालबालिकाको क्षेत्रमा केही गरौँ भन्ने थियो । संस्थाको एक सिनियर सामाजिक परिचालकको रुपमा काम गर्न थालेँ । सुरुमा सामाजिक परिचालक हुँदै कार्यक्रम अधिकृत र हाल उक्त संस्थाद्धारा सञ्चालित बालसंवेदनशील सामाजिक सुरक्षा परियोजनाको कार्यक्रम संयोजक भएर काम गरेकी छु ।

विद्यालयको शिक्षक देखि सामाजिक कायकर्ता भएर बालबालिकाको जीवनमा र सिकाई परिवर्तनको निम्ति आठ वर्ष विताएँ । यस अवधिमा मैले पढेको,पढाएको समाज अनि भोगेको समाजभित्र केही भिन्नता पाएँ । मलाई सुरुदेखि नै सिकाइ, भोगाइ र प्रयोग सँगसँगै भयो भने आफूले सोचेजस्तो फल प्राप्त हुन्छ भन्ने लाग्दथ्यो । जुन पद र जिम्मेवारी बहन गरे सो अनुसार इमान्दार, लगनशिल र कर्तव्य निष्ठ भएर काम गर्नुपर्ने रहेछ भन्ने महशुस गरेको छु ।

अहिले सम्म मैले जे प्राप्त गरेँ त्यो मेरो इमान्दारिता, लगनशिलता र कर्तव्यनिष्ठताको परिणाम हो । जे मैले प्राप्त गरिनँ, त्यो पनि त्यसैको कारणले हो भन्ने अनुभूति भएको छ ।

समस्या–चुनौती

समस्या र चुनौती नै संघ संस्थाको अवसर हो । समस्यालाई समाधान गर्नको निम्ति र चूनौतीलाई पार लगाउन संघ–संस्थामा लाग्नु पर्छ । संस्थामा आन्तरिक सुशासन कायम गर्न नसक्दा कहिले काँही विभिन्न आरोप लाग्ने गर्दछ । वाह्य चुनौतीको हिसावले सरकारको तर्फबाट काम गर्नको अनुकुल कानुनी व्यवस्था छैन । पञ्चायत कालको ऐन बाट नै संघ संस्थाहरु परिचालित हुनु परेको छ । सामाजिक कार्यकर्ताको हिसावले पनि केहि प्रतिकुलता छन् । प्रतिकूल परिस्थितिसँग मुकाविला नगरी सफलता पाउन निकै गाह्रो हुन्छ ।

काम गर्दै जाँदा मानिसलाई जुनसुकै क्षेत्रमा पनि अलि–अलि सहजता, अलि–अलि असहजता वा समस्या तथा चुनौती त आइहाल्छ । त्यसबाट म पनि अछुतो रहिनँ वा म पनि त्यहीँ सेरोफेरोमा रमाएँ । र आज यो स्थानसम्म आइपुगेँ ।

मानिस समुदायमा रहन्छ । त्यहाँ विभिन्न वर्ग, सम्प्रदायका मानिस हुन्छन् । ती मानिसको सम्बन्धलाई बलियो र विश्वासिलो बनाउने कार्य कहाँ सहज र सजिलो छ र ? समाजका यस्ता समस्या तथा चुनौती चाहिँ सामाजिक क्षेत्रमा लाग्ने व्यक्तिहरुको निम्ति काम गर्नको लागि ठूलो अवसर पनि हो । सामाजिक क्षेत्रमा लाग्दा गुरु बन्न जति सजिलो हुन्छ, चेला बन्न साह्रै गाह्रो । सामाजिक क्षेत्रमा लागेका व्यक्ति समाज परिवर्तनको संवाहक हुन् ।

नर्स बन्ने सपना अधुरै

करिब म ९/१० कक्षातिर पढ्दै गर्दा चाहिँ मलाई लाग्ने गथ्र्यो एसएलसी सकेपछि नर्स पढ्छु । अनि भविष्यमा नर्स बन्छु । कुनै पनि सरकारी जागिर खान्छु । तर मेरो त्यो सपना अधुरो नै रह्यो । तर, अलि–अलि इच्छा चाहिँ सुरुदेखि नै थियो सामाजिक क्षेत्रमा लाग्ने । मसँग समाजका व्यक्तिहरुसँग बोल्न सक्ने अनि आफ्नो कुरा राख्न सक्ने सीप थियो ।

एउटा शिक्षक भन्दा अलि फराकिलो रुपमा समाजिक कार्यकर्ता बनेर काम गरौँ भन्ने इच्छ भयो । सन् २०१२ तिरको म त्यतिखेर धुलिखेलमा बस्थेँ । विहान सन्जीवनी कलेजमा अध्यापन गर्थेँ । दिउँसोको समय मेरो फुुर्सद थियो । त्यहीँ समयमा नै म नाङशाल एशोसिएसन नेपालमा आवद्ध भएँ ।

पहिला शिक्षक अहिले सामाजिक कार्यकर्ता

एउटा असल मान्छे निर्माणको निम्ति बाल्यकालमा अनुकुल वातावरण पाउनुपर्छ, जसलाई बाल अधिकार भन्ने गरिएको छ । मानिसको बाल्यकाल राम्रो बनाउन म समर्पित भएर लागेँ । शुरुमा शिक्षक भएँ, त्यस पछि शिक्षा र बालबालिकाको क्षेत्रमा सामाजिक कार्यकर्ता भएँ ।

मेरो पढाइको पृष्ठभूमि पनि शिक्षा र समाजसेवा नै थियो । अर्को कुरा शिक्षक भएर काम गर्दा पनि बालबालिका र शिक्षाकै निमित्त समय खर्चेको थिएँ । आफूले जे भोग्यो र भोगिराछ त्यसलाई सिकाइ र अभ्यासको रुपमा प्रयोग गर्ने क्षेत्र नै सामाजिक क्षेत्र हो भन्ठानेर यस क्षेत्रमा प्रवेश गरेँ ।

काम अझै वाँकी छ

हिजोको भन्दा केहि उदारता चाँही देखिन्छ, तर पनि समाज बदलिएको छैन । मानिस बदलिएका छैनन् । अलि बुझेका बुझ पचाउँछन् । महिलाको मानव अधिकारको निमित्त खटेको जस्तो लाग्छ, उनीहरुको वरीपरी नै महिला हिंसा, दुव्र्यवहारका घटनाहरु सुनिन्छन् । अर्को एउटै कुरा पुरुषले उठाउँदा र महिलाले उठाउँदामा दृष्टिकोण फरक छ ।

मेरो ठाउँमा काम गर्न मलाई भन्दा एउटा पुरुषलाई सजिलो हुन्थ्यो । मैले कार्यालयको सबै जिम्मेवारी बोकेर घरको पनि पूरै जिम्मेवारी बोक्नु पर्छ । पुरुष भएको भए भार कम पथ्र्यो । त्यसैले महिलालाई हरेक ठाउँमा सम्मान गर्न सिकौँ, महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याऔँ भनेर सबैलाई मेरो अनुरोध छ ।

पुरुषका व्यवहार

प्रायजसो सहयोगी भेटेकी छु । कुनै कुनै ठाउँमा चाहिँ मिचेर, हेपेर व्यवहार गर्नेहरु पनि पाइन्छन् । ती पुरुष मात्र नभई महिलाहरु पनि हुन्छन् । आफ्नो सिको गर्ने मान्छे पनि छन् । खुट्टा तान्ने मान्छे पनि छन् । जयजयकार गर्नेहरु पनि छन् हरेक पाइलामा खेदो गर्नेहरु पनि छन् । त्यसैले म मान्छेलाई राम्रोसँग चिनेर, बुझेर मात्र व्यवहार गर्छु । अन्य महिला दिदी बहिनीलाई पनि मेरो यही अनुरोध छ ।

केही पाउने केही गुमाउने

केही पाउन केही गुमाउनै पर्छ । सामाजिक क्षेत्रमा लाग्दा समाजको सहयोग, असहयोग, मान–सम्मान, अपमान, गाली, ताली सब थोक पाइन्छ । सुखको क्षण पनि आउँछ, दुःखको अनुभूति पनि हुन्छ । तर, सामाजिक क्षेत्रमा लाग्दा मैले के पाएँ भन्दा पनि म बाट समाजले के पायो, समाजमा के भयो भन्ने कुरा चाहिँ सबभन्दा महत्वपूर्ण ठान्छु ।

म आवद्ध भएको संस्थाको कारणले र मेरो कारणले समाजका केही पक्षहरुमा परिवर्तन देखिन्छ, ती परिवर्तन देख्दा मैले सन्तुष्टी पाएँ ।

मेहनत धेरै

सन्तुष्टि नै जीवनलाई डो¥याउने माध्यम हो नभए कसरी बाँचिरहनु ? मेहनत धेरै गर्नुपर्छ । थोरैले पुग्दैन । जोडदार खटिनुपर्छ । जुनसुकै परियोजनाको समयावधि चाहिँ ठ्याक्कै नतिजा ल्याउने बेलामा समाप्त हुँदा चाहिँ साह्रै दुःख लाग्छ । तर त्यतिमा चित्त बुझाउन बाध्य हुन्छ ।

विवाह पछिको कार्यक्षेत्र

मेरो विवाह महाभूकम्प गएको दिन २०७२ साल बैशाख १२ गते भएको हो । अब विवाह गरेको पनि १ वर्ष पुग्दै छ । यो क्षेत्रमा विवाह गर्नु अघिदेखि नै आवद्ध छु । घरपरिवारलाई मेरो कामको बारेमा जानकारी छ । भनेकी पनि छु ।

मेरो फुर्सद हुँदा विदाको समयमा घरपरिवारलाई समय दिइरहेको हुन्छु । अन्य समयमा घरव्यवहार तथा सन्चोविसन्चोको बारेमा फोनमा दिनहुँ कुराकानी भइरहन्छ । कतै फिल्डमा जानुछ भने अग्रिम जानकारी गरिरहन्छु जेहोस घरपरिवार र आफ्नो कामलाई समायोजन गर्दै अघि बढिरहेकी छु ।

यसमा मेरो घरपरिवारको पूर्ण साथ सहयोग पाएकी छु र साथीहरुको पनि । पछि पनि यस्तो साथ सहयोग पाइरहोस भन्न चाहन्छु ।

घरपरिवार र सहयात्री

आफ्नो पनि क्षमता विकास गर्दै कामको दायरा फराकिलो बनाउँदै समाजीक रुपान्तरणमा नै समर्पित हुने योजना छ ।

म जस्तै कयौँ महिला दिदीबहिनी सामाजिक क्षेत्रमा आवद्ध हुनुहुन्छ । समाजको सामाजिक परिवर्तनको लागि आवाज उठाइरहनु भएको छ । उहाँहरु सबैलाई महिलाको मानव अधिकारको निमित्त जस्तोसुकै बाधा–व्यावधान आइपरेपनि पछि नहटी अघि बढ्न अनुरोध गर्न चाहन्छु ।

(नाङ्शाल एशोसिएसन नेपाल, धुलिखेल, काभ्रेको बालसंवेदनशील सामाजिक सुरक्षा परियोजनामा कार्यक्रम संयोजक लामासँग राजकुमार गोलेले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप