बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अवकाशमा परे पनि शिक्षक निवृत्तिभरणबाट वञ्चित

बुधबार, २२ वैशाख २०७३, १२ : ०८
बुधबार, २२ वैशाख २०७३

जुम्ला - सरस्वती उमावि कुडारी जुम्लाका मावि नेपाली शिक्षक नन्दलाल गौतम अनिवार्य अवकाशमा परे पनि निवृत्तिभरणबाट वञ्चित भएका छन् ।

विसं २०४७ जेठ ४ गते हिमशिखर उच्चमावि तातोपानी जुम्लामा शिक्षक गौतमले अस्थायी नियुक्ति लिएका थिए । पछि २०५२ फागुन २७ गतेदेखि सरस्वती उमाविमा २० वर्ष एक महिना १८ दिनसम्म अनवरत रुपमा अध्यापन गराउँदै आउनुभएका उहाँ उमेरका हिसाबले ६० वर्ष पुगेपछि २०७३ साल वैशाख १५ गते सेवा निवृत्त भए । लामो समयसम्म मावि अस्थायी शिक्षकका रुपमा कार्यरत शिक्षक गौतम २०६१ साल मङ्सिर १ गते स्थायी भएका थिए । नेपाल सरकारको नीतिनियमअनुसार स्थायी अवधि २० वर्ष नपुगेपछि उनी उमेरले ६० वर्ष त पुग्नुभयो तर निवृत्तिभरणबाट वञ्चित भएका छन् । शारीरिक रुपले देब्रेतर्फको अनुहार पक्षाघात भएर छ वर्षसम्म अस्वस्थ जीवनबाटै सङ्घर्षका साथ अध्यापन गराउँदै आएका उहाँले आफ्नो कर्म पूरा गर्न पाएकामा आफू खुसी भएको बताए । उनले भने, “सामान्यतः स्वास्थ्यले साथ सहयोग दिएछ भने मेरो बाँकी जीवन शिक्षा तथा सामाजिक क्षेत्रमा लगाउनेछु ।” अब भने उनले आफ्नो सेवा अवधिमा सञ्चित विभिन्न बिदाबाट नियमानुसार प्राप्त गर्ने रकम बाहेक अरू पाउनेछैनन् । “मेरो अस्वस्थ जीवन सेवा निवृत्तपछि जटिल त हुने नै छ तर पनि यसलाई चिन्ताका विषय लिएर बस्न उचित हुँदैन” उनको भनाइ थियो । चितवन भरतपुर उपमहानगरपालिका–२२ निवासी शिक्षक गौतमको पवित्र योगदानको उच्च प्रशंसा गर्दै कुडारी गाविसले मङ्गलबार उहाँको बिदाइ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप