शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

शान्तिपूर्ण बनाउन बिस्केट जात्राको रथ दिउँसै तानिने

आइतबार, २१ चैत २०७२, १९ : १३
आइतबार, २१ चैत २०७२

भक्तपुर - भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण बनाउन यस वर्ष दिउँसै रथ तानेर जात्रा सुरु गरिने भएको छ ।

आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जात्रा सञ्चालन कार्यतालिका सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जात्रालाई शान्तिपूर्ण बनाउन दिउँसै जात्रा चलाउने बताएका हुन् ।

विगतका वर्षमा रात परेपछि मात्रै रथतान्ने प्रवृत्तिका कारण रथको चक्काले किचेर मान्छेको मृत्यु हुने, ढुङ्गा हानाहान हुने गर्दा धेरै जना घाइते हुने गरेकाले यस वर्ष त्यस्ता गतिविधि रोक्न दिउँसै जात्रा चलाउने तयारी गरिएको हो ।

यस वर्ष बिहान ५ बजेदेखि विभिन्न पूजा गरेर दिउँसो २ बजेसम्म भैरव र भद्रकाली देवतालाई रथमा विराजमान गराई दिउँसो ३ बजेदेखि नै भैरवको रथ तान्ने तयारी गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

यस वर्ष भूकम्पका कारण रथ जथाभावी तान्दा घरको टेको भत्किने र भूकम्पले जोखिम भएका घर भत्किने सम्भावना रहेकाले दुर्घटना बढ्न नदिन र जात्रालाई शान्तिपूर्ण बनाउन दिउँसै रथ तान्ने र अपराह्नसम्ममा रथलाई गःहिटी लगेर राख्ने गरी जात्राको तयारी गरिएको हो ।

त्यसैगरी, आउँदो चैत ३० गते बिहान १० बजेसम्ममा कुमाले टोलमा रहेको ज्याठा गणेशको लिङ्गो उठाउने र साँझ ५ बजेभित्र नागनागिन अङ्कीत ईन्द्रध्वजासहित ५५ हात लामो लिङ्गो उठाउने बताइएको छ ।

वैशाख १ गते दिनभर लिङ्गो जात्रा मनाएर भैरवको पूजा गरेर साँझ ५ बजे लिङ्गो ढाल्ने गरी गुठी संस्थान भक्तपुरले कार्यतालिका तयार पारेको गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिए।

वैशाख २ गते बिहान ज्याठा गणेश र श्वेत भैरवको रथयात्रा गर्ने र ४ गतेसम्म विभिन्न पूजा गरिने भएको छ । त्यसैगरी, वैशाख ५ गते ज्याठा गणेशको लिङ्गो ढाल्ने, दिनभरि विभिन्न पूजा गरेर साँझ ५ बजे भैरवको रथलाई तानेर गःहिटी लगेर जात्रा बिसर्जन गर्ने कार्यक्रम रहेको छ ।

जात्रालाई शान्तिपूर्ण बनाउन र जात्रामा ढुङ्गा हान्ने तथा हिंसात्मक कार्य गर्नेलाई निगरानी गरी कारबाही गर्नका लागि चोकचोकमा सिसी क्यामरा पनि जडान गरिने भएको छ ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जात्रामा चोकचोकमा सिसी क्यामेरा जडान गरिने भएकाले हिंसात्मक गतिविधि गर्ने जो कोहीलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप