शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिजुलीबजारमा राजावादीको भेला

बुधबार, २४ चैत २०७२, २२ : १०
बुधबार, २४ चैत २०७२

काठमाडौं – राजधानीको बिजुलीबजारस्थित राप्रपा नेपाल समानान्तर पार्टीको कार्यालयमा बुधबार राजावादीहरुको भेला भएको छ । झण्डै  दुई दर्जन राजावादी दल तथा संघसंगठनको सहभागिता रहेको भेलामा फेरि कसरी राजतन्त्र फर्काउन सकिन्छ भन्नेबारेमा छलफल भएको बताइएको छ । यस्तै राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा बोकेको भनिएको राप्रपा नेपालले आफ्नो एजेण्डा छाडेको भन्दै सो पार्टीका अध्यक्ष कमल थापाको विरोध समेत बैठकमा गरिएको थियो । बैठकमा राजतन्त्र फर्काउनका लागि सम्पूर्ण ताकद लगाएर अघि बढ्ने विषयमा छलफल भएको राप्रपा नेपाल समानान्तर पार्टीका प्रवक्ता सगुन सुन्दर लावतीले रातोपाटीलाई बताए । उनले बहुसंख्यक नेपाली जनताको सुझाव बेवास्था गर्दै वर्तमान संविधान बन्द कोठाबाट जारी गरिएको दाबी गर्दै यसको प्रतिरोध गर्नु आवश्यक रहेको समेत बताए । आजको बैठकमा पार्टी हितविपरित गतिविधि गरेको आरोपमा तीन वर्षे निलम्बनमा परेका राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्टको समेत सहभागिता रहेको थियो । यस्तै राप्रपा नेपालका केन्द्रिय सदस्य विष्णु भट्टराई, ऋषिबाबु परियार, श्याम केसीलगायतको पनि सहभागिता रहेको एक राजावादी नेताले बताए । बैठकमा उनीहरु सबैले राप्रपा नेपालले राजसंस्थाको एजेण्डा त्यागेको आरोप लगाउँदै सो जिम्मेवारी आफ्नो काँधमा रहेको समेत बताएका थिए । वीरगन्ज बैठकपछि सार्वजनिक गरिएको निर्णयमा एक शब्दपनि राजसंस्थाको बारेमा नबोलिनु यसको पछिल्लो उदाहरण भएको भन्दै कमल थापाले सत्तासँग एजेण्डा साटेको समेत बैठकमा आरोप लगाइएको थियो ।

यसैबीच राजावादीको सो बैठकले संविधानमा राजसंस्थाको भूमिका माग गर्दै राजधानीमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ ।

राजावादीको मोर्चा राष्ट्रिय जनसंघर्ष मोर्चाको नेतृत्वमा आगामी चैत २६ गते सो प्रदर्शन गर्ने तय गरिएको हो । मोर्चामा विभिन्न राजावादी दल तथा संघसंगठनको आबद्धता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप