शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ह्यारी आए तर चुनेर पठाएको जनप्रतिनिधि आएनन्

बिहीबार, २५ चैत २०७२, १४ : ०२
बिहीबार, २५ चैत २०७२

भक्तपुर – विनाशकारी भुकम्प आएको वर्षदिन पुग्नै लाग्यो । एक वर्षको समय त्रिपालमै बिताएका पीडितले पुर्ननिर्माणका लागि राहत पाइएला र सुरक्षित आवास बनाउँला भनेर पर्खिरहेका छन् । तर, त्यो राहत पनि कहिले पाइने हो पत्तो छैन । भुकम्पलगत्तैको वर्षा तथा पुस माघको ठण्डी झेल्न बाध्य प्रभावित जिल्लाका स्थानीयको आ–आफ्नै पीडा छ । अहिलेसम्म दुःखका साथ गुजारा चलाएका अधिकांश पीडित राहत पाए पुर्ननिर्माणका लागि तयार छन् । तर, हजारौ नेपाली भुकम्प पीडितको कथा भन्दा भक्तपुरस्थित ब्यासी शिविरमा बस्दै आएका पिडितको कथा दर्दानाक छ । अन्य जिल्लामा त स्थायी बास बनाउन जमिन होला तर यहाँ बस्दै आएका कतिपय पीडितहरुको त पुर्ननिर्माणका लागि जमिन समेत छैन । उनीहरु अधिकांश स्थानीय नेवास समुदायका हुन् ।

भक्तपुर नगरपालिका व्यासीको अस्थायी शिविरमा बैशाख १४ गतेदेखि बस्दै आएका ८० घर परीवार मध्ये २० घरले अन्यत्र बसोबास मिलाए पनि ६० घरका २ सय बसिन्दा अझै पनि यहि बस्दैछन् । सुम्मिना सालिखे १ वर्षको छोरो काँखमा लिएर हामीसंग कुरा गर्दै गर्दा एक गैरसरकारी संस्थाले अउपलब्ध गराएको त्रिपाल भित्र बस्दै थिइन् । चैतको गर्मीमा होचो अनि सामानले भरिएको त्रिपाल भित्र कुराकानीको क्रममा पटकपटक पसिना पुस्दै थिइन् । २ छोराछोरी र श्रीमानसंग शिविरमा बस्ने सालिखेका श्रीमान आल्मुनियमको काम गर्दछन् । गर्मीले गर्दा बस्न समस्या भएकाले कोठा खोज्न थालेको १ महिना भएपनि कतै निकै मंहगो त कतै कोठा नपाएको उनले बताइन् । उनले भनिन् ‘कमाई थोरै छ, बस्न मात्र सबै खर्च गरेर के गर्नु, छोरीको स्कुल फि तिर्न, खान पर्छ के गर्नु ।’

सोहि शिविरमा बस्दै आएकी सुमित्रा व्यन्जुको पीडा पनि उस्तै छ । पुरानो भत्किएकै स्थानमा फेरि घर बनाउन सम्भावना नभएको भन्दै उनले भुकम्पले सुकुम्बासी बनाइदिएको भावुक हुँदै बताइन् । उनका अनुसार पुरानो जग्गामा घर बनाउन जमिन नै पुग्दैन । जम्मा १ आना १ दाममा बनेको पुरानो घरमा उनका ४ जना देवर जेठाजु तल्लै पिच्छै बस्थे । सो भन्दा बढी उनीहरुसँग जग्गै छैन । उनले भनिन्, ‘अब सरकारी मापदण्ड अनुसार घर बनाउन जमिन छैन । बनिहालेपनि एक परिवारलाई पुग्छ । बाँकी तीन भाईले पुरानो जमिन छोड्नुको विकल्प छैन ।’

यतिमात्रै होइन, अहिले बसेको अस्थायी शिविरमा पनि धेरै समस्या छन् । शौचालय राम्रो छैन । खानेपानीको समस्या उस्तै छ । व्यासी शिविरमा एक गाग्री पानीको रु ५ तिरेर तिर्नुपर्ने अवस्था छ ।

ह्यारी आए तर जनप्रतिनिधि आएनन् केहि साता नेपाल आएका बेलायती राजकुमार ह्यारी सो शिविरमा पुगे । उनीहरुको पीरमर्का सुने । तर, आफूहरुले चुनावमा भोट हालेर जिताएका जनप्रतिनिधि भने अहिलेसम्म कोहि नआएको पीडितहरुको गुनासो छ । शिविरमा बस्ने सबैको एउटै गुनासो छ, ‘ हामी बस्ने ठाउँ बेलायतका राजकुमार ह्यारी आए तर हाम्रो भोटले चुनाव जितेका नेता आएनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप