शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपालले स्वाभिमानको लडाइँ जित्दा भारत विचलित : शङ्कर पोखरेल

शनिबार, २० चैत २०७२, १९ : ५६
शनिबार, २० चैत २०७२

बुटवल– नेकपा (एमाले) का स्थायी समिति सदस्य शङ्कर पोखरेलले राष्ट्रिय स्वाभिमानको लडाइँ जित्दा भारत विचलित भएपनि नेपालको अन्तर्राष्ट्रिय छवि उँचो भएको बताएका छन् ।

उनले संविधान निर्माणको प्रक्रिया सुरु भएदेखि संविधान बनेपछिका समयमा उत्पन्न भएका चुनौतीले स्वाभिमानको पाठ सिकाएको बताए ।

एमाले नेता स्व रामनाथ ढकालको स्मृतिमा रुपन्देहीको सालझन्डीमा आयोजित राष्ट्रिय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै नेता पोखरेलले सरकारले राष्ट्रिय स्वाभिमानको लडाइँलाई प्रभावकारी र सफलरुपमा अगाडि बढाएको बताए ।

नेता पोखरेलले सरकारले स्वाभिमानको लडाइँ लड्दा नेपालको परराष्ट्र सम्बन्ध र सिद्धान्तमा नयाँ मानक स्थापित भएको पनि उल्लेख गरे ।

नेता पोखरेलले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको पनि बताए । उनले चीनसित भएको पारवहन सम्झौताले युगान्तकारी काम गरेको र मुलुकका लागि गौरवको कुरा भएको बताए । उनले भूपरिवेष्टित मुलुकलाई भारतवेष्टित बनाउन खोजिएका बेला चीनसित भएको सम्झौताले नयाँ अध्यायको सुरुवात भएको पनि उल्लेख गरे ।

एमालेका पोलिटब्युरो सदस्य तथा क्षेत्र नं ५ का पूर्व सभासद् युवा नेता ढकालको गत चैत २२ गते काठमाडौँमा निधन भएको थियो । स्वाइनफ्लुका कारण ग्रान्डी अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको थियो ।

नेता ढकाललाई एमालेका प्रभावशाली, समन्वयकारी, जुझारु र समाजसेवी नेताका रुपमा लिइन्थ्यो । निधनको एक वर्ष पुगेको स्मृतिमा उनकै निर्वाचन क्षेत्रको कमिटीले स्मृति भलिबलको आयोजना गरेको क्षेत्रीय कमिटी अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

एमाले क्षेत्रीय कमिटीका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठ, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य भूमिश्वर ढकाल, क्षेत्रीय इन्चार्ज मीनप्रसाद घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङलगायतले बालेका थिए ।

चैत २२ गते समापन हुने प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले नगद रु एक लाख एक हजार १००, द्वितीय हुनेले रु ५१ हजार १०० तथा तृतीय टिमले नगद रु ३१ हजार १०० प्राप्त गर्नेछन् । प्रतियोगिता अवलोकनका लागि कुनै पनि शुल्क नलाग्ने आयोजकले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप