शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुस्ताङका सबै विद्यालयमा पाठ्यपुस्तक पुग्यो, पूर्वाञ्चलमा अभाव

बिहीबार, २५ चैत २०७२, १२ : ५२
बिहीबार, २५ चैत २०७२

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङका सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । तर पूर्वाञ्चलमा भने पाठ्यपुस्तकको अभाव भएको छ । मुस्ताङ जिल्लामा हिउँद समयमा अत्यधिक चिसो हुने भएकाले फागुन १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु हुन्छ भने मङ्सिर मसान्तमा शैक्षिकसत्रको अन्त्य हुन्छ ।

उपल्लो मुस्ताङका विद्यालयलाई सदरमुकाम जोमसोमबाट, लेते, कोबाङ र मार्फा क्षेत्रमा म्याग्दी सदरमुकामबाट पुस्तक आपूर्ति भएको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङका अधिकांश पुस्तक व्यवसायीले पोखराबाट हवाई मार्ग हुँदै जिल्लामा पुस्तक आपूर्ति गर्दै आएका छन् । यस वर्षको शैक्षिकसत्रमा व्यवसायीसँगको सहकार्यमा समयमै पुस्तक उपलब्ध गराइएको जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले जानकारी दिए ।

सरकारले विद्यालयलाई नै पुस्तक खरिद र ढुवानीका लागि बजेट विनियोजन गर्दै आएको छ । जिल्लामा ५५ सामुदायिक, चार संस्थागत र आठवटा गुम्बा गरी ६४ वटा विद्यालय सञ्चालनमा रहेका छन् । तर, शैक्षिकशत्र सुरु हुन एक सातामात्र बाँकी रहँदा पूर्वाञ्चलमा कक्षा ६ र ७ को पुस्तक अभाव भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राजेन्द्रनिधि तिवारीका अनुसार कक्षा ६ र ७ को पुस्तक अभाव रहेको र वैशाख महिनाको अन्त्यमा मात्र आइ पुग्ने छ । सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, धनकुटा, पाँचथर, इलाम र तराईका झापा, मोरङ र सुनसरी जिल्लामा पुस्तकको समस्या देखिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा पुस्तक लिन आइपुग्नुभएका सरकारी विद्यालयका पुस्तकहरु बिक्री वितरण गर्दै आएका धरानस्थित क्वालिटी कपी उद्योगका सञ्चालक सिपी बजगाईंले कुनै पनि कक्षाको पूरै सेट किताब नदिए पुस्तक व्यवसायीले पुस्तक नउठाउने बताए । चैत मसान्तसम्म सबै जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसक्नुपर्ने सरकारी निर्देशन छ । यता कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छापेर बिक्री वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले अहिलेसम्म कुनै पनि पुस्तक व्यवसायीलाई उपलब्ध गराउन सकेको छैन । जसका कारण सरकारी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी प्रत्यक्ष मारमा परेका छन् ।

कक्षा ७ को किताब नपाउँदा समस्या भएको विराटनगर ११ का विद्यार्थी मनोज साहको भनाइ छ । उता पुस्तक पो नआउने हो कि भन्ने विषयले अभिभावक चिन्तित बन्न थालेका छन् ।

उता झापा र इलाममा पाठ्यपुस्तक बिक्री वितरण गर्दै आउनुभएका बिर्तामोडस्थित डाँगी स्क्रिन प्रिन्टका सञ्चालक युवराज डाँगीले जनक शिक्षा सामग्री केन्द्रले वर्षैपिच्छे पुस्तक छापिँदैछ, आउँदै छ भन्ने तर विद्यार्थी अर्को कक्षामा पुग्दासमेत पाठ्यपुस्तक आइनपुग्ने समस्या रहेकाले सरकारले समयमा विद्यार्थीलाई पाठ्यपुस्तक यदि पु¥याउने नै हो भने निजी क्षेत्रलाई सबै कक्षाको पाठ्यपुस्तक सङ्ख्या तोकेर छाप्न दिनुपर्ने बताए ।

त्यस्तै सिरहा जिल्लामा सरकारी विद्यालयका पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएका लहानस्थित यादव बुक एण्ड स्टेसनरीका सञ्चालक दिनेश यादवले निजी क्षेत्रको पाठ्यपुस्तक समयमा पु¥याउन कुनै कठिनाइ नभएको भन्दै जनक शिक्षा सामग्री केन्द्रले छापेका पुस्तक बिक्री वितरण गर्न समस्या हुने गरेकाले निजी क्षेत्रलाई पुस्तक छाप्न दिएमात्र समयमा विद्यार्थीले पुस्तक पाउने बताए । पूर्वाञ्चलमा २६ लाख ६५ हजार ८९८ थान पुस्तकको आवश्यक पर्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप