शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तोकिएको समयमा नबन्ने भयो मेलम्ची, मासिक ९ सय मिटरमात्रै सुरुङ

आइतबार, २१ चैत २०७२, ०८ : ३२
आइतबार, २१ चैत २०७२

मेलम्ची– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणकार्य गत मार्च महिनामा लगभग ९०० मिटर खनिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

विसं ०७० साउनमा इटालियन कम्पनी सिएमसी र भारतीय कम्पनी डि–रेभेन्नाले सुरुङ निर्माण गर्ने ठेक्का लिएका थिए । सुरुङ निर्माण सुरु गरेदेखि हालसम्मको अवधिमा जम्मा १५ किमी सुरुङ खनिएको छ ।

आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईका अनुसार मासिक एक हजार २०० मिटर सुरुङ खन्ने लक्ष्य भए पनि गत मार्चसम्ममा ९०० मिटरको हाराहारीमा मात्र सुरुङ निर्माण भएको हो ।

अब मासिक न्यूनतम एक हजारदेखि एक हजार २०० मिटर सुरुङ निर्माण कार्य अगाडि बढाउन आफू लागिपर्ने भट्टराईले बताए ।

मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन लगभग २६ किमी सुरुङ खन्नुपर्ने हुन्छ जसमा अझै ११ किमी खन्न बाँकी छ वैशाखभित्रमा सुरुङ निर्माणकार्य सम्पन्न गर्न दैनिक २७५ मिटर सुरुङ निर्माण गर्नुपर्ने हुन्छ ।

मेलम्ची आयोजनाका एक प्राविधिकका अनुसार इटालियन कम्पनीले आगामी वैशाखभित्रमा सुरुङ निर्माणकार्य सम्पन्न गर्छु भनेको भए पनि अहिलेकै गतिमा दैनिक ४५ मिटर सुरुङ खन्ने हो भने पनि कम्तीमा अरु एक वर्ष लाग्ने अवस्था देखिएको छ ।

आयोजनाको सुरुङ निर्माणका लागि सुन्दरीजल, सिन्धु, ग्यालथुम र अम्बाथान अडिटसमेतबाट छ प्वाइन्टबाट सुरुङ निर्माणकार्य भइरहेको भए पनि अम्बाथान र सिन्धुबाट भने आवश्यक्ताभन्दा कम मात्रामा सुरुङ खन्ने काम भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

कुल अठार महिनाको कार्यावधिभित्र निर्माणकार्य सक्ने प्रतिबद्धतासहितको ठेक्का जिम्मा लिएको सिएमसीले ठेक्का लिएको समयभन्दा १८ महिना कटिसक्दा ०७३ वैशाखमा मेलम्चीको पानी काठमाडौँ भित्र्याउने सम्झौता मिति भए पनि अहिलेको सुरुङ निर्माणको गतिअनुसार निर्धारित समयभन्दा महिनौँ बढी लाग्ने देखिन्छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणकार्यमा यस अगाडिको चिनियाँ कम्पनीले पनि समयमा सुरुङ निर्माणकार्य अगाडि बढाउन नसकी बीचैमा छाडेको थियो । त्यसपछि पुनः टेन्डर गरी छानिएको सिएमसी इटालियन कम्पनीको कार्यशैली पनि प्रभावकारी नभएको आयोजनाका एक कर्मचारीले बताए ।

मेलम्ची आयोजनाको निर्माण कार्यमा अहिले स्थानीय बासिन्दाका तर्फबाट कुनै बाधा अवरोध छैन । राष्ट्रिय गौरवको आयोजना भएकाले निर्माणकार्यमा सकेसम्म सहयोग पुर्याउनसमेत स्थानीयवासीले जोड दिएको पाइन्छ ।

आयोजना र ठेकेदार कम्पनीको असक्षमता र अपारदर्शी व्यवहारको भने स्थानीयवासीले आलोचना गर्दै आएका छन् ।

भूकम्पपश्चात् मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको अम्बाथान अडित मार्गको भौतिक संरचना पूर्णरुपमा ध्वस्त भएकाले पुनःनिर्माण गर्ने काम भइरहेको छ भने उक्त अडित मार्गमा एउटा बेलिब्रिजको आवश्यक्ता भएको आयोजनाका कार्यकारी निर्देशक भट्टराईले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप