शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्मचारी र घरधनीको मिलेमतोमा खानेपानीको मिटर रिडिङमा घोटाला

मङ्गलबार, १६ चैत २०७२, १६ : ४८
मङ्गलबार, १६ चैत २०७२

पोखरा - पोखरा सहरमा वितरण गरिएको खानेपानीको मिटर रिडिङमा घोटाला हुने गरेको रहस्य खुलेको छ । घर धनी र कर्मचारीको मिलेमतोमा सो रकम घोटाला हुने गरेको रहस्य खुलेको हो । खानेपानी संस्थान पोखरामा रहेका ४० जना कर्मचारी मध्ये फिल्डमा हिड्ने प्राविधीक कर्मचारीहरुले घर धनीहरुसँग मिलेर पैसा असुल्ने गरेको स्वयं घरधनीहरुको भनाई छ । संस्थानको एक घर एक धारा नीति भएपनि संस्थानका कर्मचारीहरुले चोरी धारा बाँडेर रकम खाँदै आएका छन्, जुन कुरा संस्थानले थाहा नै पाउँदैन । जसको कारण नेपाल खानेपानी संस्थानलाई मासिक लाखौं रुपैयाँ राजश्व घाटा हुने गरेको श्रोतले वताएको छ । पोखराका ठूला होटल र पहुँचवाला प्रशासनिक प्रमुखहरुका घरमा यस्ता चोरी धारा प्रयोगमा रहेका छन् । अझ केही स्थानमा त प्राविधीकहरुले घरधनी सँग मिलेर औषत मिटर लगाएर पैसा खाने गरेका छन् । प्रत्येक ग्राहकले मासिक १० हजार लिटर पानी निःशुल्क पाउने नियम छ भने त्यो भन्दा माथि पानी प्रयोग गर्ने ग्राहकले प्रति युनिटको रु २५ रुपैयाँ तिर्नु पर्ने नियम छ । तर प्राविधीकहरुले मिसमास पारेर घरधनी सँग मिलेर पानीमा गोलमाल गर्दै आएको उपभोक्ताहरुको दावी छ । पोखराका घरहरुमा वितरण गरिएको पानीको धारा नजिकै प्वाल पारेर संस्थानका प्राविधीक कर्मचारी र घर धनीले सो चोरी धाराको पानी प्रयोग गर्दै आएको वताईएको छ । पोखराको न्यूरोड र लेकसाईड क्षेत्रमा यस्ता चोरी धारा धेरै भएको संस्थान श्रोतको दावी छ । ती प्राविधीकहरुले धारा होल्ड गरेर प्वाल पार्ने र थप धारो घरधनी सँग मिलेर राख्न लगाउने गरेका छन् । उनीहरुले थप धारा राखिदिए वापत घरधनी सँग मासिक रकम उठाएर लिने गरेको वताईन्छ । तर यो कुरा खानेपानी संस्थानले थाहा पाउँदैन । फिल्डमा हिड्ने कर्मचारी र घर धनी मिलेपछि कसैले यो कुराको पत्तो समेत नपाउने श्रोतको दावी छ । ग्राहकको घरमा भएको एउटा धाराको मात्र मिटर काउण्ट गर्ने र अर्को थप धारोको मिटर काउण्ट नगरी खानेपानी संस्थानका प्राविधीक कर्मचारीले घरधनी सँग रकम खान थालेपछि पोखराको पानी वितरणमा समेत समस्या आएको छ । घरधनी सँग मिलेर रकम खाने प्राविधीकका वारेमा गुनासो आएपनि कसले कति खान्छ भन्ने कुरा ठ्याक्कै नआउँदा कारवाहीमा समस्या भएको नेपाल खानेपानी संस्थान पोखराका प्रमुख निरण महर्जनले वताए । उनले भने— “हामी पनि वदमासी गर्ने कर्मचारीको खोजीमा छौं दिने र लिने मिलेको भन्ने सुनिन्छ, थाहा पाउने वित्तिकै कारवाही गर्छौ ।” खानेपानी संस्थानले पानी जम्मा हुने ट्याङ्कीमा हप्तै विच्छे पोटास हाल्न चौकीदार घटाएको छ । तर पोटास हाल्ने कर्मचारीले समेत ट्याङ्कीमा पोटास नहालिदिँदा पोखराको पानी अशुद्ध रहने पाइएको छ । पोखरा सहरमा खानेपानी संस्थानले ३४ हजार धारा वितरण गरेको छ । ती वितरण गरिएका धारा मध्ये १ इन्चीका धाराको यहाँ गणना हुँदैन अर्थात ती धाराहरु अहिले हराएका छन् । जसमा विन्ध्यवासिनी शाखाले १२ हजार र पार्दी शाखाले २४ हजार धारा वितरण गरेको छ । प्रति घरले एक धारा जडान गर्दा खानेपानी संस्थानले दूरी हेरी न्यूनतम ४२ सयदेखि ३० हजार र सो भन्दा वढी रकम लिएर घरमा धारा जडान गर्दै आएको छ । यता संस्थानले वितरण गरेको मिटर समेत कम गुणस्तरको भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । संस्थानले वितरण गरेको मिटरको प्रति इकाई लागत २ हजार रहेको छ । जुन मिटर सामान्य धमिलो पानी आउने वित्तिकै विग्रने गरेको छ । संस्थानको केन्द्रीय कार्यालयले नै तोके वमोजिम सो रकम लिने गरिएको प्रमुख महर्जनले वताए । तर वजारमा सोही मिटरको मूल्य जम्मा १२ सय मात्र पर्ने गरेको व्यवसायीहरुको भनाई छ । वजारमा गुणस्तर र सस्तो मिटर पाईन्छ तर संस्थानले आफै मिटर विक्री गरेर एकधिकार लादेको छ पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत रहेका दीलिपराज श्रेष्ठले भने । वजारमा क्रान्ति, ग्लोवल, धरान र एमीको लगायतका कम्पनीका पानीका मिटरहरु पाईने भएपनि संस्थानले अर्कै कम्पनीको महंगो मिटर किन्न ग्राहकलाई वाध्य पार्दै आएको व्यवसायीहरुको भनाई छ । पोखराका पानीको मुख्य श्रोत मर्दी खोला हो । त्यसैगरी अर्मलाको कालीमूढा र प्रर्याङको वालधारा पनि यहाँको पानी आपूर्तिका श्रोतहरु हुन् । हिउँदको समयमा पानीका श्रोत सुक्दै जाँदा पानी कम हुन्छ भने प्राविधीक र घरधनी मिलेर पानी दूरुपयोग र चोरी गर्दा अर्को समस्या आउने गरेको छ । पोखरामा हाल दैनिक ३ करोड ५० लाख लिटर पानी आपूर्ति हुँदै आएको छ । तर यहाँको आपूर्तिको लागि दैनिक ४ करोड ५० लाख लिटर पानी आवस्यक रहेको छ । पोखरामा अझै १ करोड लिटर पानी अभाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप