शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राजनीतिलाई व्यवसाय नबनाउँ, व्यवसाय गरेर राजनीति गरौँ : पूर्व प्रम भट्टराई

शनिबार, २० चैत २०७२, १९ : ४२
शनिबार, २० चैत २०७२

चितवन–पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले राजनीतिलाई व्यवसाय बनाउन नहुनेमा जोड दिएका छन् ।

उद्योग वाणिज्य सङ्घ चितवनले जिल्लाको नारायणगढमा आयोजना गरेको एक अन्तक्र्रियाका क्रममा बोल्दै डा भट्टराईले राजनीतिलाई व्यवसाय नबनाई व्यवसाय गरेर राजनीति गर्नुपर्ने सुझाव दिए । राजनीतिलाई व्यवसाय बनाएका कारण नै भ्रष्टाचार बढेको उनको जिकिर थियो ।

“कार्यकर्तालाई विभिन्न ढङ्गले उत्पादन र व्यवसायमा जोड्नुपर्छ, पूर्व अर्थमन्त्रीसमेत रहनुभएका डा भट्टराईले भने, राजनीतिलाई नितान्त स्वयम्सेवी सेवा बनाउनुपर्छ ।”

उनले आफूले यसलाई कार्यनीति नै बनाएर अभियान अघि बढाइएको जानकारी दिए । कुनै राजनीतिक नेता दोषी ठहर भए पार्टीले निष्कासित हुने व्यवस्था गर्नसके प्रभावकारी हुने तर्क उनको थियो ।

उद्योग वाणिज्य सङ्घ चितवनले आज डा भट्टराईसँग उद्योग व्यवसायको प्रवद्र्धन एवम् मुलुकको आर्थिक समृद्धिका विषयमा छलफल गरेको थियो । छलफलमा जिल्लाका व्यवसायीको सहभागिता थियो । “देशलाई एकताबद्ध बनाऔँ, आर्थिकरुपमा समृद्धितर्फ लगौँ” डा भट्टराईको कथन थियो ।

तराईको समस्याका विषयमा तपाईको ढुलमुले व्यवहारजस्तो देखिएको छ नि भन्ने व्यवसायीको प्रश्नमा उनले विविधतालाई सम्बोधन गर्ने गरी आधुनिक युगको मूल्यमान्यतालाई आत्मसात् गर्नुपर्नेमा जोड दिए । वञ्चितीकरणमा परेका समुदायलाई अधिकार दिनसके मत नबाँझिने भनाइ उनको थियो ।

उनले वैदेशिक सम्बन्धका विषयमा उल्लेख गर्दै भारत, चीनले सामरिक स्वार्थ राख्ने गरेको प्रष्ट्याए । आन्तरिक झगडा हुँदा छिमेकी देशले फाइदा खोज्ने भएकाले आफ्नो समस्या आफैँले हल गर्नुपर्ने उनको तर्क थियो । दुईवटै छिमेकीसँग सन्तुलित सम्बन्ध नेपालले राख्नुपर्ने उनको भनाइ थियो ।

यसअघि आर्ज उनले भरतपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप