शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गरिब भूकम्पपीडितको संघर्ष : पहिला अरुको घर अनि आफ्नो घर

मङ्गलबार, १६ चैत २०७२, १६ : ०६
मङ्गलबार, १६ चैत २०७२

काभ्रे– फलामेटार–४ का भूकम्पपीडित कान्छा लामा दम्पती गाउँमा घर भत्केपछि बोरा र पालले बेरेको छाप्रोमा बसेको छन् । तर उनीहरु अरुको घर बनाउने काममा लागेको झन्डै १० महिना भयो । वर्षा सुरु हुँने बेलासम्म आफ्ना घर बनाउने सपना लिएर उनीहरु बनेपा आएका थिए काम खोज्दै । लामा दम्पतीको दिनचार्य ढुंगा माटो, इट्टा बोक्ने र मसला घोल्दैमा बित्छ अचेल । एउटै सपना छ, आफ्नो पनि घर बनाउने । गत बैशाख १२ मा भूकम्पमा घर भत्केपछि उनीहरु नयाँ घर बनाउन चाहन्थे । तर, पैसा थिएन । सरकारी संयन्त्रबाट जाने सानो रकमले घर बन्न सम्भव थिएन । त्यसैले उनीहरु काम खोज्दै बनेपा आएका थिए । १० महिना बितेको पनि थाहा भएन लामा दम्पतीलाई । कान्छा र उनकी श्रीमतीले अरुको घर बनाउने र त्यसबाट कमाएको पैसाले गाउँमा गएर आफ्नै घर बनाउन रकम जुटाइ रहेका छन । शहरको विभिन्न ठाउँमा घर बनाउनका लागि मसला घोल्ने, ढुङ्गा ओसार्ने लगायतका काम गर्छन् । गाउँमा कमाउने काम नपाएपछि बिकल्पको रुपमा शहर आएर ज्यामी काम गरेको श्रीमती राधिका लामाले बताइन् । तर, ज्यालामा बुझ्दा कान्छाले ५ सय र उनकी श्रीमती राधिकाले ३ सय ५० रुपैयाँ पाउँछिन । काम समान भए पनि उनीहरुको ज्याला समान छैन । तर, उनीहरुको यसको विरोध पनि गर्दैनन्, चित्त बुझाउँछनन् । कसरी अलि अलि रकम जम्मा गर्ने र गाउँमा अरुको जस्तै घर बनाउने यही कुरा मात्र ध्यान दिन्छन् । दम्पतीले ज्याला मजदुरी गरेर कमाएको पैसा ९ महिनामा १ लाख ३० हजार भएको छ । यो पैसाले जस्ता र काठ किनेर गाउँमै एक तलको घर बनाउने योजना बुन्दैछन् उनीहरु । बैशाख पहिलो साता घर बनाउने काममा लाग्ने तयारी गरी रहेको उनीहरुले बताए ।

चरिकोट दोलखाका रमेश थामीले पनि घर बनाउनका लागि बनेपामा विगत ६ महिना अघिदेखि अरुको घर बनाउने काम गरिरहेका छन् । उनी मिस्त्रीको काम गर्छन । उनले दिनको १ हजार रुपैयाँ कमाउने गरेको बताए । उनलाई चैत्र १ गतेबाट पुननिर्माणको लागि राहत रकम वितरण भएको छ भन्ने समेत पत्तो छैन । उनी बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म काम गर्छन । उनलाई छिमेकी भाईपर्ने सोमबहादुर थामीले सघाउँछन् । उनी पनि भूकम्पपीडित नै हुन् । तर, सोमबाहदुरले दिनको ५ सय रुपैयाँ ज्याला पाउँछन । यी दुई बिचमा पनि ज्यालामा विभेद छ । उनी दुई जनाको सपना पनि कान्छा लामाको भन्दा कम छैन । बनेपामा अर्काेका घर बनाउने ठाउँमा श्रम पसिना बगाएर कमाएको पैसाले गाउँमा गएर चिटिक्को घर बनाउने सपना बुन्दैछन् । ‘के गर्ने हजुर, गाउँमा त्रिपालमुनि बास छ, दुःख गरेर भएपनि गाउँमा एक तले घर त बनाउनु पर्यो नि’ बिलौना सुनाउँदै उनले भने । समान काम, असमान ज्याला ‘महिला कति स्थानमा हेपिएका छन् भन्ने कुरा हामीले बुझेका थिएनाँै, तर अव विस्तारै हाम्रा आँखा खुलेका छन’ सदरमुकाम धुलिखेलको गल्ली भित्र बालुवा चाल्दै गरेको अवस्थामा भेटेकी ठोकर्पा–५ सिन्धुपाल्चोकका सानुमायाँ पहरीले भनिन्, ‘ज्याला मजदुरी गर्ने महिलामाथि अन्याय भएको छ । काम बराबर गरेछि पैसा पनि वरावर आउनुपर्ने हो ।’ ‘पुरूषले गर्ने सबै काम महिलाले पनि गर्न सक्छन् भने त्यही कामका लागि ज्याला भने किन थोरै ?’ धुलिखेलकी सम्झना श्रेष्ठ प्रश्न गर्छिन्, ‘महिलालाई ज्यालामा दुई सय देखि ३ सय मात्र दिन्छन् । तर त्यहीँ काम गर्दा पुरूषले तीन सय देखि ५ सयसम्म पाउँछन् ।’ पुरूषले घर निर्माणको काम गर्दा पाँच सय देखि एक हजार रुपैयाँ सम्म दैनिक पाउँदा महिलाले पनि बराबर रकम पाउनु पर्ने सम्झनाको माग छ । ग्रामिण क्षेत्रका प्राय पुरुषहरु वैदेशिक रोजगारिमा छन् । जसकारण महिलाले नै मजदुरका रुपमा काम गर्नु पर्छ । तर, असमान ज्यालाले महिलामाथी विभेद भइरहेको छ ।  

मानव अधिकारीकर्मी भोजराज तिमल्सिना पनि महिलाको जागरण र चेतनाको अभावका कारणले यो मुद्धा अगाडि आउन नसकेको बताउँछन् । ‘महिलालाई कुनै समितिमा बसौँ न भन्दा मान्दैनन् । उनीहरूमा ‘घरमा सोध्नुपर्छ’ भन्ने धारणा अझै पनि छ’ तिमल्सिना भन्छन्, ‘महिलामाथी हुने विभेदका कारण यिनै हुन् । महिलाले पनि आफ्नो तागत र जाँगर देखाएर लाग्नुपर्छ ।’

च्यासिङ्खर्क गाबिसमा सञ्चालित नागरिक सचेतना केन्द्रकी संयोजक उखु मायाँ तामाङले भने समान काममा समान ज्यालाको मुद्धालाई सचेतना केन्द्रको एक एजेन्डा बनाउने सोचमा रहेको बताउँछिन् । ‘असमान ज्यालााको मुद्धा गाविस क्षेत्रमा त्यति ठूलो भयानक नभए पनि समानताको सन्दर्भमा यसको अर्थ हुन्छ,’ उनी भन्छिन् । तर, कामको प्रकृति र सीप अनुसार ज्याला फरक हुनु सामान्य कुरा भएको कामीडाँडाकी टुल्की विकको तर्क छ । ‘ज्यालाको कुरा सीपसँग सम्बन्धित हुन्छ, महिला र पुरूषसँग होइन’ उनको भनाइ छ । स्थानीय निकायका अभियानकर्ता सिता लामाको भनाई छ, ‘स्थानीय निकायमा लैङ्गिक उत्तरदायी बजेटको अवधारणा पुगेको स्थानमा वडा नागरिक मञ्चको सक्रियतामा यस्ता समस्या समाधान भएका छन् ।’ समान काममा समान ज्यालाको सवाल लैगिक उत्तरदायी बजेटको रोजगारी अन्तर्गतको एक महत्वपूर्ण सूचक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप