शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सरिता गिरीको ‘इन–आउट’ को खेल : पार्टी फिर्ता चाहियो भन्दै पुगिन् निर्वाचन अयोग

आइतबार, २१ चैत २०७२, १५ : २५
आइतबार, २१ चैत २०७२

काठमाडौ – ‘सद्भावना’ पार्टी र विवाद पयार्य बनेको छ । स्व. गजेन्द्रनारायण सिंहले गठन गरेको नेपाल सद्भावना पार्टी कहिल्यै विवादबाट मुक्त रहन सकेन । २०४७ सालमा गठन भएदेखि नै पार्टीले विभाजनको पीडा खेप्दै आएकोमा यो क्रम हालसम्म पनि रोकिएको छैन । सिंहले गठन गरेको नेपाल सद्भावना पार्टी हाल अनिल झाको पोल्टामा रहेको छ । सोही पार्टीबाट अलग भएर राजेन्द्र महतोले सद्भावना पार्टी गठन गरे भने विकास तिवारी र श्यामसुन्दर गुप्ता पनि पार्टीबाट अलग भएर आ–आफ्नै पार्टी बनाए । पहिलो संविधानसभाको दौरान अनिल झाले पनि अलग भएर संघीय सद्भावना पार्टी बनाएका थिए । तर उनले सर्वोच्च अदालतबाट मुद्दा जितेर नेपाल सद्भावना पार्टी आफ्नो पक्षमा पार्न सफल सरिता गिरीसँग एकीकरण गरे । त्यस्तै राजेन्द्र महतोको सद्भावना पार्टीबाट अलग भएका रामनरेश राय यादवले महेन्द्र राय यादव नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (नेपाल) सँग एकीकरण गरेर तराई मधेश सद्भावना पार्टी बनाए । हाल नेपाल सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) नेपाल सद्भावना पार्टी (गुप्ता) तथा सद्भावना पार्टी मात्र अस्तित्वमा रहेका छन् । त्यसमध्ये नेपाल सद्भावना पार्टी र सद्भावना पार्टी मात्र संसदमा रहेका छन् ।

अनिल झा र सरिता गिरीमा लफडा अहिले आएर अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीमा विवाद उत्पन्न भएको छ । २०७१ फागुन १७ गते सरिता गिरीले नेतृत्व गरेको नेपाल सद्भावना पार्टीसँग अनिल झा नेतृत्व गरेको संघीय सद्भावना पार्टी एकीकरण गरि नेपाल सद्भावना पार्टी बनाएका थिए । तर पार्टी एकीकरण भएको एक वर्ष नबित्दै सो पार्टीमा विवाद शुरु भयो ।

मधेशमा आन्दोलन चलिरहेकै बेला सरिता गिरीले असोज २५ गते आफू सो पार्टीबाट अलग भएको घोषणा फेसबुकमार्फत गरेकी थिइन् । राजीनामा घोषणा गरेको चार महिनापछि सो पार्टीले पुस २२ गते एक विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको घोषणालाई स्वीकृत गरेको थियो । तर त्यसको एक महिना नबत्दिै गिरीले पुनः फेसबुकमार्फत नै आफू नेपाल सद्भावना पार्टीमा फर्केको बताएकी थिइन् । तर, अहिले आएर नेतृ गिरीले पार्टी नै फिर्ता चाहियो भन्दै विभिन्न शक्ति केन्द्रमा दौडधुप गरिरहेकी छिन् । पार्टी एकीकरण गर्दा अनिल झा र सरिता गिरीले बीच ११ बुँदे सम्झौता भएको थियो । जसमा २०७२ सालभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने उल्लेख थियो र सोही बमोजिम चैत २६ गतेदेखि २८ गतेसम्म जनकपुरमा महाधिवेशन गर्ने निर्णय पनि पार्टीले गरेको छ । तर, महाधिवेशन गर्ने निर्णय गरेसँगै सो पार्टीका सहअध्यक्ष समेत रहेकी गिरीले आफ्नो पार्टी फिर्ता चाहियो भन्दै झालाई दवाव दिन थालिन् ।

एकीकरण भइसकेको पार्टी ‘के आधारमा, किन फिर्ता दिने ?’ भन्दै अनिल झाले पार्टी फिर्ता दिन नमानेपछि पार्टी फिर्ता चाहियो भन्दै नेतृ गिरीले आफ्ना पक्षका २३ जनाको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेकी छिन् । यसो त, सरिता गिरी ३९ जना केन्द्रीय सदस्यसहित अनिल झासँग एकीकरण गरेकी थिइन् । त्यसबेला अनिल झाको पार्टीमा ३१ जना सदस्य थिए । एकीकृत पार्टीको कार्यसमिति बन्दा सरिता गिरीले आफ्नो पार्टीको तर्फबाट २९ जना मात्र पठाएकी थिइन् भने अनिल झाले ३१ जना नै पठाएका थिए । दुवै मिलेर ६० सदस्यीय केन्द्रीय समिति बन्यो । तर अहिले भने त्यसमध्ये २३ जना केन्द्रीय सदस्यले मात्र गिरीलाई साथ दिएका छन् । जब कि पार्टी अलग गर्नका लागि सम्पूर्ण कार्यसमिति सदस्य संख्याको ४० प्रतिशत सदस्यको आवश्यकता पर्छ । जुन सरिता गिरीले पुर्याउन सकेकी छैनन् । आयोगभित्रै चलखेल आयोगले केही दिन पहिले अनिल झा र सरिता गिरीलाई बोलाएर विवाद मिलाउने प्रयास गरेको थियो । तर, आयोगले बोलाएको मितिमा झा पुगे पनि सरिता अनुपस्थित रहिन् । आयोग स्रोत भन्छ, ‘अनिल झाले आयोगको निर्णय आफूलाई स्वीकार हुने भनेको तर सरिता गिरी भने आयोगलाई अटेरी गरि उपस्थित हुन मानिनन् ।’ आयोगकै आयुक्त इला शर्माले गोप्य रुपमा सरिता गिरीलाई सघाई रहेको पनि स्रोतको दाबी छ । आयोगले औपचारिक रुमपा गिरीलाई बोलाउँदा नआउने तर आयुक्त शर्मा र गिरीबीच पटक–पटक अनौपचारिक भेटघाट हुनुले शंका पैदा गरेको छ । पार्टी किनबेचको खेल सरिता गिरीले अनिल झासँग पार्टी एकीकरण गर्दा ठूलै लेनदेन भएको त्यतिबेला चर्चा चलेको थियो । सर्वोच्च अदालतबाट नेपाल सद्भावना पार्टी हात पारेपछि सरिता गिरीले ‘आफू यो पार्टी चलाउन नसक्ने बरु एकीकरण गरेर तपाई नै पार्टी चलाउनुस्’ भन्दै अनिल झालाई प्रस्ताव गरेकी थिइन् । त्यसबापत माउ पार्टी हस्तान्तरण गरेबापत् अनिल झासँग गिरीले मोटो रकम लिएको स्रोत बताउँछ । तर, के कति रकम लिइयो भन्ने कुरा अझै गोप्य नै रहेको छ । सरिता गिरी अहिले भित्रभित्रै श्यामसुन्दर गुप्ताको पार्टीसँग एकीकरण गर्ने प्रयासमा रहेको बताइएको छ । त्यही भएर उनी अनिल झाबाट अलग हुन चाहेकी छिन् । अपहरण कण्डमा जेल परि श्यामसुन्दर गुप्ता हालै मात्रै रिहा भएका छन् । स्रोत भन्छ, ‘श्यामसुन्दर गुप्ताबाट पनि गिरीले रकमको माग गरेकी छिन् ।’ नेपाल सद्भावना पार्टीको अहिले पनि मधेशमा महत्व रहेको छ । स्व. गजेन्द्रनारायण सिंहले गठन गरेको पार्टी भएकाले मधेशमा अहिले पनि सो पार्टीप्रति आस्था देखाउनेहरुको कमी छैन । हात छापले परिचित सो पार्टीप्रति सबैको नजर रहेको हुन्छ । खुशीलाल मण्डलदेखि राजेन्द्र महतोसम्मकाले सो पार्टी हात पार्न निकै प्रयत्न गरे पनि असफल रहे । अन्ततः सर्वोच्च अदालतबाट मुद्दा जितेर हात परेकी नेपाल सद्भावना पार्टी चलाउन नसक्दा त्यसको किनबेचमा सरिता गिरी लागेको आरोप पार्टी भित्रैबाट लाग्दै आएको छ । यस विषयमा सरिता गिरीसँग सम्पर्क गर्दा उनले एक दुई दिन आफू पार्टीको विषयमा केही पनि बोल्ने प्रतिकृया दिइन् भने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले पार्टीमा कुनै विवाद नरहेको आफू महाधिवेशन सफल पार्नका लागि व्यस्त रहेको छोटो प्रतिकृया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप