स्वीट्जरल्यान्डकी डाक्टरले बाबुको डायरीमा जाजरकोट देखेपछि...
जाजरकोट– साठी वर्षअघि जाजरकोट आएका बेला विश्व चर्चित लेखक तथा भूगर्भविद् टोनी हेगनले आफ्नो डायरीमा यहाँका जनताले भोगिरहेका समस्याको विषयमा लेखेको देखेपछि उनकी छोरी अहिले डाक्टरका साथ जाजरकोट पुगेकी छिन् ।
हेगनले डायरीमा लेखेका थिए– “जाजरकोट गरिब छ, जनता विपन्न छन्, स्वास्थ्य र शैक्षिक अवस्था निकै कमजोर छ, यसैले यहाँको विकासका लागि सडक अनिवार्य छ, सडकमात्र भएर हुँदैन, गाडी पुगेपछि गाडीले सहरसम्म लैजाने उत्पादन पनि जाजरकोटीले गर्नुपर्छ ।”
जाजरकोटबाट काठमाडौँ हुँदै आफ्नो देश स्वीट्जरल्यान्ड फर्किएपछि उनले छोराछोरीलाई आफूले देखेको दुःख वर्णन गरेको उनकी छोरीले बताइन् । उनले छोराछोरीसँग भनेका थिए– “प्रकृतिले जाजरकोटलाई सुन्दर बनाएको छ, जाजरकोटका जनता मिलनसार छन् तर, विकास र भूगोलले उनीहरूको प्रगतिमा ठगेको छ, त्यसैले हामीले उनीहरूका लागि केही गर्नुपर्छ” । बुबा टोनी हेगनको मुखबाट यो कुरा सुनेको ५० वर्षपछि उनकी छोरी क्यार्थिन बुबाको इच्छा पूरा गर्न जाजरकोट आइपुगेकी हुन् । आफ्नै संस्थाको सहयोगमा पाँचदिने हाडजोर्नी तथा नसासम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्न हेगनपुत्री क्यार्थिन शुक्रबार जाजरकोट आएकी हुन् ।
क्यार्थिन हाडजोर्नी तथा नसा रोग विशेषज्ञ हुन् । हाडजोर्नी र नसा विज्ञ छ नेपाली चिकित्सकसहित १८ जनाको टोली लिएर क्यार्थिन जाजरकोट आएकी छन् । उनको टोलीले बिरामीको उपचार गरिरहेको छ । क्यार्थिनले जाजरकोट आएर बुबाको इच्छा पूरा गर्न सकेकामा निकै खुसी लागेको बताइन् ।
“म स्वीट्जरल्यान्डमा हुँदा बुबाले यहाँकाबारेमा धेरै कुरा बताएका थिए । जाजरकोटका लागि केही गर्ने इच्छा छ भन्थे– “त्यसैले उनको इच्छा पूरा गर्न यहाँ आएकी हुँ ।” शुक्रबार शिविर उद्घाटनका क्रममा उनले भनिन् । चार वर्षअघि आफूले सुरु गरेको मेड सोलुसन्स फाउन्डेसन नामक संस्थाको आर्थिक सहयोगमा शिविर चलाउन उनी जाजरकोट आएकी हुन् ।
क्यार्थिनले उनका बुबाले वर्णन गरे जस्तै जाजरकोट सुन्दर रहेको बताइन् । अहिलेसम्म तीन पटक नेपाल आएकी क्यार्थिन पहिलो पटक सानी छँदा बुबासँग आएको स्मरण गर्छिन् ।
मेड सोलुसन्स फाउन्डेसनको सहयोगमा जिल्ला अस्पतालमा मङ्गलबारसम्म सञ्चालन हुने शिविरमा ७० जना हाडजोर्नी तथा नसा बिरामीको शल्यक्रिया गरिनेछ । दुई हजारभन्दा बढीलाई विभिन्न प्रकारको औषधि तथा परामर्श सेवा उपलब्ध गराउने कायक्रम रहेको नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, काठमाडौँका निर्देशक राजेश महर्जनले जानकारी दिए ।
सकेसम्म जिल्लामै शल्यक्रिया वा अन्य उपचार गरेर हाडजोर्नी तथा नसा रोगीलाई निको पार्ने नभए काठमाडौँ लगेर भए पनि निःशुल्क उपचार व्यवस्था मिलाइने उहाँले जानकारी दिए ।
शिविरको पूरै खर्च हेगन पुत्री क्यार्थिन संस्था मेड सोलुसन्स फाउन्डेसन, स्वीट्जरल्यान्डले व्यहोर्ने छ । शिविर खर्च रु २९ लाख हुने अनुमान छ ।
रोटरी इन्टरनेसनलले पनि केही सहयोग उपलब्ध गराएको निर्देशक महर्जनले बताए । शिविरबाट जाजरकोट, रुकुम, सल्यान, सुर्खेत र डोल्पा जिल्लाका बिरामी लाभान्वित हुने यो कार्यक्रममा समन्वय गरिरहेको संस्था पाँच तारा युवा संरक्षक मञ्च अध्यक्ष छवि पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : पार्टीमा मिल्ने सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण