नयाँ ‘रुट’सहित यसरी मनाइदै छ यसपालीको बिस्केट जात्रा
सोमबार, २२ चैत २०७२, १४ : ३८
भक्तपुर– नेपालका चर्चित जात्रामध्ये एक बिस्केट जात्राको रथ तौमढीबाट तलका बासिन्दाले नासमना हुँदै वंशगोपालसम्म र माथिकाले तौमढीबाट सुकुलढोका हुँदै दत्तात्रयसम्म पुर्याउँथे । तर, बर्षौदेखिको बिस्केट जात्राको ‘रुट’ मा यसवर्ष भने सामान्य हेरफेर गरिएको छ ।
भूकम्पले घरमा क्षति पुर्याएपछि त्यहाँका कैयौं घरमा काठको टेको लगाइएको छ । सडकमै जोडिएर टेको लगाएपछि त्यो बाटो भएर बिस्केट जात्राको रथलाई लैजान कठिन भयो । यही कारण यो बिस्केट जात्राका रथको ‘रुट’ बदिलयो । अहिले तल्लो भेकमा नासमना र माथिल्लो भेकमा सुकुलढोकासम्म मात्र पुर्याउने तयारी भएको छ । प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भूकम्पपछिको संरचनालाई हेरेर बिस्केटको रथ तल्लो भेकमा नासमना र माथिल्लो भेकमा सुकुलढोकासम्म मात्र पुरराउने निर्णय भएको बताए ।
बिस्केट जात्राको रथको ‘रुट’ कसरी तय गर्ने भन्ने विषयमा गत विहिबार जिल्ला प्रशाशन कार्यलयमा छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल विभिन्न कार्यालयका प्रमुख, स्थानीय वासिन्दा र सुरक्षा निकायका प्रमुखवीचको बैठकले जात्रालाई सभ्य र सुरक्षित बनाउन रथको ‘रुट’ परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी किरण वज्राचार्यले बिस्केट जात्राको रथ तान्ने क्षेत्रका अधिकांश घरमा क्षति पु¥याएको र धराप, जोखिमयुक्त घर टेकोका भरमा अड्याइएको कारण रुट छोट्याईएको बताए । उनले भने, ‘एैतिहासिक भक्तपुर बजार क्षेत्र बिस्केट जात्रा हुने रुटहरुका अधिकांश घर टेकोका भरमा अडिएका छन् । रथ तान्दा टेकोमा ठोकिएर घर भत्किने जोखिम बढदो छ । जोखिमयुक्त घर भत्किएर मानवीय क्षति हुनसक्छ त्यसैले रथको रुटै परिवर्तन गर्नुपर्छ । ’ उनले जात्राको क्रममा हुन सक्ने दुघटनालाई मध्ये नजर गरेर प्रहरीको विपत् ब्यास्थापनसम्बन्धि एउटा उद्दार टोली समेत साथमा राखिने जानकारी दिए ।
१ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढालिन्छ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा वैशाख ५ गते भैरवको रथ तानेर समापन गरिन्छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ ।
स्थानियवासी एवं समाजसेवी अनन्त द्यौभडेल भन्छन्, ‘भक्तपुरको प्रसिद्ध विस्केट जात्राको लिङ्गो हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा भन्ने गरिन्छ ।’ इतिहास तथा संस्कृतिविद् श्रीओम कायस्थ भन्छन्, ‘जात्राको लागि भैरव र भद्रकालीको रथ निर्माण कार्य तौमढीमा अन्तिम चरणमा पुगेको छ ।’ भक्तपुर तौमढीस्थित पाँचतले मन्दिर परिसरमा भैरव र भद्रकालीको रथ निर्माण, मर्मत र रंगरोगनको काम अन्तिम चरणमा पुगेकोे गुठी संस्थानले जनाएको छ । रथको चक्कालगायतका धेरै काठ पुराना भए पनि यस वर्ष सबै काठ फेर्न नसकिने भएकाले अत्यावश्यक केही काठ फेर्ने र अरु पुरानै काठलाई बलियो गरेर मर्मत गर्न लागिएको झक्तपुर गुठी संस्थानका प्रमुख लेखनाथ सापकोटाले बताए । संस्कृतिविद् श्रीओम कायस्थका अनुसार जात्रा मनाउन थाल्नुको किंम्वदन्ती यस्तो छ यो जात्राको किम्वदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा एक प्रतापी राजा बस्दथे । ती राजाका एक अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले आफ्नो सुन्दरी छोरीसँग विहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने प्रस्ताव समेत राखेका थिए । राजगद्दी पाउने भएपछि ती राजकुमारीसँग विहे गर्न धेरै कुमारहरू आए तर ती पुरूषहरू जसले राजकुमारीसँग विहे गर्न राजी भएर पहिलो रात सुत्दथ्यो । ऊ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो । राजाले आफ्नो सयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै स्थापना गरेका थिए । यस्तैमा एक दिन त्यहाँ एक बलवान् राजकुमार आएर राजकुमारीसँग आफू विहे गर्ने इच्छा राजासँग प्रकट गरे । राजाले खुसीसाथ ती राजकुमारसँग आफ्नो विहे गराई कोठामा सुत्न पठाए । राती राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे । भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुइटा नाग–नागिनी मरेको देखेर सबै खुसी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतीलक गरिदिए । यसरी अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुसीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो भेलुखेल स्थित ल्योसिंखेलमा ठड्याउने गरिन्छ । यो लिङ्गो भक्तपुरको चित्तपोल गाविसको सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरी बोकाले छोएकै रूखमा बोकाको बली चढाइ सोही रूख काटी ल्याउने प्रचलन अहिलेसम्म चल्दै आएको छ । बिस्केट जात्राको विषयमा संस्कृतविद् श्रीओम कायस्थले गरेको अनुसन्धान यस्तो छ नेपाल सम्वत २६८ तिर भक्तपुर सहर स्थापना हुनुभन्दा अघि नै यो बिस्कजात्राको परम्परा सुरू भइसकेको लिच्छवी कालभन्दा अगाडिको यो जात्रा नागनागिनी मारिएको खुसीयालीमा मनाउन लागेको र यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको ईतिहासमा उल्ल्ेख छ । त्यसपछि नेपाल सम्वत ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको र त्यही प्रचलन आजसम्म चल्दै आएको छ । सुरूमा विस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने चलन चलेको हो । नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बीःसित (नाग र्मयो), बीय जात्रा (नागको जात्रा), वीःस्यात (नाग मारियो) हुँदै पछि विश्वजात्रा, भई अपभ्रंशबाट विस्केट जात्रा हुन गएको स्थानीय बूढापाकाहरू भनाई छ । बिस्केट जात्रामा २५ लाख खर्च हुने अनुमान बिस्केट जात्रामा यो बर्ष २५ लाख खर्च लाग्ने भएको छ । रथ निर्माणका लागि यस वर्ष रु छ लाख लाग्ने जानकारी दिँदै सापकोटाले बिस्केट जात्राको लागि करिब २५ लाख खर्च हुने अनुमान गरेको छ । मूर्ति चोरीसंगै चन्दा उठाएर मूर्ति बनाइदैं बिस्केट जात्रा सञ्चालनका लागि स्थानीयले चन्दा उठाएर दिगु भैरव (प्रचण्ड भैरवको मूर्ति बनाउने भएका छन् । मध्यपुरथिमी नगरपालिका ११, दिगुटोलस्थित दिगु भैरवको मूर्ति ३ महिनाअघि चोरी भएकाले जात्राका लागि स्थानीयले चन्दा उठाएर मूर्ति बनाउने निर्णय गरेको लायकु भैरवका संयोजक अर्जुन श्रेष्ठले बताए । दिगु भैरवको साधना नगरी बिस्केट जात्राअन्तर्गतको बालकुमारी जात्रा सञ्चालन नहुने प्रचलन छ । मूर्ति निर्माण तथा संरक्षणका लागि मूल मन्दिर संरक्षण समिति गठन गरी चन्दा संकलन गरिएको संयोजक श्रेष्ठको भनाइ छ । मूर्ति निर्माणका लागि हालसम्म २ लाख ८० हजार संकलन भइसकेको छ । जात्रा मनाउन भूकम्पपीडितको अस्थायी शिविर हटाइने यसवर्षको बिस्केट जात्रा मनाउनका लागि भूकम्पपीडितको अस्थायी शिविर हटाइने भएको छ । भूकम्पपीडित बस्दै आएको भक्तपुर नगरपालिकाको ल्यासिंखेलस्थित बिस्केटको लिङ्गो उठाउने ठाउँमा बस्दै आएका भूकम्पपीडितलाई जात्राका लागि अन्यत्रै सारिन लागेको हो । लिङ्गो उठाउने ठाउँमा बस्दै आएका करिब ६० घरपरिवार भूकम्पपीडितलाई नहटाउँदा जात्रा नै रोकिने भएपछि उनीहरूलाई अन्यत्र सारिएको प्रमुख जिल्लामा अधिकारी तेजप्रसाद पौडेलले बताए । नाइकेहरुको अझै तलब निर्धारण नभए बिस्केट जात्रा आउन एक साता बाँकी छँदा पनि बिस्केट जात्राका नाइकेहरुको तलब निर्धारण नभएको छैन्न् । विगतका केही वर्षदेखि नै मासिक रु १५ हजार तलबको माग गर्दै आएको भैरव नाइकेहरुको जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा गुठी संस्थान भक्तपुर कार्यालय, सरोकारवाला र नाइकेहरुको संयुक्त बैठकले एक गत महिना नै तलब निर्धारण गरेर पठाए पनि केन्द्रीय कार्यालयबाट अझै तलब स्वीकृत नभएको गुठी संस्थान भक्तपुर कार्यालयका प्रमुख लेखनाथ सापकोटाले बताए । मासिक तलब दिने निर्णय गरी माथिल्लो निकायमा पठाएपनि स्वीकृत भएर नआएको सापकोटाले बताए । नाइकेहरुले जम्मा वार्षिक कुल ८४ हजार मात्रै गुठी संस्थानले दिँदै आएको छ । छ जना नाइकेमध्येमा मूल नाइके ज्ञानबहादुर छुँका, मोतीबहादुर सुवाल, लक्ष्मीप्रसाद घेमस, नारायणप्रसाद घेमसु, कृष्णगोपाल नागा रहेका छन् भने नाइकेमध्येका आशाबहादुर छुँकाको गत वर्ष मृत्यु भएकाले उनको ठाउँको पद रिक्त छ । नाइके मोतीबहादुर सुवालले तलब नपाएको बताए । तलब नभएको र जात्रा सञ्चालनमा समस्या परेकाले काम गर्न नसक्ने भन्दै नाइके पदबाट समेत राजीनामा बुझाएको नाइके सुवालले बताए । विगतका वर्षहरुमा भैरव गुठीको नाममा रहेको जग्गाबाट आउने कूत नाइकेहरुले पाउने व्यवस्था गरे पनि धेरैजसो रैथाने भइसकेका र बाँकी करिब ९० रोपनी जग्गाबाट पनि कतिपयले कूत नबुझाउने कारण नाइकेहरुले समस्या झेल्दै आएका थिए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण