शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोपोन्मुख गिद्धको हड्डीको अवैध व्यापार

बुधबार, २४ चैत २०७२, १३ : ३२
बुधबार, २४ चैत २०७२

पाल्पा - लोपोन्मुख सुन गिद्ध र सेतो गिद्धको हड्डीको अवैध व्यापार हुने गरेको रहस्य खुलेको छ । अवैध व्यापारका लागि गिद्धलाई भुन्डाएर सुकाएको अवस्थामा फेला पारेपछि गिद्धको हड्डीको अवैध रुपमा कारोबार हुने गरेको रहस्य बाहिर आएको हो ।

पाल्पाको सदरमुकाम तानसेन–१३ बतासेडाँडाको सडक नजिकैको रुखमा डोरीले टाउको र खुट्टामा झुन्डाएको अवस्थामा चारवटा गिद्ध फेला परेको जिल्ला वन अधिकृत यमलाल पोखरेलले बताए ।

तानसेन–हार्थोक सडक बतासेडाँडा नजिकै रुखको हाँगामा भुन्डाएको अवस्थामा हड्डीका लागि गिद्ध सुकाएको हुन सक्ने स्थानीयवासीको भनाइ छ । गिद्धको हड्डी आयुर्वेदिक औषधि र झारफुकका लागि महँगो मूल्यमा बिक्री हुने गरेको स्थानीयवासीको भनाइ छ । स्थानीय बजारमा गिद्धको हड्डी रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ ।

घाम ताप्न र आहाराको खोजीमा यस क्षेत्रमा गिद्ध आउने गरेको अधिकृत पोखरेलले जानकारी दिए । मरेका गाईभैँसी जथाभावी फाल्ने भएकाले पनि यस क्षेत्रमा गिद्ध बढी आउँछन् ।

गिद्ध मार्नेलाई रु २०० देखि रु एक हजारसम्म जरिवाना र दुई वर्षसम्म कैद सजाय हुन सक्ने जिल्ला वन अधिकृत पोखरेलको भनाइ छ ।

नियोजित रुपमा गिद्धको सिकार भएको हुन सक्ने जिल्ला वन कार्यालय पाल्पाको दाबी छ । गिद्ध मार्नु पनि अपराध हो भन्ने ज्ञानको अभावमा मानिसले अझै पनि गिद्ध मारेका हुन्छन् ।

पाल्पा जिल्लामा एसियामा पाइने सात प्रकार गिद्ध पाइन्छन् । मरेका अवस्थामा भेटिएका ती गिद्धलाई जिल्ला वन कार्यालयका पदाधिकारीको उपस्थितिमा आजै गाडिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप