शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पानामा पेपर लिक : १ करोड १५ लाख दस्तावेजमा किन अटेन अमेरिकी नाम ?

मङ्गलबार, २३ चैत २०७२, १४ : ३५
मङ्गलबार, २३ चैत २०७२

काठमाडौं – ट्याक्सको स्वर्ग मानिएको पानामाको ल फर्म मोस्याक फोन्सेकाको गोप्य दस्तावेज सार्वजनिक भएपछि अहिले पूरै विश्वमा सन्सनी मच्चिएको छ । यसमा रसियाका राष्ट्रपति भ्लादीमिर पुटिनदेखि चिनियाँ राष्ट्रपति सि जिनपिङसम्मको नाम मुछिन आएको छ । उनीहरुजस्ता १२ देशका राष्ट्र प्रमुख साथै नेता, व्यवसायीहरु यस प्रकरणमा मुछिएका छन् । २.६ टेराबाइट आकार र १ करोड १५ लाख दस्तावेज भएको यसलाई अहिलेसम्मकै ठूलो सूचना मानिएको छ । यो सूचना सार्वजनिक गर्नअघि संसारभरका १ सयभन्दा बढी मिडियाले १ वर्षसम्म दस्तावेज अध्ययन गरेका थिए । यति ठूलो सूचना प्राप्त भएर सार्वजनिक भइसक्दा पनि हालसम्म यसमा कुनै अमेरिकी नेता वा व्यापारीको नाम भने खुलासा गरिएको छैन । जुन–जुन नेताहरुको नाम सार्वजनिक भएका छन्, उनीहरु प्रायः अमेरिकाको प्रतिद्वन्द्वीका रुपमा हेरिएका छन् । उदाहरणको लागि पुटिन, सि जिनपिङ, मोहमद गद्दाफी, बसर अल असाद । त्यही भएर धेरैले पानामा लिकको नियतमाथि प्रश्न उठाएका छन् । नियोजित हमला : क्रेम्लिन रुसी राष्ट्रपतिको पुटिनको नाम यसमा सिधै नजोडिएपनि उनको नजिका व्यक्तिहरु जोडिएका कारण उनलाई यो प्रकरणमा मुछिएको छ । त्यही आधारमा उनलाई २ बिलियन अमेरिकी डलर सम्पत्ति लुकाएको आरोप लगाइएको छ । क्रेम्लिनले यो अनुसन्धानमाथि नै प्रश्न गर्दै यसको मुख्य उद्देश्य ने ‘पुटिन’ भएको आरोप लगाएको छ । प्रवक्ता डिमिट्री पेस्कोभले यसमा पुटिनको कुनै संलग्नता नरहेको र अगामी सेप्टेम्बरमा हुने संसदीय निर्वाचनलाई लक्षित गरेर सरकारविरुद्ध प्रचारवाजी गरिएको आरोप लगाए । अमेरिकी नेता र व्यापारी इमान्दार हुन् त ? पानामा पेपर सार्वजनिक भएपछि अमेरिकी मिडिया आलोचक एडम जोनसनलेसमेत प्रश्न गरेका छन्, ‘के अमेरिकाका सबै व्यापारी र नेता स्वच्छ र इमान्दार छन् त ?’ अमेरिकाबाट वार्षिकरुपमा १ सय ५० बिलियन डलरबराबरको कर अफसोर कम्पनीहरुमा हराउने सन् २०१४ को अमेरिकी सिनेटको उपसमितिले नै तथ्यांक सार्वजनिक गरिसकेको छ । यसले पनि पानामा लिकमा अमेरिकीहरुको पनि नाम जोडिनुपर्ने विज्ञहरु बताउँछन् ।

इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे) हालसम्म अमेरिकी ठेगाना भएका २ सय ११ जना फेला परेको बताएको छ । त्यसमा पनि सबै अमेरिकी नागरिक नै हुन् भन्ने पनि यकिन छैन । रिपोर्टमा सेल कम्पनीका ६ सयभन्दा बढी विचौलिया संस्थाहरु अमेरिकामा रहेको बताइए पनि हालसम्म कसैको नाम सार्वजनिक भएको छैन । अमेरिकी नामहरु पानामा लिकमा नआएको बारेमा कुरा उठेपछि यसबारे पहिलो समाचार प्रकाशन गर्ने मध्येको जर्मन पत्रिका सडेच जेटुङका सम्पादकले प्रतिक्रिया दिँदै भनेका छन् ‘अब के आउँदैछ, केही समय प्रतिक्षा गर्नुहोस् ।’ के भन्छन् विज्ञ ? वासिङटनका वकिल तथा अफसोर गतिविधिको विज्ञ मानिएका ज्याक ब्लमले पनि १ करोड १५ लाख दस्तावेज अध्ययन गर्न समय लागेको हुँदा यस्तो भएको हुनसक्ने बताएका छन् । अर्का विज्ञ डन सेमेन्सकी भने अमेरिकीहरुले त्यस्ता अफसोर कम्पनीमा छद्म नाम प्रयोग गरेर आफ्नो परिचय लुकाउने तरिका अपनाएको हुनसक्ने बताउँछन् । अमेरिकामा फरेन एकाउन्ट ट्याक्स कम्प्लायेन्स विधेयक ल्याउनै ५ वर्ष लगाएको हुँदा त्यसले अमेरिकीहरुलाई आफ्नो पूरानो एकाउण्ट बन्द गरेर छद्म नाममा नयाँ एकाउण्ट खोल्न समय दिएको तर्क गर्छन् । अमेरिकीहरुले अफसोर कम्पनी प्रयोग गर्ने कुराको खुलासा सन् १९७० मा घटेको यस्तै प्रकरणले नै प्रमाणित गरिसकेको छ । त्यतिबेला क्यासल बैंक एण्ट ट्रष्ट केस नामकले चर्चित भएको प्रकरणमा बहामामा २ सयभन्दा बढी अमेरिकीहरुले अफसोर कम्पनी प्रयोग गरेर सम्पत्ति लुकाउने गरेको खुलासा भएको थियो । जसमा चर्चित रकस्टार ब्याण्ड सिसिआरदेखि हायात होटल चेन र क्लिभलेण्डका माफियासम्मको नाम जोडिएको थियो । यता, उटाह विश्वविद्यालयका कानुनका प्रोफेसर भने अमेरिकीहरुलाई अहिले सम्पत्ति लुकाउन पनामालगायतमा अफसोर कम्पनी प्रयोग गर्नै नपर्ने बताउँछिन् । उनका अनुसार अमेरिकामै डोलवेर वा नभाडाजस्ता स्थानमा अनसोर सेल कम्पनीबाटै अवैद्य गतिविधि सञ्चालन गर्न सक्छन् । यस विषयमा ग्लोबल सेल गेम्स ः एक्सपिरिमेन्ट इन ट्रान्जिसनल रिलेसन, क्राइम एण्ड टेरोरिजमका सह लेखक जेसन सरमान पनि सहमत छन् । उनी भन्छन्, ‘ब्रिटिस भर्जिन आइल्याण्ड, पानामाभन्दा नभाडामा अनसोर कम्पनी खडा गरेर सम्पत्ति लुकाउन सजिलो छ ।’ त्यस्तै, सन् २०१० मा अमेरिका र पानामाबीच भएको ट्रेड प्रोमोसन एग्रिमेन्टको बुँदा नम्बर ५ मा रहेको प्रावधानले पनि अमेरिकी नेता त व्यवसायीहरु पानामामा आफ्नो सम्पत्ति लुकाउन त्यति सुरक्षित नमान्ने केही थरी विज्ञहरुको तर्क छ । जे होस्, पानामा पेपर लिकमा अमेरिकी नाम नजोडिदा प्रश्न भने अवश्य खडा गरेको छ । अगामी दिनमा पानामा पेपर लिकमा अमेरिकीहरुको नाम पनि सार्वजनिक हुन्छ या हुँदैन भनेर चाहीँ अझै हेर्न बाँकी नै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप