शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?

शुक्रबार, ०१ साउन २०८३, १९ : ३१
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार कहाँबाट सञ्चालन भइरहेको हो भन्ने नै थाहा नभएको बताएका छन् ।
  • उनले सरकारका गतिविधि संसदीय मर्यादा, लोकतान्त्रिक अभ्यास र सुशासनसँग मेल नखाएको भन्दै सरकार सञ्चालकबारे प्रश्न उठाए ।
  • आङ्देम्बेले संवैधानिक परिषद्सम्बन्धी निर्णय, संसद् छलेर अध्यादेश ल्याइएको विषय, सुकुमबासी हटाउने प्रक्रिया, भूमिहीन व्यवस्थापनमा देखिएको उदासीनता तथा संवैधानिक परिषद्को बहुमत गणनामा अपनाइएको शैलीलाई सरकारको राजनीतिक उछृङ्लताको उदाहरणका रूपमा प्रस्तुत गरे ।

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार कहाँबाट सञ्चालन भइरहेको हो भन्ने नै थाहा नभएको बताएका छन् ।

बागलुङको बिहुँमा शुक्रबार कांग्रेसका पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको प्रथम पुण्यतिथिका अवसरमा आयोजित स्मृति सभा तथा पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै आङ्देम्बेले सरकारका गतिविधि संसदीय मर्यादा, लोकतान्त्रिक अभ्यास र सुशासनसँग मेल नखाएको भन्दै सरकार सञ्चालकबारे प्रश्न उठाए ।

सरकारले परिणाम दिने काम गरे कांग्रेस सधैँ सहकार्य गर्न तयार रहेको दोहोर्‍याउँदै उनले वर्तमान प्रतिपक्ष विगतजस्तो सत्ता प्राप्तिका लागि मात्रै विरोध गर्ने पक्षमा नरहेको बताए ।

‘अहिले सरकारलाई राम राम भनेको तर काँध हाल्न सकिँदैन भनेर सचेत गराएको पनि छौँ । थाहा छैन कहाँबाट सञ्चालित हुँदैछ,’ उनले भने, ‘उहाँहरूको जति पनि क्रियाकलाप हामीले हेरिरहेका छौँ, न यो संसदीय मर्यादासँग मेल खान्छ, न विकास निर्माणको हिसाबले गतिलो देखिएको छ न उहाँहरूकै सङ्गठनको आँखाले हेर्दा पनि मेल खान्छ ।’

उनले मुलुक सञ्चालनमा सरकारको कार्यशैलीले गम्भीर चिन्ता उत्पन्न गरेको पनि बताए । कतै देश सङ्कटको भड्खालोमा त हाल्ने होइन ? कांग्रेसले जिम्मेवारपूर्वक सोचिरहेको पनि बताए ।

‘चौतर्फी एउटा बचपना भएर मुलुक हाँकेको जस्तो देखिएको छ । यसले गर्दा मुलुकलाई कहीँ भड्खालोमा हाल्छ कि ? नेपाली कांग्रेसले थप जिम्मेवार भएर सोचिरहेको छ,’ उनले भने ।

आङ्देम्बेले संवैधानिक परिषद्सम्बन्धी निर्णय, संसद् छलेर अध्यादेश ल्याइएको विषय, सुकुमबासी हटाउने प्रक्रिया, भूमिहीन व्यवस्थापनमा देखिएको उदासीनता तथा संवैधानिक परिषद्को बहुमत गणनामा अपनाइएको शैलीलाई सरकारको राजनीतिक उछृङ्लताको उदाहरणका रूपमा प्रस्तुत गरे ।

ती सबै विषयमा कांग्रेसले संसद्‌भित्र निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै सरकार आफ्नै पार्टीका सांसदहरूको आलोचनासमेत खेपिरहेको दाबी गरे ।

सरकारले सय दिनमा गर्ने भनेका शासकीय सुधारका प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै आङ्देम्बेले जनताले नयाँ परिवर्तनको आशामा दिएको विश्वास कमजोर बन्दै गएको बताए।

‘उहाँहरूले सय दिनमा गर्ने भनेको शासकीय सुधारको १०० सूचीको काम पानीको फोकाजस्तै प्वाट्ट प्वाट्ट फुटेको ७७ वटै जिल्लाका नेपालीले देखिरहनुभएको छ,’ उनले भने।

सरकारलाई अझै पनि आफ्नो कार्यशैली सच्याउने अवसर रहेको भन्दै आङ्देम्बेले कांग्रेसले सत्ता परिवर्तनका लागि नभई जनताले दिएको विश्वास जोगाउन सरकारलाई बारम्बार सचेत गराइरहेको बताए।

‘जनताले दिएको विश्वास खण्डीकृत नहोस् । त्यो जनताको विश्वासलाई सम्मान गर्नुहोस् भनेर यत्तिका धेरै पीडाबोध हुँदा पनि यो सरकारलाई हामीहरूले भनिरहेका छौँ,’ उनले भने।

सरकारले न संसद्लाई मर्यादित बनाउन सकेको, न जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सकेको र न राजनीतिक सहकार्यको वातावरण बनाउन सकेको आरोप लगाउँदै आङ्देम्बेले अन्त्यमा सरकारको कार्यशैलीप्रति कटाक्ष गरे।

‘यस्तो लागेको छ कि मानौँ केटाकेटी आएर गुलेली चलाएको छ र काम कुरो केही भएको छैन, मात्रै मट्याङग्राको नास भएको जस्तो परिणाम दिएको छ,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप