शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आर्थिक विकासका लागि विज्ञान र प्रविधि सहयोगी क्षेत्र – प्रधानमन्त्री ओली

मङ्गलबार, १६ चैत २०७२, १९ : २७
मङ्गलबार, १६ चैत २०७२

काठमाडौँ - मौसममा आएको तीव्र परिवर्तनले जैविक विविधतामा पारेको असरमाथि विज्ञान र प्रविधिसम्बन्धी सातौँ राष्ट्रिय सम्मेलनमा चिन्ता व्यक्त गरिएको छ ।

‘विकासशील देश नेपालको स्तरोन्नतिका लागि विज्ञान प्रविधि तथा अन्वेषणको भूमिका’ भन्ने नाराका साथ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट०ले काठमाडौँमा आयोजना गरेको तीनदिने सो सम्मेलनमा सहभागी वक्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

सम्मेलन शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकासका लागि विज्ञान र प्रविधि सहयोगी क्षेत्र भएको बताए ।

आर्थिक र प्राविधिक क्षेत्रमा विश्वका थुप्रै मुलुक निकै अघि बढेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यो बाटोमा विकासोन्मुख मुलुकले छिटो पाइला अघि बढाउनुपर्ने अन्यथा विकासमा पछि पर्ने बताए ।

यो सम्मेलनका निचोड प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले वैज्ञानिक तथा प्राविधिक क्षेत्रको विकासलाई प्राथमिकता दिन सरकार तयार रहेको बताए ।

गत वैशाख १२ गतेको भूकम्पले बिगारेका संरचनाहरुको पुनःनिर्माणको कार्य प्रारम्भ गरिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भूकम्पपछि गर्नुपर्ने काममा पनि सम्मेलनबाट सुझाव आउने आशा व्यक्त गरे ।

विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले आर्थिक विकासमा विज्ञान र प्रविधिको ठूलो भूमिका रहेको र नेपाल सरकारले पनि यसको विकासमा जोड दिएको बताए ।

नास्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले जलवायु परिवर्तनको विषय जटिल र सबैको चासोको विषय बन्ने गरेको बताउँदै त्यसविरुद्ध सामूहिक प्रयत्न हुनुपर्ने धारणा व्यक्त गरे ।

नास्टका प्राज्ञ प्रा डा गोविन्दराज पोखरेलले मुलुकमा जैविक विविधता, पर्यटकमैत्री हावापानी, कृषिको प्रचुर सम्भावना र सहज लगानीको वातावरणले एकअर्काप्रतिको अन्तरसम्बन्धलाई स्थापित गरेको बताए ।

एसियाका प्राज्ञ तथा वैज्ञानिकहरुको संस्था –एएएसएसए) का अध्यक्ष प्रा किशनलालले मौसममा भएको तीव्र परिवर्तनले पारेको असरबारे चर्चा गर्दै नेपालले पनि विज्ञान र प्रविधिको क्षेत्रमा राम्रो प्रगति हासिल गरेको बताए ।

भारतस्थित जवाहरलाल नेहरु वैज्ञानिक अनुसन्धान केन्द्रका प्रा डा सिएनआर राओले विकासोन्मुख मुलुक नेपाल विकसित मुलुक भएको हेर्न चाहेको बताए ।

चीन विज्ञान प्रतिष्ठानका अध्यक्ष प्रो डा बाइचुनलीले नेपाल र चीनबीच विज्ञान र प्रविधिले पनि सम्बन्ध मजबुत बनाएको बताए ।

प्रधानमन्त्री ओलीले भारतका वैज्ञानिक प्रा डा राओ र चिनियाँ वैज्ञानिक प्रा डा बाइचुनलीलाई सम्मान गरेका थिए ।

देशभरबाट करिब एक हजार वैज्ञानिक÷प्रविधिज्ञले भाग लिइरहेको यो सम्मेलनमा १७ राष्ट्रका वैज्ञानिकको सहभागिता रहेको छ । सम्मेलनमा ६०० वटा वैज्ञानिक÷प्राविधिक कार्यपत्रमाथि छलफल हुने बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप