मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
सारांश
- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाउने बताएका छन्।
- उनले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गुणस्तरीय वन संरक्षणलाई प्राथमिकता दिनुपर्ने र प्रभावित नागरिकलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिए।
- थापाले राजनीतिक दलहरू ठुला मुद्दामा केन्द्रित हुँदा नागरिकका दैनिक जीवनसँग जोडिएका यस्ता विषयले प्राथमिकता नपाएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्यूनीकरणका लागि तीनै तहका सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गर्न जरुरी रहेको बताएका छन्।
शुक्रबार पार्टी मुख्यालय सानेपामा पार्टीको नीति प्रतिष्ठानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनको लागि पार्टीले तीन तहको सरकारको लागि स्पष्ट कार्ययोजना बनाई प्रदेश र स्थानीय तहमा पठाउने समेत बताए।
उनले प्रदेश तथा स्थानीय तहमा नेपाली कांग्रेसको नेतृत्व वा प्रतिनिधित्व रहेकाले कार्ययोजना कार्यान्वयनमा समस्या नहुने तथा सङ्घीय सरकारसमक्ष पनि पार्टीका सांसदमार्फत ध्यानाकर्षण गराउने बताए ।
थापाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गुणस्तरीय वन संरक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । उनले वन्यजन्तुबाट प्रभावित नागरिकलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने विषयमा पनि ठोस छलफल आवश्यक रहेको बताए।
उनले भने, ‘मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्यूनीकरणको लागि कुन तहको सरकारले के गर्न सक्छ ? भन्ने विषयमा कार्ययोजना तयार गरौँ । हामीले अरूले गर्नुपर्छ भनेर मात्र हुँदैन । आफैँले पनि गर्नुपर्छ । प्रदेश तथा स्थानीय तहमा नेपाली कांग्रेसको सरकार तथा प्रतिनिधि भएको कारणले त्यसको कार्यान्वयनमा समस्या हुँदैन । सङ्घीय सरकारको सन्दर्भमा माननीय साथीहरूमार्फत कुराहरू पुर्याउँछाैँ। खासगरी मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनको लागि हामीले गुणस्तरीय वनको संरक्षण गर्न आवश्यक छ । साथै वन्यजन्तु प्रभावित नागरिकलाई राहत र क्षतिपूर्ति कसरी दिन सकिन्छ ? भन्ने विषयमा पनि छलफल गर्नुपर्छ । यस विषयमा हामी एउटा डकुमेन्ट नै बनाएर स्थानीय र प्रदेश सरकारलाई पठाउँछौँ । यस्ता नागरिकले झेलिरहेका विषयहरू राजनीतिक दलले हल गर्नुपर्छ भन्ने हामी ठान्छौँ । तर राजनीतिक दलका कार्यालयहरूमा यी विषयहरूले कहिल्यै पनि प्रवेश पाउँदैनन् किनभने हामी ठुला ठुला विषयहरूमा अल्मलिएका हुन्छौँ ।’
सभापति थापाले राजनीतिक दलहरू ठुला राजनीतिक मुद्दामा केन्द्रित हुँदा नागरिकका दैनिक जीवनसँग जोडिएका यस्ता विषयले पर्याप्त प्राथमिकता नपाएकोतर्फ सबै गम्भीर हुनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण