शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य

मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव

शुक्रबार, ०१ साउन २०८३, १९ : ००
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • अस्वस्थ जीवनशैली र खानपानमा आएको परिवर्तनले मुटु रोगीको सङ्ख्या बढाएको छ, तर मुटु रोग विशेषज्ञको भने चरम अभाव छ ।
  • नेपाल मेडिकल काउन्सिलका अनुसार १३ हजारभन्दा बढी विशेषज्ञ चिकित्सकमध्ये मुटु रोग विशेषज्ञ जम्मा १४१ जना छन्, जसले गर्दा बिरामीको उपचारमा कठिनाई भएको छ ।
  • विश्वव्यापी रूपमा मुटु रोग मृत्युको प्रमुख कारण बन्दै गएको छ र नेपालमा पनि कुल जनसङ्ख्याको २० प्रतिशतलाई मुटुरोग भएको अनुमान छ ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । अस्वस्थ जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मुटु रोगीको सङ्ख्या बढ्दै गएको छ । मुटु सम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको बेला मुटु रोग विशेषज्ञको भने चरम अभाव देखिएको छ ।

नेपाल मेडिकल काउन्सिलको २०८२ चैतसम्मको वार्षिक प्रतिवेदन अनुसार नेपालमा विशिष्टीकृत मुटु रोग विशेषज्ञको सङ्ख्या अत्यन्तै न्यून छ । काउन्सिलमा दर्ता भएका कुल १३ हजार ३४ जना विशेषज्ञ चिकित्सकमध्ये मुटु रोग विशेषज्ञको सङ्ख्या जम्मा १४१ छ, जसमा १३० पुरुष चिकित्सक र ११ जना महिला चिकित्सक छन् ।

यस्तै, मुटुको शल्यक्रियातर्फ कार्डियाक सर्जरीमा १० जना र कार्डियोथोरासिक भास्कुलर सर्जरीमा २७ जनामात्र दर्ता भएका छन् । देशभर मुटुका बिरामी बढिरहँदा विशेषज्ञ जनशक्तिको चरम सङ्कट देखिएको छ ।

मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराईले नेपालमा वर्षमा ८० हजार जनाको हाराहारीमा मुटुको अप्रेसन हुनुपर्ने भए पनि अहिले दुई हजारदेखि दुई हजार पाँच सयसम्म मात्रै अप्रेसन भइरहेको बताए । उनले मुटु रोगीको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा प्रत्येक प्रदेशमा मुटु केन्द्र स्थापना गर्नुपर्ने बताए ।

डा. भट्टराईले भने, ‘नेपालमा वर्षमा ८० हजार मुटुको अप्रेसन हुनुपर्ने हो, तर अहिले दुई हजारदेखि दुई हजार पाँच सय जनाको मात्र अप्रेसन भइरहेको छ । स्थिति असाध्यै अप्ठ्यारो छ ।’

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको विशेषज्ञ चिकित्सकहरूको कुल सङ्ख्याको अनुपातमा हेर्ने हो भने मुटु रोगको उपचार गर्ने जनशक्ति निकै दयनीय अवस्थामा देखिन्छ । काउन्सिलमा हालसम्म दर्ता भएका विशेषज्ञहरूमध्ये कार्डियोलोजी विधामा जम्मा १ प्रतिशतभन्दा केही बढी अर्थात् १४१ जनामात्र मुटु रोग विशेषज्ञ उपलब्ध छन् ।

जनसङ्ख्याको तीव्र वृद्धि र बदलिँदो जीवनशैलीका कारण मुटुरोगीहरूको सङ्ख्या गुणात्मक रूपमा बढिरहेका बेला मुलुकभर औंलामा गन्न सकिने सङ्ख्यामा मात्र विशेषज्ञ चिकित्सक हुनुले आम नागरिकको मुटु स्वास्थ्य उपचारमा पहुँच पाउन कठिन हुने सरोकारवाला बताउँछन् ।

विशेषज्ञहरूका अनुसार मुटुरोग भनेको सामान्यतया मुटुमा आउने कुनै पनि समस्याको तत्कालै समाधान खोजे निको हुने, तर बेवास्ता गरे दीर्घकालीन समस्याका रूपमा रहन्छ ।

पछिल्लो समय हरेक घरमा मुटुका बिरामी देखा पर्न थालेका छन् । विश्व मुटु महासंघका अनुसार संसारभर बर्सेनि १ करोड ७५ लाख मानिस मुटुको कुनै न कुनै रोगबाट ग्रसित छन् । विश्वमा अहिले मुटुलगायत नसर्ने रोगबाट ज्यान जानेको सङ्ख्या ठुलो छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल मुटुरोगबाट मृत्यु हुनेको सङ्ख्या विकसित मुलुकहरूमा करिब ५० प्रतिशत र विकासोन्मुख मुलुकहरूमा २५ प्रतिशत पुगेको छ ।

संगठनले सन् २०३० सम्ममा मुटु रोगबाट मात्रै विश्वभर मृत्यु हुनेको सङ्ख्या बर्सेनि २ करोड ५० लाख पुग्ने अनुमान गरेको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कुल जनसङ्ख्याको २० प्रतिशतलाई मुटुरोग भएको अनुमान छ । करिब ३० प्रतिशत वयस्क उच्च रक्तचापको समस्याबाट ग्रसित छन् । २० प्रतिशतलाई कोलेस्टेरोल, ६ प्रतिशतलाई मधुमेह छ । प्रतिष्ठानका अनुसार बालबालिकामा बाथ मुटुको रोग बढ्दो छ । नेपालका ९० प्रतिशत मानिसले मुटुमैत्री खाना नखाने गरेको पाइएको छ ।

विशेषज्ञ चिकित्सकहरूका अनुसार मुटुका समस्या भएका मानिसको औषधि, क्याथ ल्याब वा शल्यक्रियाबाट उपचार गर्ने गरिन्छ । पहिलो स्टेजमा आएका बिरामीलाई सामान्यतया औषधि खुवाएर रोग निको पार्ने कोसिस गरिने, अलि धेरै समस्या बोकेर आएकालाई क्याथ ल्याबका विधि अपनाएर उपचार र गम्भीर प्रकृतिका मुटुरोगका बिरामीको शल्यक्रिया गरिने विशेषज्ञ चिकित्सहरू बताउँछन् ।

मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईका अनुसार मुटु रोगी बढ्नुको कारण तनावपूर्ण जीवनसँगै खानपानमा आएको परिवर्तन हो । उनले भने, ‘रोगको पहिचान (डायग्नोसिस) दर बढेका कारण पनि बिरामीको सङ्ख्या बढी देखिएको हो । पहिले देशमा यस्ता विशेषज्ञहरू, मुटु केन्द्र (हार्ट सेन्टर) धेरै थिएनन् । अहिले तिनको सङ्ख्या पनि बढ्यो, जसले गर्दा रोग पत्ता लाग्ने क्रम (डायग्नोसिस) पनि बढ्यो ।’

अहिलेको जीवनशैलीमा आएको परिवर्तन, खानपानमा आएको परिवर्तन, तनावपूर्ण जीवन (स्ट्रेसफुल लाइफ), व्यावसायिक जीवन (प्रोफेशनल लाइफ) मा विभिन्न किसिमका तनाव रहेको डा. भट्टराईले बताए । विशेषगरी मुटु रोग (कार्डियोभास्कुलर डिजिज) अहिले संसारमै मृत्युको पहिलो कारण बनेको उनले प्रस्ट पारे । ‘संसारमा केही समय अगाडिसम्म क्यान्सर वा अरू रोग थिए । अहिले कार्डियोभास्कुलर डिजिज (मुटु र रक्तनलीसम्बन्धी रोग) का कारण संसारमा हुने कुल मृत्युको एक–तिहाइ अर्थात् ३० प्रतिशत मृत्यु हुने गरेको छ,’ उनले भने ।

त्यसैले ३० वर्ष काटेपछि मुटुको जाँच गर्नुपर्ने उनले बताए । ‘पहिला–पहिला ४० वर्ष पुगेपछि मुटु जाँच्नुपर्छ भनिन्थ्यो, अबचाहिँ ३० वर्ष पुगेपछि गर्नुपर्छ,’ डा.भट्टराईले भने । मद्यपानले बिस्तारै मुटुलाई गलाउँदै लैजाने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप