शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘रेडियो नेपाल भरपर्दो र विश्वसनीय प्रसारण संस्था’ : सञ्चारमन्त्री

शनिबार, २० चैत २०७२, १७ : १६
शनिबार, २० चैत २०७२

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जनता समक्ष निरन्तर रुपमा सूचना, समाचार र मनोरञ्जन लगायत महत्वपूर्ण प्रसारण गर्ने क्रममा गौरवमय इतिहास बोकेको रेडियो नेपालले बेग्लै पहिचान र छवि राख्न सफल भएको बताएका छन् ।

रेडियो नेपालको ६६ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले भने– “राज्य र जनताको बीचमा निरन्तर रुपमा पुलको काम गर्दै भरपर्दो र विश्वसनीय एक मात्र प्रसारण संस्थाको हैसियतले रेडियो नेपालले खेल्दै आएको भूमिका अत्यन्तै प्रशंसनीय छ ।”

जेठो एवम् भरपर्दो प्रसारण संस्थाको हैसियतमा मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा जनताको चाहना र भावनासँगै जोडेर रेडियो नेपालले आफूलाई समयानुकूल परिष्कृत र परिमार्जित गर्दै आएको बताउँदै मन्त्री राईले भने– “संविधान जारी भइसकेपछि संविधानको आत्मालाई बोध गरेर त्यसका विशेषता र मर्म जनसमक्ष पु¥याउन तथा भूकम्पले क्षतविक्षत भएको अवस्थामा राहत, उद्धार र पुनःस्थापनाको सन्दर्भमा यसले गरेको सेवाको मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु ।”

नेपालको संविधानले सबै खाले विभेद र असमानताको खाडललाई पुर्ने काम गरेको तथा मुलुक स्थिरता, शान्ति, समृद्धि र सुशासनको चरणमा प्रवेश गरेको हुँदा संविधानका अन्तर्वस्तु, आत्मा र विशेषतालाई बुझेर सबैलाई एकताबद्ध तुल्याउने काममा रेडियो नेपाल उभिनुपर्नेमा उनले जोड दिए । मन्त्री राईले नेपालको परिचयका रुपमा रहेको विविधतालाई थप बलियो तुल्याउनेतर्फ हेक्का राख्न पनि सुझाव दिए ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष दिनेशकुमार थपलियाले रेडियो नेपाललाई सामाजिक सद्भाव कायम राख्ने, एकताबद्ध तुल्याउने र विकासलाई अघि बढाउने सन्दर्भमा सबैको पथप्रदर्शक र भरोसा गर्ने संस्थाका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सूचना, समाचार र मनोरञ्जनका माध्यमबाट स्वदेश र विदेशका लाखौँ स्रोतालाई एकताबद्ध तुल्याउँदै उनीहरुकै भावनालाई बुझेर रेडियो नेपालले समयानुकूल कार्यक्रमलाई परिमार्जित तुल्याउँदै आएको छ भने । नायब कार्यकारी निर्देशक धनेन्द्र विमलले रेडियो नेपाल नवीनतम सुधारको अभियानमा जुटेको जानकारी दिए ।

राणाशासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै २००८ साल चैत २० गते प्रारम्भ भएको रेडियो नेपालबाट अहिले १७ भाषामा विभिन्न कार्यक्रम तथा २१ भाषामा समाचार प्रसारण हुँदै आएको छ । गत वैशाखको भूकम्पबाट एफएम स्टेसनहरु सञ्चालनमा आउन नसकेको अवस्थामा नेपाली जनताबीचमा रेडियो नेपालले उद्धार, राहत र पुनःनिर्माणमा गरेको योगदानको सबै क्षेत्रबाट प्रशंसा भएको थियो ।

सरकारले रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको योगदानको कदर गर्दै विराटनगरमा उनको सम्झनामा स्मृति ग्राम निर्माण गर्ने घोषणा गरिसकेको छ । सो अवसरमा रेडियो नेपालले गीत रचना, गायन र सङ्गीत तथा रेडियो प्रसारणका क्षेत्रमा महत्वपूर्ण योगदान दिने अग्रजको सम्मान कार्यको यस वर्षदेखि थालनी गर्दै स्वरकिन्नरी तारादेवीलाई मरणोपरान्त र रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमाललाई ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरियो ।

तारादेवीलाई प्रदान गरिएको सम्मान उनका छोरा रवि श्रेष्ठ तथा रिमाललाई प्रदान गरिएको सम्मान उनकी धर्मपत्नी कल्याणीलाई प्रदान गरिएको थियो । प्रत्येक वर्ष दुई जनालाई दिइने सो सम्मान रु ५१ हजार राशि र ताम्रपत्र सहितको छ ।

रेडियो नेपालको वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी आधुनिक गीत सम्मेलनमा विजयी हुने टोली तथा तथा २५ वर्ष सेवा पु¥याएका कर्मचारीलाई समारोहमा दीर्घ सेवा प्रदान गरिएको थियो । ‘रेडियो नेपाल, नेपालको समावेशी आवाज– राष्ट्रिय रेडियो, राष्ट्रको आवाज’ नारा दिएर अघि बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप