शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बालक अपहरणमा संलग्न महिला पक्राउ

सोमबार, २२ चैत २०७२, १६ : १८
सोमबार, २२ चैत २०७२

वीरगन्ज - बालकको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले गएराति एक महिलालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेमा पोखरिया नगरपालिका सतबरियाकी सुगन्धी देवी रहेकी छिन् । पोखरिया नगरपालिका सतबरियाकै ९ वर्षीय बालक लोटन चौहानको अपहरणमा प्रत्यक्ष संलग्न रहेको आरोपमा सुगन्धीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक यमबहादुर गुरुङले बताए ।

गत फागुन १५ गते पोखरिया बजार घुमाउन भनी लिएर गएको लोटनलाई सुगन्धीले सीमावर्ती भारतीय बजार सिक्टामा पु¥याई दुईजना अपहरणकारीको जिम्मा लगाएकी थिइन् ।

सीमावर्ती भारतीय प्रहरी सिक्टाको सहयोगमा अपहरण भएको २४ दिनपछि यही चैत ९ गते सिक्टास्थित रेल्वे स्टेसनको नजिकबाट लोटनलाई नेपाल प्रहरीले सकुशल उद्धार गरेका थिए । उद्धार गरिएका बालकको बयानका आधारमा प्रहरीले सुगन्धीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गुरुङले बताए।

यसैगरी सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प भिखमपुरको सुरक्षा गस्ती टोलीले भारतीय नम्बर भएको चारीको एउटा बलेरो जिप मसिहानीबाट आफ्नो नियन्त्रणमा लिएको छ । पर्साको मसिहानी चोकमा आइतबार बिहान चेकजाँचका क्रममा प्रहरीलाई देखेर जिपका चालक भागेपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले उक्त जिप चोरीको भएको प्रमाण फेला पारेको थियो ।

एमपिएसएचओ ५ एफ १२०५ उल्लिखित महिन्द्रा कम्पनीको उक्त बलेरो जिपको ब्लुबुक र इन्जिनमा भएको नम्बर फरक देखिएपछि उक्त गाडी चोरीको भएको आशङ्कामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प भिखमपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप